विकासन्युज

एकपछि अर्को हवाई कम्पनी आउँदै, क्याप्टेन गौचनले खोले हेलिकप्टर कम्पनी

काठमाडौं । नेपालको हवाई उडानमा नयाँ कम्पनी थपिन भएको छ । आन्तरिक उडान गर्नेगरी धौलागिरी कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग उडान अनुमति मागेको हो । धौलागिरी हेलिकप्टर कम्पनीले केही समयअघि मन्त्रालयसँग अनुमतिका लागि आवेदन दिएको हो । ‘केही समय अगाडी धौलागिरी हेलिकप्टर कम्पनीले उडान अनुमति माग गरेको थियो, लगभग सबै प्रक्रिया सकिसक्यो, अब एक साताभित्र हामीले उडान अनुमति दिन्छौं’, मन्त्रालय स्रोतले भन्यो, हामीले राजश्व भुक्तानीका लागि एक साताको समय दिएका छौँ, राजश्व भुक्तानी गरेको रसिद मन्त्रालयमा पेश भएपछि उडान अनुमति पाउँछ ।’ यसअघि नेपालका अधिकांश हेलिकप्टर कम्पनीमा काम गरिसकेका क्यापटेन केशव प्रसाद गौचन (सोवित) ले नयाँ हेलिकप्टर कम्पनी ल्याउन लागेका हुन् । गौचनले यसअघि एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्टर र हेली एभरेष्टमा अपरेशन डाइरेक्टरका रुपमा काम गरिसकेका छन् । उनी पछिल्लो समय प्रभु हेलिकप्टरमा प्रशिक्षक पाइलटका रुपमा कार्यरत छन् । मन्त्रालयबाट अनुमति पाएसँगै सुरुवाची चरणमा तीन वटा हेलिकप्टरबाट सेवा दिने तयारी भएको सञ्चालक गौचनको भनाइ छ । उनले यसअघि अन्य हेलिकप्टर कम्पनीले सञ्चालन गर्दै आएका हेलिकप्टरबाट नै उडान गर्ने बताए । ‘हामीले उडान अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएका छौँ, अनुमति पाइसकेका छैनौँ, अनुमति पाएपछि थप प्रक्रिया अघि बढाउँछौँ’, उनले भने । पर्यटन मन्त्रालयले हेलिकोप्टर सञ्चालनको अनुमति दिएसँगै नेपाल नागरिक उडड्यन प्राधिकरणले एनओसी दिएपछि मात्र सञ्चालन हुनेछ । सञ्चालनमा रहेका एक दर्जन कम्पनी आर्थिक मन्दीको मारमा परिरहेको बेला नयाँ हेलिकोप्टर कम्पनी थपिने भएको हो । २०७८ को चैतमा मन्त्रालयले शिवम एयरलाइन्सलाई उडानको अनुमति दिइसकेको छ । मन्त्रालयबाट अनुमति पाएको उक्त एयरलाइन्सले पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमा एनओसीका लिने तयारीमा छ । सगरमाथा आरोहण गर्ने पहिलो क्याप्टेन गौचनले २०७८ सालमा सगरमाथाको सफल आरोहण समेत गरेका छन् । हेली एभरेष्टमा कार्यरत रहँदा उनीसँगै हेलिका मार्केटिङ डाइरेक्टर टासी लाक्पा शेर्पा र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरूले २०७८ को वैशाख २८ गते मंगलबार बिहान ७ बजे सगरमाथाको शिखरको आरोहण गरेका थिए । क्याप्टेन गौचनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलटको रूपमा कीर्तिमान राखेका छन् । उनी बेगखोला रघुगंगा गाँउपालिका म्याग्दीका हुन् ।

शिक्षकलाई कम ब्याजमा ऋण दिँदै नगरपालिका

बलेवा । बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ । शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् । ऋण प्राप्त गर्ने शिक्षकको तलवबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली गर्ने योजना रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शिक्षकलाई आवश्यक पर्ने ल्यापटप जस्ता व्यक्तिगत सामग्री खरिद गर्न ऋण प्राप्त हुनेछ । नगरपालिकाले कमाउँदै पढ्दै गर्ने अवधारणा अघि बढाउने र त्यसका लागि विद्यालयमा करेसाबारीको व्यवस्था मिलाउने जनाएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटले योजना सम्बोधन गर्ने उहाँको भनाइ छ । नगरपालिकाभित्रका विद्यालय एकीकरण र समायोजन अघि बढाउँदै क्रमशः सबै वडामा आवासीय विद्यालयको प्रवद्र्धन गर्दै जाने योजना सार्वजनिक गरेको उपप्रमुख शर्माले बताए । नगरपालिकाको तत्कालिन र दीर्घकालीन लक्ष्य निर्धारण गरी योजना निर्माणका साथ अगाडि बढ्ने, कृषि तथा पशु उत्पादनमा लागत अनुदानमा भन्दा उत्पादन एवं बिक्रीमा आधारित अनुदान र ऋण प्रोत्साहन गर्ने तथा पशु कृषि बीमालाई अनुदान उपलब्ध गराउने छ । पूर्वाधार निर्माणमा विपत न्यूनीकरण गर्दै नगरपालिकाको उत्थानशीलता विकास निर्माण कार्य अगाडि बढाउने, निजी तथा अन्य सरोकारवाला निकायको समन्वयमा पर्यटन पूर्वाधार विकास सवल बनाउँदै स्थानीय कला संस्कृति झल्किने पर्यटन क्षेत्रको विकास गर्ने नगर प्रमुख नरबहादुर पुनले जानकारी दिए । निजी तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा पर्यटन पूर्वाधार विकास सवल बनाउँदै स्थानीय कला संस्कृति झल्कने पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य रहेको छ । नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा सुलभ बनाउन सूचना प्रविधिसँग जोड्दै राजस्व परिचालन र अन्य क्षेत्रमा दरिलो तथ्याङ्क आधार तयार गर्न समग्र सूचना प्रणाली प्रभावकारी बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापन तथा अन्य क्षेत्रलाई थप व्यवस्थित गर्न ऐन, नियम कार्यविधि र योजना निर्माण गर्ने घोषणा गरिएको छ । रासस

सिटिजन्स बैंकका ग्राहकलाई दृष्टि आई केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक र दृष्टि आइ केयरबीच समझदारी भएको छ । बैंक र दृष्टि आई केयरबीच ग्राहकलाई छुट दिने समझदारी भएको हो । सिटिजन्स बैंक कलंकी स्थित दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौतामा भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृष्टि आइ केयरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पोखराको पर्यटन व्यवसाय संकटमा, व्यवसायी भन्छन् : अवस्था विकराल बन्दै गएको छ

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । ‘हामी निकै उत्साहित भएर व्यवसायमा लगानी ग¥यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी ग¥यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो’, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने । त्यसपछि कहिले डेङ्गु, कहिले विमान दुर्घटना यस्तै–यस्तै कुराले पर्यटनले लय लिन नसक्दा र बैंक तथा वित्तीय संस्थाको ताकेताले व्यवसायीलाई मनोरोगी बनाएको उनले बताए । अहिले पोखराको सडकमा फाट्टफुट्ट देखिएका केही विदेशी पाहुनाले मात्र खर्बौंको लगानी भएको पोखराको पर्यटन व्यवसाय धान्न सक्ने अवस्था नरहेको र सरकारबाट पर्यटन केन्द्रित कार्यक्रम र व्यवसायीमैत्री राहत प्याकेजको खाँचो रहेको उनको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिडको प्रभावले पर्यटन व्यवसायमा परेको असरपछि विकराल बन्दै गएको गुनासो गरे । उनले यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी चैत मसान्तको त्रैमासिक अन्त्यमा कुनै पनि प्रकारको दायित्वलाई मिलान गर्ने अवस्था नरहेको जनाउँदै कर्जाको भुक्तानी तालिकालाई अर्को असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने बताए । उनले भने, ‘कोरोनाका कारण अत्यधिक मार परेको पर्यटन क्षेत्रलाई सरकारले दिने राहत अनुदानका कार्यक्रमबाट पर्यटन व्यवसायीले अनुभूती गर्न पाएका छैनन् । सरकारले प्रमुख प्रभावित क्षेत्र घोषणा गरेको पर्यटन क्षेत्रका लगानीलाई कोभिड सङ्क्रमण अवधिभरको ब्याज मिनाहा गर्न र कोभिड प्रभावित समयमा तिरेको ब्याजमा छुट गरी फिर्ता गर्नुपर्छ ।’ नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष हरिराम अधिकारीले पर्यटन क्षेत्रप्रति सरकारको मौनता र बैंक तथा वित्तीय संस्थाको दबाबले यो क्षेत्र निकै प्रताडित हुन पुगेको बताए । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले पर्यटन उद्योगको मान्यता नदिनु साथै यस क्षेत्रका व्यवसायीको समस्याप्रति सरकार उदासिन हुनु निकै दुःखद् भएको उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसायी जीवनरक्षा कर्जा र नेपाल सरकार ल्याएका सहुलियतका कर्जालाई निरन्तरता दिई प्रदेश सरकार र स्थानीय सरकारलाई तिर्नुपर्ने दायित्वको अतिरिक्त शुल्क मिनाहा गरी अर्काे आर्थिक वर्षको असोज मसान्तसम्म तिर्ने भाका बढाइदिनुपर्ने उनले बताए । परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले व्यवसायीहरू संरक्षण गर्न पर्यटनमा भएको लगानी र रोजगारलाई जोगाउन यस वर्षको मौद्रिक नीतिले नसमेटिएको विषयवस्तुलाई परिमार्जित गर्दै थप कार्यक्रम ल्याउनुपर्छ भने । उनले भने, ‘स्थिति सुध्रने आशमा हरेक त्रैमासिक अन्त्यमा सरसापट गरी बैंकको किस्ता मिलान गर्दै व्यापार धानेर बसेका हामी व्यवसायी वास्तवमै अब त सापटी माग्ने ठाउँ पनि नरहेको अवस्थामा पुगेका छौं ।’ उनले अघिल्ला वर्ष सरकारले ल्याएका कार्यक्रम पुनःकर्जा कोष, पुनःतालिकीकरण र व्यवसायी निरन्तरता कोषजस्ता सुविधाको समयावधि न्यूनतम तीन वर्ष हुनुपर्ने र सुविधा नवीकरणसहित उक्त सुविधाबाट बञ्चित व्यवासायीलाई यस आर्थिक वर्षमै उपलब्ध गराउनुपर्ने बताए । नेपाल हवाई खेलकुद सङ्घ (ना)का निर्वतमान अध्यक्ष एवं परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले निक्षेपमा बैंकर्स सङ्घको ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेकाले यसलाई तुरुन्त परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर एक अङ्कमा झारिनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने कर्जाको निश्चित प्रतिशत ऋण सहुलियत ब्याजदरमा कृषिमा जस्तै पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्थित गरिनुपर्ने उनको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट पर्यटन बजारमा पुनरुत्थानका लागि कोसेढुङ्गा सावित हुने आशामा रहेका उत्साहित व्यवसायी अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले थप निराश बनाएको जनाउँदै पर्यटन पुनरुत्थानका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने व्यवसायीको माग छ । रासस

गभर्नरले अर्थमन्त्रीसँग भने : अब ब्याजदर घट्छ, अर्थतन्त्रमा सुधार हुँदैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा.प्रकाशशरण महत समक्ष अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । मंगलबार अर्थमन्त्री र गभर्नरको भेटवार्तामा उनले महतलाई अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् । ‘ब्याजदर घट्दो क्रममा छ, बैंकमा लगानीयोग्य रकम पनि बढ्दै गएको छ, व्यावसायिक वातावरण विस्तारै लयमा फर्किँदै गएको छ, अब अर्थतन्त्रमा सुधार हुन्छ,’ गभर्नर अधिकारीले अर्थमन्त्री महतसमक्ष भने । अर्थमन्त्री मतहले मंगलबार बिहान गर्भनर अधिकारीसहित राष्ट्र बैंकका अधिकारीलाई बोलाएर छलफल छन् । छलफलमा पछिल्लो समय भएको ब्याजदर बृद्धि, तरलता अभाव, अर्थतन्त्रमा देखिएको शिथिलता लगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलमा केन्द्रीय बैंकका कारण अर्थतन्त्र यो अवस्थामा पुगेको भन्ने आरोप लगाइएकोमा अर्थमन्त्री महतले वास्तविकता बुझन आग्रह गरे ।

युनियन र गुराँससँगको मर्जर प्रस्ताव पारित गर्न प्राइमले बोलायो विशेष साधारण सभा

काठमाडौं । युनियन लाइफ र गुराँस लाइफसँगको मर्जर प्रस्ताव पारित गर्न प्राइम लाइफ इन्स्यारेन्सले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख ७ गतेको लागि विशेष साधारण सभा बोलाएको हो । सभाले मर्जर गरेपछि जिवन व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले तीन कम्पनीबीचको मर्जरलाई लिएर सम्बन्धी सबै प्रस्ताव पारित गर्नेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठको मनोनयन दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने निर्वाचनका लागि अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । मंगलबार महासंघको सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । उनीसँगै उनको समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ मनिशलाल प्रधानले मनोनयन दर्ता गरेका छन् । यस पटकको निर्वाचनमा तीन वटा समूह प्रतिस्पर्धा गर्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उनीसँगै उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले पनि प्रतिस्पर्धा गर्दैछन् । उमेशलालको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोशिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने संघईको समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोशिएटमा ज्योत्सना श्रेष्ठ र वस्तु उपाध्यक्षमा सुकुन्तलाल हिराचनले उम्मेदवारी घोषणा गरेका छन् ।

तोलामा १ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजारले बढेको हो । हिजो सोमबार तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।