विकासन्युज

अर्थमन्त्री महतले आफू निकट सहसचिवलाई भित्र्याए, बाहिरिए दाहाल र आचार्य

काठमाडौं । अर्थमन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीको सरुवा गरेका छन् । चैत १७ गते शुक्रबार महतले अर्थमन्त्रीका रुपमा सपथ खाएका थिए । अर्थ मन्त्रालयमा भित्रिएको एक सातामै उनले दुई जना सहसचिवको सरुवा गरेका हुन् । हाल मन्त्रालय अन्तर्गत रहेको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्क प्रसाद आचार्यको सरुवा गरेका हुन् । हाल कार्यरत दुई कर्मचारीलाई सरुवा गरेर उनले नेपाली काँग्रेस निकट रहेका भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुबेदीलाई अर्थ मन्त्रालयमा भित्र्याएका छन् । दुई सहसचिवको सरुवा गरेका उनले तीन सहसचिवलाई मन्त्रालय भित्र्याएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार दाहाललाई राष्ट्रिय योजना आयोग र आचार्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई मन्त्री महतले अर्थ मन्त्रालयमा भित्र्याएका हुन् । उनीहरु दुबैसँग अर्थ मन्त्रालयमा लामो समय काम गरेको अनुभव छ । यस्तै, अर्थमन्त्री महतले बाबुराम सुवेदीलाई समेत मन्त्रालय भित्र्याएका छन् । यसअघि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै चार सहसचिवको सरुवा गरेका थिए । उनले प्रशासन महाशाखामा लक्ष्मी निरौला, वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा झक्क प्रसाद आचार्य, बजेट तथा कार्यक्तम महाशाखामा धनीराम शर्मा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा श्रीकृष्ण नेपाललाई भित्र्याएका थिए ।

विदेशमा कार्यक्षेत्र पार्न निगमका कर्मचारीबीच हारालुछ, पैसादेखि पावरको चलखेल

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुबीच विदेशमा कार्यक्षत्र पार्न हारालुछ नै हुने गरेको छ । प्रतिस्पर्धा भन्दा पनि पावर र पैसाको मोलमोलाइ गरेर कर्मचारीहरुबीच विदेश कार्यक्षेत्र पार्न ठूलो चलखेल नै हुने गरेको हो । विदेशमा रहेका निगमको कार्यालयमा काम गर्न उनीहरुले लामो समयदेखि लविङ गरेर विदेश जाने गरेका छन् । योग्यता पुगेका योग्य कर्मचारीभन्दा पनि पैसा र पावरको चलखेल गर्न सक्ने कर्मचारीले विदेशमा सरुवाका लागि ठूलो लविङ गर्ने गरेको निगमकै कर्मचारीहरु बताउँछन् । विदेश जान मन्त्रीको पावर र पैसा बुझाएका आधारमा योग्यता नै नपुगेका कर्मचारीहरु विदेशस्थित कार्यालयमा जाँदा कामको प्रतिफल नदेखिएको निगमका कर्मचारीहरु बताउँछन् । ‘पछिल्लो समय निगमका कार्यकारी अधिकारी युवराज अधिकारीले विभिन्न देशमा कन्ट्री म्यानेजर (स्टेशन) र फाइनान्स म्यानेजरका रुपमा आफु निकटका कर्मचारीहरु पठाएका छन्’, निगम स्रोतले भन्यो, ‘राम्रोसँग अंग्रेजीसमेत बोल्न नसक्ने कर्मचारीलाई विदेशका कार्यालयमा पठाउँदा निगमको शाख नै खस्किएको छ ।’ कार्यकारी अध्यक्ष अधिकारीले योग्यता पुगेका कर्मचारीलाई छोडेर उनी निकटका एक दर्जनबढी कर्मचारीलाई विभिन्न देशका लागि सिफारिस गरेका थिए । सन् २०१९ देखि विदेशका कर्मचारीको सरुवा नभएकोमा निगमको कार्यकारी अधिकारीको रुपमा नियुक्त भएपछि आफू निकटका योग्यता नपुगेकाहरुलाई पठाएको निगममा कार्यरत कर्मचारीहरु बताउँछन् । विस २०७८ को कात्तिकमा सरकारले निगमका पूर्व कर्मचारी समेत रहेका अधिकारीलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्षका रुपमा नियुक्त गरेको थियो । निगमले हाल सबै कर्मचारीलाई आवास सुविधासहित तह अनुसार १ हजार अमेरिकी डलरदेखि १५ सय डलरसम्म सेवा सुविधा दिएको छ । विदेशमा काम गर्ने कर्मचारीहरुले तलबसहति अन्य सेवा सुविधा पनि पाउने र सुविधा सम्पन्न देशमा पनि बस्न पाउने भएकोले विदेशमा काम गर्न रुचाउँछन् । तलब पनि नेपालको तुलनामा चार गुणा बढी हुन्छ । निगमले हाल उडान गर्दै आएको विभिन्न देशका १० गन्तव्यमा हाल २४ जना कार्यरत रहेका छन् । ६ तहदेखि ८ तहसम्मका कर्मचारीलाई विदेशस्थित कार्यालयमा पठाइने गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे बताउँछन् । ‘भारतको नयाँ दिल्लीमा दैनिक २ उडान छ, दैनिक उडान हुँदा नयाँदिल्लीमा ४ जना कर्मचारीहरु हुनुहुन्छ, अन्य देशमा २ जना कर्मचारी निगमले पठाएकोे छ’, उनले भने । विदेशमा कार्यरत कर्मचारीलाई निगममा कार्यरत कर्मचारीको भन्दा बढी सेवा सुविधा दिइएको उनले बताए । ‘यहाँको भन्दा धेरै सेवासुविधा चाहिन्छ, त्यो पनि दिइएको छ, तर उहाँहरुले पर्याप्त नभएको गुनासो गर्दै आउनुभएको छ’, उनले भने । नेपाल वायु सेवा निगमका कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ अनुसार बनेको नेपाल वायु सेवा निगमका कर्मचारीको विदेशस्थित कार्यालयमा सरुवा सम्बन्धी कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार विदेशका कार्यालयमा कर्मचारी सरुवा गरिएको उनले बताए । विदेशस्थित कार्यालयमा कर्मचारी पठाउँदा जेष्ठता, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यांकन लगायत अन्य गतिविधिलाई आधार बनाईने गरिएको उनको भनाइ छ । ‘हामीलाई कर्मचारी पठाउन धेरै दबाब आउने गर्छ, तर हामी नियममा बसेर पठाउँछौं,’ उनले भने । यद्यपि, लविङ गरेर विदेशमा काम गर्न गएका निगमका कर्मचारीहरु अझै पनि अहिलेको सेवा सुविधामा सन्तुष्ट छैनन् । उनस्हरुले अन्य वायु सेवा कम्पनीहरुको तुलनामा नेपाल वायु सेवा निगमका कर्मचारीहरुको तलब तथा अन्य सेवा सुविधा कम भएको गुनासो गरेका छन् । ‘नेपालमाभन्दा हामीलाई केही बढी सेवा सुविधा दिइएको छ, तर हामीलाई दिइएको सेवासुविधा पर्याप्त छैन’, विदेशस्थित स्टेशनमा कार्यरत एक कर्मचारीले भने, ‘निगमले हामीलाई दिएको सेवा सुविधा अनुसार खर्च गर्ने हो भने एक सातालाई पनि पुग्दैन ।’ उनीहरुलाई निगमले आवास सुविधा पनि दिइएको हुन्छ । अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई धेरै सेवासुविधा दिइएता पनि नेपाल वायुसेवा निगमले दिन नसकेको उनको भनाइ छ । ‘अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई हामीलाई दिइएकोभन्दा ६/७ गुण बढी सेवासुविधा दिइएको छ, उनीहरुको परिवार सबैको व्यवस्थापन कम्पनीले नै गर्ने गरेको छ, तर हाम्रोमा एउटा ज्यान पाल्न समेत कठिन छ’, ती कर्मचारीले भने ।

ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ’, उनी भन्छन् । कोरोना महामारी अघि लागेजुले दैनिक ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँको व्यापार गर्थे । अहिले दैनिक आठ हजारदेखि दश हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । बाइस वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने– ‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’ यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन् । ‘ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । ‘कहिलेकाँही त बिक्री नै हुँदैन’, रेग्मी भन्छन् । खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन् । ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्’, बाँस्तोला भन्छन् । उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएका छन् । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल सहदेव धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । ‘मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो’, उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा एक/दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनले सुनाए । ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको सङ्ख्या बढेको उनी बताउँछन् । नेपालमा पर्यटक आवागमनको सङ्ख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन् । ‘तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ’, उनी भन्छन् । पछिल्लो समय तारा एयरलाइन्सले विभिन्न गन्तव्यस्थलमा दैनिक ५० वटासम्म उडान भर्ने गरेको छ । सो एयरलाइन्सले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लासम्म दैनिक आउने जाने ३२ उडानसम्म गरेको छ । यस्तै, सोही एयरलाइन्सले पोखराबाट मुस्ताङसम्म १० उडान र नेपालगञ्जबाट हिमाली क्षेत्रमा छ उडान गर्ने गरेको छ । अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिने गरिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार चार सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार छ सय ४३, युरोपबाट २३ हजार दुई सय ६५ तथा अन्य राष्ट्रबाट तीन हजार नौ सय ५८ पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट एक हजार सात सय सात, अमेरिकाबाट नौ हजार पाँच सय ५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् । उनका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार नौ सय ११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ पर्यटक आएका थिए । अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार आठ सय ९६ पर्यटक आएकामा यसपटक नौ हजार पाँच सय ५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । रासस

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिले जानकारी दिए । ‘कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजिहाङ) लाई मन्त्रीपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्य बाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु, पदम लिम्बु (लाजिहाङ्ग) प्रति हार्दिक श्रद्धाञ्जली’, उनले समाजिक सञ्जालमा रोखका छन् । मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ । समितिको आयोजनामा चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशको पुनः नामाङ्कनको माग सहित प्रदर्शन भएको थियो। उक्त प्रदर्शनिमा प्रहरीको लाठी प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको थियो। टाउँकोमा चोक लागेका लिम्बूको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह–कमान्डर थिए । ४२ वर्षीय लिम्बू २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसीरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान सुरु भएको बैठक सुरु जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार आजको बैठक मन्त्रालयगत एजेन्डामाथि छलफलमा केन्द्रीत रहेको छ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको आचारसंहिता लागू हुने भएपछि आजको बैठकमा अन्य निर्णयहरू समेत हुने जनाईएको छ । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । ‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ’, उनले भने । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार पाँच लाख रुपैयाँ तथा जग्गा नहुनेलाई थप तीन लाख रुपैयाँ दिइनेछ । ‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ’, उनले भने । विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो । रासस

ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आए । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो । मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा सहभागीका मनमस्तिष्क पुराना यादले भरिए । प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए । शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो उनीहरु प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन् । उनीहरुले प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतमा गाउँघरमा भएका विवाह, व्रतबन्धजस्ता कार्यमा भेला भएर दुनाटपरी गाँसेको सम्झिदै रमाइलो अनुभूति गरे । ‘पहिलाजस्तो दुनाटपरी गाँस्ने र प्रयोग गर्ने चलन हराउँदै गयो, विभिन्न कार्य हुँदा गाउँघरका महिला दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो, एकअर्कालाई सघाइन्थ्यो, आजकल त्यस्तो छैन, धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो, रमाइलो भयो’, प्रतिस्पर्धी भीमा थापाले भने । जन्मदेखि मृत्युसम्मका विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उनले चिन्ता व्यक्त गरिन् । टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उनको भनाइ छ । हाङ्देवाकी लक्षिमा देवीले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनलाई पनि पुरानै याद आयो । उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएको उनले बताए । ‘धेरै समय पछि यतिका धेरै जना भेला भयौँ, धेरै रमाइलो भयो’, उनले भने । प्रतियोगितामा दुई पुरुषसमेत सहभागी थिए । सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताए । विजेता बन्नेभन्दा पनि राम्रो कामको सम्मान गरौँ भनेर भाग लिएको उनको भनाइ थियो । ‘दुनाटपरी गाँस्ने, प्रयोग गर्ने चलन हरायो, मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ, अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ’, दाहालले भने । प्रतिस्पर्धामा भाग लिएर सीप आदानप्रदान गर्ने, नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, टपरी गाँस्ने, प्रयोग गर्नुपर्छ भन्नेजस्ता कुरा गरिरहेका वृद्धवृद्धामाझ युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन् । ‘युवा पुस्तामा टपरी बुन्ने सीप नभएर वा लजाएर पनि सहभागी नभएका होलान, टपरीको चलन नै हराएको छ’, प्रतियोगितास्थलमा भेटिएका भीम गुरुङले भने । यस्तो प्रतियोगिताले पुराना सीप र मौलिक वस्तुको पुनःउत्थानमा सहयोग मिल्ने उनको भनाइ छ । मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने गुरुङ बताउँछन् । टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा बनाइएको हुन्छ । सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ । तर पछिल्लो समय बजारमा मेसिन तथा औजारबाट बनेका टपरी पाउन थालेपछि बाँसको सिन्काले गाँसेर बनाउने चलन हराउँदै गएको छ । यसको प्रयोग गर्ने क्रम पनि घट्दो छ । सालको पातका टपरीलाई शुद्ध भाँडोका रुपमा लिने गरिएको छ । योसँगै केही वर्षअघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो । क्रमशः स्टिल र प्लाष्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ । रासस

सानिमा जिआईसीको सेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको सेयर सर्वसाधारण समुहमा परिमार्जन गरेको हो । कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि सेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था बमोजिम गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम रहनेछ । कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनी रजिष्ट्रारबाट प्रबन्धपत्र र नियमावली संशोधन भएको तथा नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक स्वीकृति पाएको कम्पनीले जनाएके छ । . यदि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भए ७ दिन भित्र जानकारी गराउन आग्रह गरेको छ ।