उपहारका लागि प्रख्यात ‘मस्तकला’, व्यवसायमा जम्दैछ अरुण-निखिलको दोस्ती
काठमाडौं । तपाईंको साथी या आफन्तले तपाईंको तस्वीर र नामसहितको उपहार दिनु भयो भने कस्तो महसुस हुन्छ ? पक्कै पनि अधिकांशलाई खुसी लाग्छ । धेरैले त्यो उपहार सधैंभरका लागि सम्हालेर राख्छन् पनि । आजभन्दा पाँच वर्ष अगाडि निखिलले यस्तै खुसी दिलाएका थिए आफ्ना साथीलाई । जन्मोत्सवमा निखिलले आफने साथीलाई भारतबाट ल्याएको ‘टेबल अर्गनाइजर’ उपहार ल्याएर उनलाई मात्रै होइन जन्मोत्सवमा उपस्थित सबैलाई खुसी बनाएको थियो । त्यो उपहारले धेरैको ध्यान तानेको थियो । त्यही उपहार नै बन्यो अरुण र निखिलको व्यवसायको ‘टर्निङ प्वोइन्ट’ । त्यही उपहारले जन्मायो ‘मस्तकला’ । अहिले त्यही मस्तकलामार्फत् विभिन्न प्रडक्टहरु उत्पादन गरेर मान्छेको मन जितिरहेका छन् र खुसी दिलाइरहेका छन् अरूण अग्रवाल र निखिल अग्रवाल । दिनरात काम गरेर मस्तकलालाई सफलतातर्फ डोर्याइरहेका छन् उनीहरु । उपहार र सजावटको लागि हेण्डिक्राफ्ट सामान उत्पादन गर्दै आइरहेको कम्पनी हो ‘मस्तकला’ । शब्द थोरै र अर्थ धेरै दिने नाम ‘मस्तकला’ राखेर हेण्डिक्राफ्टका आकर्षक सामान उत्पादन गर्दै आइरहेका छन् अरूण र निखिल । उमेरले एक वर्ष जेठा कान्छा अरूण र निखिल बच्चै देखिका मिल्ने साथी । कक्षा १२ को अध्ययन पश्चात् अरुण पुल्चोक इञ्जिनियरिङ कलेजबाट कम्प्युटर इञ्जिनियरिङ पढ्न थाले । र, निखिल आर्किटेक्ट इञ्जिनियरिङ पढ्न भारत गए । पढाइमा पनि निकै अब्बल अरुण र निखिल । उनीहरू पढाइ सकेर आफ्नै देशमा नयाँ काम गर्न चाहन्थे । समय बितेको पत्तै नहुने निखिलले भारतको जयपुरस्थित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक तह को पढाइ पूरा गरे । र, अरुण इञ्जिनियरिङ पढाइ सकेर पारिवारिक विजनेशमा व्यस्त भए । स्नातकको पढाइ पुरा गरेर निखिल नेपाल फर्किने तरखरमा थिए । यता नेपालमा साथीको जन्मदिन पनि नजिकिँदै थियो । जन्मदिनको अवसरमा केही उपहार दिने नेपालीको परम्परा । उनले पनि स्वदेश फर्किदा साथीलाई आकर्षक उपहार ल्याइदिने सोच बनाए । साथीका लागी निखिलले ‘टेबल अर्गनाइजर’ बनाएर ल्याइदिने भए । त्यो कपी कलम लगायतका सामाग्री राख्ने नयाँ डिजाइनको भाँडो हो । निखिल वि.सं. २०७४ सालमा पढाई पुरा गरी नेपाल फर्किए । केहीपछि साथीको जन्मदिनमा सहभागी हुन पुगे निखिल । त्यहाँ अरुणसहित उनका थुप्रै साथीहरूको सहभागिता थियो । भारतबाट ल्याएको उपहार साथीलाई दिए । सोही उपहारको सबै साथीले प्रशंसा गरे । नगरुन् कसरी पनि हेर्दै लोभ लाग्दो, अनि आकर्षक थियो त्यो उपहार । निखिलका साथी अरुणले त्यो उपहारलाई महत्वका साथ चासो दिए । नयाँ काम र योजनामा चासो दिने अरुणलाई निखिलले दिएको उपहारले एउटा नयाँ मोड दियो । ‘सुरुमा मैले टेबल अर्गनाइजर बनाउन कति समय लाग्यो, कति मूल्य पर्यो, हामीले नेपालमा यसलाई बनाउन सकिन्छ भनेर निखिललाई सोधेँ, उसले मेरो उत्साह र जिज्ञासालाई मेटाउँदै यो नेपालमा पनि बनाउन सकिन्छ भनेपछि यस्तै किसिमको सामान नेपालमा पनि बनाउनु पर्छ भन्ने मनसाय भयो, काम गर्न उत्सुकता जाग्यो,’ सुरुवाती दिनहरु स्मरण गर्दै अरुणले भने । त्यसपछि यस्तै किसिमको सामान उत्पादन गर्ने अरुण र निखिललाई इच्छा जाग्यो । त्यसपछि कस्तो काम गर्ने, कसरी गर्ने, के गर्ने भन्ने विषयमा अध्ययन गर्न थाले उनीहरु । फ्याम्ली बिजनेसमा व्यस्त अरुणलाई व्यपार ज्ञान थियो । नेपाल आएको केही समयपछि नै निखिलले पनि अर्को कम्पनीमा काम सुरु गरे । यस विषयलाई नै लिएर अरुण र निखिलले बजार बुझ्न थाले । विस्तारै आफ्नो प्रडक्टको उत्पादनमा जुटे उनीहरू । सुरुमा अरुणको घरको सानो कोठाबाट उनीहरूको व्यवसायिक यात्रा सुरु भयो । सुरुवाती दिनहरुमा बजार लिन सकस नै थियो । अर्डर आउँदैनथ्यो । आफ्नो प्रडक्ट बजारमा चिनाउन अरुण र निखिललाई हम्मेहम्मे हुन्थ्यो । उनीहरु काम गर्दै गए । विस्तारै बजारले उनीहरुको प्रडक्टलाई बुझ्दै गयो । दिनप्रतिदिन अर्डर बढ्दै गयो । माग बढ्दै गएपछि अन्य कामहरु छोडेर दुवै जना यही व्यवसायमा व्यस्त हुन थाले । उनीहरूबिच पारिवारिक सम्बन्ध पनि बढ्न थाल्यो । त्यसले पनि उनीहरुलाई थप काम गर्न सहयोग मिल्यो । १० लाख लगानी, ३२ जनालाई रोजगारी व्यापार आफैमा एउटा जोखिमको विषय हो । व्यापारले धेरैलाई सफलतातर्फ लम्काउँछ भने कतिपय व्यापारमा फस्छन् पनि । सानो पुँजीबाट व्यापार सुरु गरेर सफल भएकाहरु पनि समाजमा धेरै भेटिन्छन् भने करोडौं लगानी गरेर डुबेकाहरु पनि प्रशस्त भेटिन्छन् । कतिपयलाई सफलता हात पार्न वर्षौं कुनु पर्ने हुन्छ । जब व्यक्ति व्यापारमा अभ्यस्त हुन्छ, ब्यापारको बजार बुझ्छ र उपभोक्ताको रुचाइलाई ध्यानमा राख्छ त्यो व्यवसाय र व्यक्ति एकदिन अवश्य नै सफल बन्छ । यस्तै योजना, अडिकतार अभिप्राय लिएर अगाडि बढेका अरुण र निखिल आज सफलतान्मुख उद्यमीका रुपमा परिचित छन् । अरुण र निखिलले ५/५ लाख लगानी गरेर कुल १० लाख रुपैयाँबाट सुरु भएको मस्तकला अहिले बजारमा सबैको रोजाइको विषय बनेको छ । सन् २०१८ बाट सञ्चालनमा आएको मस्तकला ब्राण्डका सामाग्री देशव्यापी बन्दैछन् । एउटा सानो कोठाबाट सुरु भएको कम्पनी आज हेण्डिक्राफ्ट उत्पादनमा एकपछि अर्को फड्को मार्दैछ । मस्तकला सञ्चालन गर्दा अरुण र निखिललाई चुनौती नआएका होइनन् । चुनौतिको सामना गर्दै अगाडि बढेका उनीहरु अहिले नयाँ प्रडक्टको उत्पादनका साथै माग लिन र आपुर्ति गर्नमा व्यस्त छन् । उनीहरूले उत्पादन गरेको सामान काठबाट तयार हुन्छ । त्यसका लागि काठ भारत र रुसबाट ल्याउने पनि निखिलले बताए । आफ्ना उत्पादनको ब्रान्ड नाम मस्तकला राखेर व्यवसाय सुरु गरेका अरुण र निखिलको प्रडक्टको माग बजारमा पनि बढ्दो छ । ‘हामीले मस्तकला सुरु गर्दा हाम्रो उत्पादन बजारलाई चिनाउन समस्या भयो, लोकल प्रडक्ट उत्पादन कम हुन्थ्यो, त्यसले गर्दा पनि निर्यात गरेर ल्याएको सामान भन्दा थोरै मूल्य पनि बढी हुन्थ्यो, ‘निखिलले मुस्कुराउँदै भने,‘ जता सस्तो छ, त्यतै मान्छे जान्थे, अहिले नेपाली उत्पादन प्रयोग तथा प्रमोट गर्नुपर्छ भन्ने भावको विकास भएको छ, त्यसले पनि हामीलाई सहयोग पुर्याएको छ ।’ मस्तकलाले आफ्ना उत्पादन बढाउँदै जाने र विदेशसम्मका निर्यात गर्ने योजना बनाएको छ । अरुण र निखिलले साढे १४ हजार स्क्वायर फिट जग्गा लिजमा लिएर आफ्नो व्यापार सञ्चालनमा ल्याएका छन् । निखिलका अनुसार अहिले प्रत्यक्ष ३२ जनाले रोजगारी पाएका छन् । उपहारका लागि प्रख्यात अरुण र निखिलले धेरै थरिका प्रडक्टहरू उत्पादन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका सामाग्री बजारमा पनि निकै चर्चामा छन् । बजारमा मस्तकलाका ब्राण्डका सामग्री फैलिँदै छन् । चिटिक्क परेका उपहार आकर्षक काठबाट बन्ने सामाग्रीले धेरैको मन तान्छ । मस्तकलामा सजावटका लागि काठको टेबल अर्गनाइजर, घडी, मायाको चिनो, फोटो फ्रेम लगायतका सामाग्री पाइन्छन् । अरुणका अनुसार मस्तकलाबाट अहिले एक सयभन्दा भन्दा बढी प्रडक्टहरूको उत्पादन हुन्छ । यी सामाग्री अर्डर अनुसार अरुण र निखिलले तयार गर्छन् । चाहिएको खण्डमा सामाजिक सञ्जाल मार्फत् पनि अर्डर गर्न सकिने अरुण बताउँछन् । उनका अनुसार २ सय ८० रुपैयाँ भन्दा माथिका सामग्रीहरू मस्तकलामा पाइन्छन् । सामानको मूल्य अर्डर अनुसार हुने पनि उनको भनाइ छ । उत्पदित वस्तु पनि सामग्री नाम जस्तै मस्त छन् । सामानको अर्डर अनुसार डेलिभरी पनि देशभर हुने उनको भनाइ छ । अरुण र निखिलले आ–आफ्नो जिम्मेवारी समाल्छन् । अरुणले बजार र आर्थिक कारोबारको जिम्मेवारी सम्हाल्छन् भने निखिलले डिजाइनको काम गर्छन् । ‘आफ्नो जिम्मेवारी गहन किसिमले सम्हाल्छौं, कहिले काहीँ निर्णय गर्दा झगडा पनि पर्छ,’ अरुणले निखिलतिर हेर्दै मुसुक्क हाँस्दै भने, ‘अहिले कुल क्षमताको ४० प्रतिशत मात्र सामाग्रीको उत्पादन हन्छ ।’ उनका अनुसार अहिले माग अनुसार पनि सामानको उत्पादन हुन्छ । मस्तकला ब्राण्डका सामाग्री एक दिन प्रत्येक कर्पोरेट हाउसमा पुर्याउने लक्ष्य मस्तकलाको छ । ‘पहिला कसैले कसलाई उपहार दिनु छ भने रेडिमेट प्रडक्टहरू दिन्थे, त्यो खासै प्रयोग भएको पाइँदैन थियो, दिनेलाई पनि खासै उत्साह हुन्थेन, तर आफ्नो नाम नामोडिएको सामान सबैलाई प्यारो लाग्छ, हामीले उत्पादन गरेका सामाग्री उपयोगी पनि छन्, राम्रो पनि छन्,’ उनले भने । ठाउँ–ठाउँमा शाखा खोल्ने अहिले मस्तकला सुरुवाती चरणमा छ । गुणस्तर उत्पादन र ब्रण्डिङमा महत्वका साथ जुटेका छन् उनीहरु । उनीहरूको अर्को सपना हो मस्तकलाका शाखाहरु विस्तार गर्ने । काठमाडौंमा उत्पादन गरी मस्तकलाका सामाग्री गरेर देशभर कार्गो माध्यमबाट पुर्याउँदै आएका अरुण र निखिल विभिन्न ठाउँमा शाखा सञ्चालन गर्ने योजनामा छन् । यसले उपभोक्तालाई थप सहज हुने उनीहरु बताउँछन् । प्रत्येक ठूला शहरमा मस्तकलाको सञ्जाल विस्तार गर्ने योजनाका साथ आन्तरिक काम भइरहेको पनि उनीहरु बताउँछन् । गुणस्तरीय कपी तथा आकर्षक डिजाइनका टिसर्टको उत्पादन गर्ने लक्ष्य उनीहरूको छ । ‘हामी जे काम गर्छौं, नेपालको अर्थतन्त्रमा सघाउ पुर्याउँछौं,’ उनले भने । उनीहरुले मस्तकलासँगै ‘रेन्टल्स बाइ मस्तकला’व्यवसाय पनि सुरु गरेका छन् । यसबाट उनीहरूले ब्रतबन्ध तथा विवाहका लागि चाहिने फर्निचर र अन्य सामग्री भाडामा उपलब्ध गराउँदै आएका छन् ।
छरिएका रकमहरु पुँजीको रुपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने उनको भनाइ छ । ‘विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुनसक्छ,’ उनले भने ।
आठ महिनामा विदेश जान ८० हजार नेपाली विद्यार्थीले लिए अनुमति
काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र एनओसी लिएका छन् । उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबारमात्रै छ सय नौ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए । उनका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा एक हजार छ सय ९६, जेठमा चार सय ५६, असारमा तीन हजार एक सय नौ, साउनमा पाँच हजार तीन सय ४१, भदौमा पाँच हजार आठ सय ६०, असोजमा चार हजार नौ सय ६३, कात्तिकमा तीन हजार सात सय ५७, मङ्सिरमा पाँच हजार छ सय ९५, पुसमा सात हजार ८५, माघमा नौ हजार पाँच सय १३, फागुनमा १३ हजार नौ सय ७२ र चैतमा १६ हजार तीन सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र एनओसी लिएका थिए । यस वर्षको वैशाखमा १५ हजार सात सय ७१ र जेठमा १४ हजार छ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक छ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ । रासस
सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन, छुट्टै निकाय स्थापना गर्नुपर्छ : डा. खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खड्काले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिनको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सहकारीलाई नियमन गर्न छुट्टै निकाय स्थापना गर्नुपर्ने बताए । सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक रहेको उनको भनाइ छ । यस्तै, महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत हुने गरेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन ९शुक्रबार०को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिहरुले आफ्नो प्रस्तुती दिँदै यस्तो बताएका हुन् । अष्ट्रेलियाबाट सहभागि विजनेस काउन्सिल अफको अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदानको जोड दिएको बताइन् । आफ्नो प्रस्तूती दिँदै उनले आर्थिक सहभागिता र स्वायत्तता र स्वतन्त्राता शिक्षा, तालिम र सचना सहकारी बीचको सहकार्य गर्ने जोड दिएकी थिइन् । उनले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामिण क्षेत्रको समेत विकास योगदान पुराएकोमा बताएकी थिइन् । यस्तै, भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए । सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकासमा समेत सहयोग पुगेको उनी बताउँछन् । सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र को निर्देशन आवश्यक नभएको उनको जोड थियो । यस्तै, अर्का वक्ता भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीहरुको पहिचान संकटमा भएको बताएका थिए । उनले सहकारीलाई विश्वासनिय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिएको थिए । सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनीता माथि ठुलो चुनौती आएको उनको भनाइ छ । महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।
श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि
एजेन्सी । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८।५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए । गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो । रासस
सिजी ल्यान्डमार्कका सामानमा ८० प्रतिशतसम्म छुट
चितवन । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ । ‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महाप्रबन्धक उज्वल केसीले बताए । सिजी ल्यान्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ । याे अफर चैत २५ देखि वैशाख २०८० सम्म लागू हुने कम्पनीले जनाएकाे छ ।
नेपाली समाजवादको खाका कसैसँग छैन : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तक्र्रिया कार्यक्रम’मा उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए । उनले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुनेसमेत कार्यकर्तालाई जानकारी दिए । ‘समाजवादी मोर्चाबारे माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी छ’, उनले भने । पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले सङ्गठन सङ्घर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको भनाइ राखे । उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएका उपमहासचिव शर्माले आन्तरिक स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने जनाए । अन्तक्रियामा केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, युवानेता रामदीप आचार्य, प्रदेश समितिका अध्यक्ष विमला केसीलगायतले कर्णालीको गरिबी निवारणको मुद्दालाई प्राथमिकता राखेर पार्टीका गतिविधि सञ्चालन गरिने जनाए । कार्यक्रममा पार्टीका नेता, भातृ तथा पेसागत सङ्गठनका प्रतिनिधि गरी करिब तीन सयको सहभागिता थियो ।
बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने
काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स लिएका बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने बताएको हो । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले उक्त व्यवस्था लागू गरेको हो । प्राधिकरणका अनुसार गत कार्त्तिक २२ गते पछि जारी भएका लाइसेन्सहरु जारी भएको मितिले तीन वर्षसम्म नवीकरण गर्नु पर्दैन । नयाँ लाइसेन्सहरुको अवधि तीन वर्षसम्म हुने भएकोले अब वार्षिक रुपमा नवीकरण गर्न नपर्ने भएको हो । हाल प्राधिकरणले एजेन्ट तथा अभिकर्तालाई सहज बनाउन गत चैत ६ गतेदेखि अनलाइन माध्यमबाट नवीकरण गर्ने व्यवस्था मिलाएको हो ।