महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै सुरु हुँदै
सिन्धुपाल्चोक । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए । अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए । अस्पतालले आजदेखि परीक्षणका रुपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ । यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन । ‘अनुमति पाउन मात्रै बाकीँ थियो’, उनले भने, ‘तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ ।’ महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताए । सङ्घीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उनको भनाइ छ । अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता छ । ‘धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ’, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा अर्जुन भट्टले भने । हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन् । रासस
लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एशियन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बैशाख १८ गते, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि सिटिजन्स सुपर ३० फण्ड बिक्री गर्ने
काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंकलाई राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्डमा छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख २० गतेसम्म म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
सनराइज बैंकले रोज भिलेज हाउजिङ्ग भित्र रहेको घरजग्गा बेच्दै
काठमाडौं । सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भक्तपुरको बालकोट ३ स्थित ६ वटा कित्ता बिक्री गर्ने भएको हो । बैंकले बालकोट स्थित रोज भिलेज हाउजिङ्ग भित्र रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार कित्ता नम्बर ९० को ०-२-२-०, कित्ता नम्बर ९१ को ०-०-३-०, कित्ता नम्बर ९२ को ०-१-२-०, कित्ता नम्बर १८८२ को ०-०-३-०, कित्ता नम्बर २५५० को ०-४-०-२ र कित्ता नम्बर ०-७-१-१ क्षेत्रफल भएका घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिन अर्थात् बैशाख ८ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
मेन्छियाम हाइड्रोको आईपीओ बैशाख ४ गतेदेखि बिक्री खुला, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले बैशाख ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ निष्कानश गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । यस्तै, २२ हजार ४३९ कित्ता सेयरमा कर्मचारी, ५६ हजार ९९ कित्ता सेयरमा सामूहिक लगानी कोष र ९ लाख ३४ हजार ९१५ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
फियनको अध्यक्षमा पदमराज रेग्मी निर्वाचित, कुन पदमा को विजयी ?
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समितिको अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा अध्यक्ष पदमा रेग्मीले २१९ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमा विजयी रेग्मी नेपाल राष्ट्र बैंकका उप कार्यकारी निर्देशक हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी हरिराज खरेलले १३४ मत र रविन्द्र मिश्रले २ मत प्राप्त गरेका छन् । यस्तै, फियनको वरिष्ठ उपाध्यक्षमा परशुराम खनाल १९२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी प्रशान्त बल्लब पन्तले १५९ मत प्राप्त गरेका छन् । यस्तै, खुल्लातर्फको उपाध्यक्षमा शिवराज तिमिल्सिनाले २३६ मत, महिलातर्फको उपाध्यक्षमा सपना शाहीले १८० मत, सरकारी बैंकतर्फको उपाध्यक्षमा शिवनाथ योगीले २०३ मत र निजी बैंकको तर्फको उपाध्यक्षमा शिवहरि भण्डारीले २२९ मत ल्याएर विजयी भएका छन् । यस्तै, तराई/मधेशतर्फको उपाध्यक्षमा सोभित शाह, लघवित्ततर्फको उपाध्यक्षमा अर्जुन कुमार भट्टराई, बीमा तर्फको उपाध्यक्ष सम्भुप्रसाद मिश्र, पूँजी बजार तर्फको उपाध्यक्षमा राजु बहादुर जि.सी. र गैर वित्तीय तर्फको उपाध्यक्षमा देव गुरागाईँ निर्विरोध भएका छन् । साथै, फियनको महासचिवमा विकास श्रेष्ठले २०५ मत ल्याएर विजयी भएका छन् । यस्तै, खुला तर्फको उपमहासचिवमा ज्ञानहरि ढुङ्गानाले २५३ मत, बरुण खड्काले २१७ मत, हरि बहादुर खड्काले २५१ मत र सबिन भट्टराईले २३० मत ल्याएका छन् । तर, राममणि न्यौपाने र राजेश कुमार गिरीले बराबर १६७ मत ल्याएका छन् । यस्तै, विकास बैंक तर्फको उपमहासचिमा राज शंकर झा, महिला उपमहासचिवमा गीता बस्नेत र रामचन्द्र बि.क. निर्विरोध निर्वाचित भएका छन् । फियनको कोषाध्यक्षमा जेम्श जोशी र सह कोषाध्यक्षमा सविता लुइटेल निर्वाचित भएका छन् ।
घलेम्दी हाईड्रोले २ सय प्रतिशत हकप्रद बिक्री गर्ने, डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनीले हकप्रद सेयर निकाशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । १ः२ हकप्रद सेयर बिक्री गरी ६३ मेगावाट छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनी सञ्चालक समितीको चैत २३ गते बसेको बैठकले नवौं बार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमौडौमा बिहान १०ः३० बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रूताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख ६ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र बेच्दै, ११ प्रतिशत ब्याज दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाए छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।