काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुबीच विदेशमा कार्यक्षत्र पार्न हारालुछ नै हुने गरेको छ । प्रतिस्पर्धा भन्दा पनि पावर र पैसाको मोलमोलाइ गरेर कर्मचारीहरुबीच विदेश कार्यक्षेत्र पार्न ठूलो चलखेल नै हुने गरेको हो ।
विदेशमा रहेका निगमको कार्यालयमा काम गर्न उनीहरुले लामो समयदेखि लविङ गरेर विदेश जाने गरेका छन् । योग्यता पुगेका योग्य कर्मचारीभन्दा पनि पैसा र पावरको चलखेल गर्न सक्ने कर्मचारीले विदेशमा सरुवाका लागि ठूलो लविङ गर्ने गरेको निगमकै कर्मचारीहरु बताउँछन् ।
विदेश जान मन्त्रीको पावर र पैसा बुझाएका आधारमा योग्यता नै नपुगेका कर्मचारीहरु विदेशस्थित कार्यालयमा जाँदा कामको प्रतिफल नदेखिएको निगमका कर्मचारीहरु बताउँछन् ।
‘पछिल्लो समय निगमका कार्यकारी अधिकारी युवराज अधिकारीले विभिन्न देशमा कन्ट्री म्यानेजर (स्टेशन) र फाइनान्स म्यानेजरका रुपमा आफु निकटका कर्मचारीहरु पठाएका छन्’, निगम स्रोतले भन्यो, ‘राम्रोसँग अंग्रेजीसमेत बोल्न नसक्ने कर्मचारीलाई विदेशका कार्यालयमा पठाउँदा निगमको शाख नै खस्किएको छ ।’
कार्यकारी अध्यक्ष अधिकारीले योग्यता पुगेका कर्मचारीलाई छोडेर उनी निकटका एक दर्जनबढी कर्मचारीलाई विभिन्न देशका लागि सिफारिस गरेका थिए । सन् २०१९ देखि विदेशका कर्मचारीको सरुवा नभएकोमा निगमको कार्यकारी अधिकारीको रुपमा नियुक्त भएपछि आफू निकटका योग्यता नपुगेकाहरुलाई पठाएको निगममा कार्यरत कर्मचारीहरु बताउँछन् ।
विस २०७८ को कात्तिकमा सरकारले निगमका पूर्व कर्मचारी समेत रहेका अधिकारीलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्षका रुपमा नियुक्त गरेको थियो । निगमले हाल सबै कर्मचारीलाई आवास सुविधासहित तह अनुसार १ हजार अमेरिकी डलरदेखि १५ सय डलरसम्म सेवा सुविधा दिएको छ । विदेशमा काम गर्ने कर्मचारीहरुले तलबसहति अन्य सेवा सुविधा पनि पाउने र सुविधा सम्पन्न देशमा पनि बस्न पाउने भएकोले विदेशमा काम गर्न रुचाउँछन् । तलब पनि नेपालको तुलनामा चार गुणा बढी हुन्छ ।
निगमले हाल उडान गर्दै आएको विभिन्न देशका १० गन्तव्यमा हाल २४ जना कार्यरत रहेका छन् । ६ तहदेखि ८ तहसम्मका कर्मचारीलाई विदेशस्थित कार्यालयमा पठाइने गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे बताउँछन् ।
‘भारतको नयाँ दिल्लीमा दैनिक २ उडान छ, दैनिक उडान हुँदा नयाँदिल्लीमा ४ जना कर्मचारीहरु हुनुहुन्छ, अन्य देशमा २ जना कर्मचारी निगमले पठाएकोे छ’, उनले भने ।
विदेशमा कार्यरत कर्मचारीलाई निगममा कार्यरत कर्मचारीको भन्दा बढी सेवा सुविधा दिइएको उनले बताए । ‘यहाँको भन्दा धेरै सेवासुविधा चाहिन्छ, त्यो पनि दिइएको छ, तर उहाँहरुले पर्याप्त नभएको गुनासो गर्दै आउनुभएको छ’, उनले भने ।
नेपाल वायु सेवा निगमका कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ अनुसार बनेको नेपाल वायु सेवा निगमका कर्मचारीको विदेशस्थित कार्यालयमा सरुवा सम्बन्धी कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार विदेशका कार्यालयमा कर्मचारी सरुवा गरिएको उनले बताए ।
विदेशस्थित कार्यालयमा कर्मचारी पठाउँदा जेष्ठता, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यांकन लगायत अन्य गतिविधिलाई आधार बनाईने गरिएको उनको भनाइ छ । ‘हामीलाई कर्मचारी पठाउन धेरै दबाब आउने गर्छ, तर हामी नियममा बसेर पठाउँछौं,’ उनले भने ।
यद्यपि, लविङ गरेर विदेशमा काम गर्न गएका निगमका कर्मचारीहरु अझै पनि अहिलेको सेवा सुविधामा सन्तुष्ट छैनन् । उनस्हरुले अन्य वायु सेवा कम्पनीहरुको तुलनामा नेपाल वायु सेवा निगमका कर्मचारीहरुको तलब तथा अन्य सेवा सुविधा कम भएको गुनासो गरेका छन् ।
‘नेपालमाभन्दा हामीलाई केही बढी सेवा सुविधा दिइएको छ, तर हामीलाई दिइएको सेवासुविधा पर्याप्त छैन’, विदेशस्थित स्टेशनमा कार्यरत एक कर्मचारीले भने, ‘निगमले हामीलाई दिएको सेवा सुविधा अनुसार खर्च गर्ने हो भने एक सातालाई पनि पुग्दैन ।’
उनीहरुलाई निगमले आवास सुविधा पनि दिइएको हुन्छ । अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई धेरै सेवासुविधा दिइएता पनि नेपाल वायुसेवा निगमले दिन नसकेको उनको भनाइ छ ।
‘अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई हामीलाई दिइएकोभन्दा ६/७ गुण बढी सेवासुविधा दिइएको छ, उनीहरुको परिवार सबैको व्यवस्थापन कम्पनीले नै गर्ने गरेको छ, तर हाम्रोमा एउटा ज्यान पाल्न समेत कठिन छ’, ती कर्मचारीले भने ।