कलङ्की–बसुन्धारा सडक विस्तारको तयारी, निर्माणस्थलको ८० प्रतिशत जग्गा खाली
काठमाडौं । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ । चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताए । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी गराए । चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ । अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युत्को पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ । सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो । सोही आधारमा निर्माणस्थल खाली गराउन सुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन । निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ । उनले भने, ‘महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन ।’ तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ । पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताए । विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उनले जानकारी गराए । उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन् । विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ । भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ । सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ । प्रमुख जैसीले भने, ‘उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन् ।’ सडकका ठाउँ–ठाउँमा ‘अण्डरपास’ का लागि कुरा राखिएको छ । अहिले नै ‘अण्डरपास’ नबनाए पछि सडक फुटाएर बनाउन गाह्रो हुने भएकाले सो कुरा राखिएको र औपचारिक कुराकानीबाट निष्कर्षमा पुग्न छलफल भइरहेको उनको भनाइ थियो । चक्रपथको पहिलो खण्डको ठाउँ–ठाउँमा पानी डुब्ने समस्या आएकाले त्यो आउन नदिने गरी निर्माण गर्न पनि छलफल भइरहेको छ । पहिलो खण्डमा नाली नभएकाले सडकमा ठाउँ–ठाउँमा पानी जम्मा हुने समस्या आएको थियो । दोस्रो खण्डमा सबैतिर र ठूलो आकारको नाली राख्न भनिएको र त्यसमा चिनियाँ पक्ष पनि सकारात्मक रहेको प्रमुख जैसीले बताए । अरु कुरामा सहमति भइरहँदा ‘युटिलिटी डट’ र ‘अण्डरपास’ बनाउने कुरामा भने सहमति हुन बाँकी छ । उनले भने, ‘उहाँहरूको पहिलेअनुसारनै बनाउने मान्यता भन्ने हो । नयाँँ कुराका लागि माथिसम्म पु¥याउनुपर्ने हुन्छ ।’ विकासमा सहयोग गर्ने राष्ट्रसँग दीर्घकालीन योजना हुने र पाँच–सात वर्ष लगाएर योजना बनाइ पैसा दिने गरिएको प्रमुख जैसीले बताए । ती राष्ट्रको योजना कार्यान्वयन हुँदासम्म यहाँको आवश्यकता परिवर्तन भइसक्ने गरेको छ । दश वर्ष पहिले पनि विभागले ग्वार्काेमा फ्लाइओभर बनाउन भने पनि त्यतिबेला पैसा नपुगेर बनाउन सकिएको थिएन । अहिले सरकारले आफ्नै लगानीमा ‘फ्लाइओभर’ निर्माण अघि बढाइरहेको छ । चिनियाँ पक्षले दोस्रो खण्डमा ‘फ्लाइओभर’ बनाउन रकम नभएको भनिरहेको उल्लेख गर्दै उनले भने, ‘विदेशीको पनि सीमितता हुन्छ । अहिले हामीलाई ग्वार्काेमा जस्तै धेरै ठाउँमा फ्लाइओभर बनाउनुपर्ने छ ।’ डिजाइन फाइनल हुन छ–सात महिना लाग्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रियामा जान सकिने प्रमुख जैसीले बताए । निर्माणको काम काम नै सुरु गर्न अब एक वर्ष लाग्न सक्ने देखिएको छ । रासस
राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलाएकाे छ । संस्थानले सहायक व्यवस्थापकमा २ जना, र सहायकमा दुईजना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले सोही सुचनामा मार्फत जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने संस्थानले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन अर्थात वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्ता फाराम भने संस्थानको वेवसाइटबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएकाे छ ।
आईपीओकै मूल्यमा राम्रा सेयर, यी हुन् २०० भन्दा कममा पाइने ८ बैंक
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला ३२ सयमाथि थियो । बैंकहरुले उच्च लाभांश दिएर लगानीकर्तालाई आकर्षित गरिरहेका थिए भने बैंकहरुको सेयर मूल्य न्यूनतम ५ सयभन्दा बढी र अधिकतम १५ सय माथि थियो । बजारमा बैंकको सेयर ‘हटकेक’का रुपमा लिइन्थ्यो । अहिले बजार साढे १८ सयको हाराहारीमा हुँदा केही वाणिज्य बैंकहरुको सेयर मूल्य आईपीओ मूल्य बराबर नै खरिदबिक्री भइरहेको छ । सेयर बजार घट्दो क्रममा हुँदा सेयर खरिद गर्न उचित समय भएको जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २० वाणिज्य बैंकहरु सूचीकृत छन् । जसमा एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा बढी छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा कम सेयर मूल्य कुमारी बैंकको छ । यस बैंकको प्रतिकित्ता सेयर मूल्य १६९.१० रुपैयाँ छ । विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । कम्पनीले प्राथमिक सेयर जारी गर्दा नै प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्छन् । घट्दो बजारमा केही कम्पनीको सेयर मूल्य भने आईपीओ जारी गर्दाको मूल्यमा झरेको छ । २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ८ वाणिज्य बैंकहरु क्रमशस् प्राइम कमर्शियल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी, सनराइज, सिटिजन्स, प्रभु र कुमारी बैंक छन् । दोस्रो बजारमा प्राइम कमर्शियल बैंकको सेयर मूल्य १९३.९० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ र न्युनतम १९० रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य १८२.८० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३२.२० रुपैयाँ र न्युनतम १७९.२० रुपैयाँ रहेको थियो । ग्लोबल आइएमई बैंकको सेयर मूल्य १८२ रुपैयाँ, लक्ष्मी बैंकको १७७.५० रुपैयाँ, सनराइज बैंकको १७७ रुपैयाँ, सिटिजन्स बैंकको १७३ रुपैयाँ छ भने प्रभु बैंकको सेयर मूल्य १७० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ र न्युनतम १६७ रुपैयाँ रहेको थियो । यस्तै, कुमारी बैंकको सेयर मूल्य १६९.१० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २३० रुपैयाँ र न्युनतम १६६.१० रुपैयाँ रहेको थियो ।
मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरु आयोजना गरिएको हो । उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविर मार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरु समेत लाभान्वित भएका छन् । चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुका्े छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरुमध्यमा मोतिबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । त्यस्तै मुगुकै खत्याड गाँउपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरी समेत गरिएको थियो । दुईवटै शिविर मार्फत ४८४ जना बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोहि पनि नागरिकहरु दृष्टिविहिन बस्न नपरोस् भन्ने हेतुले संघले दशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोबिन्दनाथ योगिको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलिले आँखा शिविर सञ्चालन गरेको हो । मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन् । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौँ निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
सेनाले माग्यो विभिन्न पदमा १५५ जना कर्मचारी, डाक्टरदेखि प्लम्बरसम्म
काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । सेनाले डाक्टर, नर्स, लेखा, पुजारी, प्लम्बर, भेटेरीनरीदेखि लिएर विभिन्न पदका लागि १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको छ । दरखास्त पेस गर्ने अन्तिम मिति वैशाख २३ गतेसम्म तोकिएको छ । निर्देशनालयको अनुसार १० रुपैयाँको टिकट टाँसेर स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिनेछ । यस्तै, दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म आवेदन फारम बुझाउन सकिने पनि निर्देशनालयले जनाएको छ ।
बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित
काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । बिहीबार टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ विगत ५ बर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्य धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ । नायिका कार्की १ बर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी बिज्ञप्तीमा जनाइएको छ ।नायिका कार्कीलाईनै अनुबन्ध गर्नु परेको जिज्ञासामा छिट्टै कम्पनीले आफ्नाे फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको बताएको छ ।
बढे दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी
काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो । त्यति मात्रै होइन एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् । शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालमा तलका कक्षमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन् । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक धरोहर यस विद्यालयमा आगामी शैक्षिक सत्रका लागि विद्यालयले यही चैत १७ देखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको थियो । नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी विद्यालयको छ । उक्त परीक्षाका लागि अनिवार्य पाँच विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिकको (अध्ययनरत) कक्षाको पाठ्क्रममा आधारित रहेर प्रत्येक विषयबाट २०/२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने पनि प्रधानाध्यापक पौडेलले जानकारी दिइन् । स्तरमापन गर्दा पास भएका जतिलाई विद्यार्थीलाई भर्ना लिनुपर्छ । ‘छनोट गरेर भर्ना गर्दा पनि कक्षा ७ देखि ९ सम्म विद्यार्थीलाई एउटै कक्षालाई तीन सेक्सनमा विभाजन गर्नुपर्ने देखिन्छ’, प्रधानाध्यापक पौडेलले भनिन् । नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ ज्ना मात्र विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । गोर्खा भूकम्पकले पूर्णरूपमा क्षति भएकोे यस विद्यालयमा ३० शिक्षक कार्यरत छन् । ‘कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ’, प्रधानाध्यापक पौडेलले भनिन् । एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था छ । ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ । विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताइन् । यस विद्यालयमा निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर ‘फाइन आर्ट’ कक्षा सञ्चालन गर्ने तयारी समेत रहेको छ । आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित रहेका छन् । नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गर्नुभएपछि पुनःसञ्चालनमा आएको हो । विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । सुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्की (माटो र चुनबाट बनेको निर्माण सामग्री) को प्रयोग भए पनि अहिले आधुनिक निर्माण सामग्रीले बनेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमूना विद्यालयका रूपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको प्रमुख प्रमुख सुवेदीले बताए । रासस
सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु, बीमा बारे जनचेतना जगाउने
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले चैत २४ गते, शुक्रबारदेखि कार्यक्रमकाे सुरुवात गरेकाे हाे । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बीमा विलासिता नभएर अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उधेश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्द्रित रहेको कम्पनीले बताउँछ । बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलले यस अभियानको उद्घाटन गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ । ‘यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो,’ कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएकाे छ । जीवनको अफ्ठ्याराे समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा भएकाे र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्ने कम्पनी बताउँछ ।