काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा १८.१६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वटा वाणिज्य बैंकले १० महिनाको अवधिमा कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल खुद नाफा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा वृद्धि कुमारी बैंकको भएको छ । बैंकको खुद नाफा ८३३ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ । नबिल बैंक भने सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । बैंकले ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ७.६० प्रतिशत बढी हो । गत वर्षको वैशाखमा बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको ८१.६३ प्रतिशत बढेर ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको ४३.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको ४३.२१ प्रतिशत बढेर १ अर्ब ८८ करोड ११ लाख रुपैयाँ, प्राइम बैंकको ३१.७३ प्रतिशत बढेर ३ अर्ब ४० करोड ६१ लाख रुपैयाँ, सिटिजन्स बैंकको २६.८७ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, नेपाल एसबिआई बैंकको २१.५९ प्रतिशत बढेर १ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको १९.९२ प्रतिशत बढेर ३ अर्ब १४ करोड ८७ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १८.७८ प्रतिशत बढेर २ अर्ब ३८ करोड ८९ लाख रुपैयाँ, हिमालयन बैंकको १७.४७ प्रतिशत बढेर ८० करोड २८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.१४ प्रतिशत बढेर २ अर्ब ४६ करोड १६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.४१ प्रतिशत बढेर २ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
तर, समीक्षा अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । बैंकको ४१.७० प्रतिशत घटेर १ अर्ब १६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, एनआईसी एशिया बैंकको ३०.४४ प्रतिशत घटेर ३३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २४.२५ प्रतिशत घटेर ३ अर्ब ८० करोड ३२ लाख रुपैयाँ, नेपाल बैंकको ९.१४ प्रतिशत घटेर २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, कृषि विकास बैंकको ७.८९ प्रतिशत घटेर १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५.१७ प्रतिशत घटेर ३ अर्ब ७० करोड १२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३.०६ प्रतिशत घटेर ५ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
