काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्यवाहक प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर योजना पारित गरेको हो ।
यस वर्ष जेठ १८ देखि असोज १४ गतेसम्म वर्षा हुने अनुमानका आधारमा महानगरले सम्भावित जोखिम न्यूनीकरणका लागि कार्ययोजना तयार पारेको जनाएको छ । निर्देशक वसन्त आचार्यको संयोजकत्वमा गठित कार्यदलले डुवान क्षेत्रको पहिचान र नक्साङ्कन गरेर योजना तयार गरेको हो ।
महानगरभित्र १२८ स्थानमा डुवानको जोखिम रहेको पहिचान गरिएको छ। यसबाट करिब ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती र विष्णुमती नदीको दोभान आसपासका तल्लो भेग विशेष जोखिममा छन् ।
विशेषगरी वडा नं. १४ सबैभन्दा बढी जोखिममा रहेको छ । त्यस्तै वडा नं. १३, १५, २९, १०, १६, २६, ३२ र १२ मा पनि उच्च जोखिम देखिएको छ । स्थानगत हिसाबले वडा नं. ३० मा २१ स्थान, वडा नं. ४ र ३२ मा १०/१० स्थानमा डुवानको सम्भावना रहेको छ ।
प्रभावका दृष्टिले वडा नं. १६ सबैभन्दा बढी प्रभावित हुने देखिएको छ, जहाँ करिब १ हजार ६ सय परिवार जोखिममा छन् । वडा नं. २६ मा १ हजार २५५, वडा नं. ३ मा करिब ९५० र वडा नं. ४ मा ९५५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
महानगरले विपद्का बेला उद्धार, राहत र व्यवस्थापनका लागि ११ विभागलाई जिम्मेवारी तोकेको छ । साथै, ५१ वटा पार्क, २८ खुला क्षेत्र र ८७ विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ ।
बैठकमा संयोजक डंगोलले कार्ययोजना प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अभ्यास, स्पष्ट जिम्मेवारी बाँडफाँट र आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइन् । उनले समन्वय र सहकार्यलाई बलियो बनाउन तथा विपद्का बेला अलमल नहुने व्यवस्था गर्न पनि जोड दिइन् ।
डुवानको जोखिम न्यूनीकरणका लागि महानगरले नदी सरसफाइ, ढल व्यवस्थापन र सतह पानी निकास सुधारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । हाल दैनिक रूपमा जनशक्ति परिचालन गरी ढल सफाइ, क्याचपिट र मेलहोल खोल्ने तथा फोहर निकाल्ने काम भइरहेको छ ।