उपहारका लागि प्रख्यात ‘मस्तकला’, व्यवसायमा जम्दैछ अरुण-निखिलको दोस्ती

<p>काठमाडौं । तपाईंको साथी या आफन्तले तपाईंको तस्वीर र नामसहितको उपहार दिनु भयो भने कस्तो महसुस हुन्छ ? पक्कै पनि अधिकांशलाई खुसी लाग्छ । धेरैले त्यो उपहार सधैंभरका लागि सम्हालेर राख्छन् पनि । आजभन्दा पाँच वर्ष अगाडि निखिलले यस्तै खुसी दिलाएका थिए आफ्ना साथीलाई । जन्मोत्सवमा निखिलले आफने साथीलाई भारतबाट ल्याएको ‘टेबल अर्गनाइजर’ उपहार ल्याएर [&hellip;]</p>

काठमाडौं । तपाईंको साथी या आफन्तले तपाईंको तस्वीर र नामसहितको उपहार दिनु भयो भने कस्तो महसुस हुन्छ ?

पक्कै पनि अधिकांशलाई खुसी लाग्छ ।

धेरैले त्यो उपहार सधैंभरका लागि सम्हालेर राख्छन् पनि ।

आजभन्दा पाँच वर्ष अगाडि निखिलले यस्तै खुसी दिलाएका थिए आफ्ना साथीलाई ।

जन्मोत्सवमा निखिलले आफने साथीलाई भारतबाट ल्याएको ‘टेबल अर्गनाइजर’ उपहार ल्याएर उनलाई मात्रै होइन जन्मोत्सवमा उपस्थित सबैलाई खुसी बनाएको थियो । त्यो उपहारले धेरैको ध्यान तानेको थियो । त्यही उपहार नै बन्यो अरुण र निखिलको व्यवसायको ‘टर्निङ प्वोइन्ट’ ।

त्यही उपहारले जन्मायो ‘मस्तकला’ । अहिले त्यही मस्तकलामार्फत् विभिन्न प्रडक्टहरु उत्पादन गरेर मान्छेको मन जितिरहेका छन् र खुसी दिलाइरहेका छन् अरूण अग्रवाल र निखिल अग्रवाल ।

दिनरात काम गरेर मस्तकलालाई सफलतातर्फ डोर्याइरहेका छन् उनीहरु । उपहार र सजावटको लागि हेण्डिक्राफ्ट सामान उत्पादन गर्दै आइरहेको कम्पनी हो ‘मस्तकला’ । शब्द थोरै र अर्थ धेरै दिने नाम ‘मस्तकला’ राखेर हेण्डिक्राफ्टका आकर्षक सामान उत्पादन गर्दै आइरहेका छन् अरूण र निखिल ।

उमेरले एक वर्ष जेठा कान्छा अरूण र निखिल बच्चै देखिका मिल्ने साथी । कक्षा १२ को अध्ययन पश्चात् अरुण पुल्चोक इञ्जिनियरिङ कलेजबाट कम्प्युटर इञ्जिनियरिङ पढ्न थाले । र, निखिल आर्किटेक्ट इञ्जिनियरिङ पढ्न भारत गए ।

पढाइमा पनि निकै अब्बल अरुण र निखिल । उनीहरू पढाइ सकेर आफ्नै देशमा नयाँ काम गर्न चाहन्थे । समय बितेको पत्तै नहुने निखिलले भारतको जयपुरस्थित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक तह को पढाइ पूरा गरे । र, अरुण इञ्जिनियरिङ पढाइ सकेर पारिवारिक विजनेशमा व्यस्त भए ।

स्नातकको पढाइ पुरा गरेर निखिल नेपाल फर्किने तरखरमा थिए । यता नेपालमा साथीको जन्मदिन पनि नजिकिँदै थियो । जन्मदिनको अवसरमा केही उपहार दिने नेपालीको परम्परा । उनले पनि स्वदेश फर्किदा साथीलाई आकर्षक उपहार ल्याइदिने सोच बनाए । साथीका लागी निखिलले ‘टेबल अर्गनाइजर’ बनाएर ल्याइदिने भए । त्यो कपी कलम लगायतका सामाग्री राख्ने नयाँ डिजाइनको भाँडो हो ।

निखिल वि.सं. २०७४ सालमा पढाई पुरा गरी नेपाल फर्किए । केहीपछि साथीको जन्मदिनमा सहभागी हुन पुगे निखिल । त्यहाँ अरुणसहित उनका थुप्रै साथीहरूको सहभागिता थियो । भारतबाट ल्याएको उपहार साथीलाई दिए । सोही उपहारको सबै साथीले प्रशंसा गरे । नगरुन् कसरी पनि हेर्दै लोभ लाग्दो, अनि आकर्षक थियो त्यो उपहार ।

निखिलका साथी अरुणले त्यो उपहारलाई महत्वका साथ चासो दिए । नयाँ काम र योजनामा चासो दिने अरुणलाई निखिलले दिएको उपहारले एउटा नयाँ मोड दियो ।

‘सुरुमा मैले टेबल अर्गनाइजर बनाउन कति समय लाग्यो, कति मूल्य पर्यो, हामीले नेपालमा यसलाई बनाउन सकिन्छ भनेर निखिललाई सोधेँ, उसले मेरो उत्साह र जिज्ञासालाई मेटाउँदै यो नेपालमा पनि बनाउन सकिन्छ भनेपछि यस्तै किसिमको सामान नेपालमा पनि बनाउनु पर्छ भन्ने मनसाय भयो, काम गर्न उत्सुकता जाग्यो,’ सुरुवाती दिनहरु स्मरण गर्दै अरुणले भने ।

त्यसपछि यस्तै किसिमको सामान उत्पादन गर्ने अरुण र निखिललाई इच्छा जाग्यो । त्यसपछि कस्तो काम गर्ने, कसरी गर्ने, के गर्ने भन्ने विषयमा अध्ययन गर्न थाले उनीहरु ।

फ्याम्ली बिजनेसमा व्यस्त अरुणलाई व्यपार ज्ञान थियो । नेपाल आएको केही समयपछि नै निखिलले पनि अर्को कम्पनीमा काम सुरु गरे । यस विषयलाई नै लिएर अरुण र निखिलले बजार बुझ्न थाले । विस्तारै आफ्नो प्रडक्टको उत्पादनमा जुटे उनीहरू । सुरुमा अरुणको घरको सानो कोठाबाट उनीहरूको व्यवसायिक यात्रा सुरु भयो ।

सुरुवाती दिनहरुमा बजार लिन सकस नै थियो । अर्डर आउँदैनथ्यो । आफ्नो प्रडक्ट बजारमा चिनाउन अरुण र निखिललाई हम्मेहम्मे हुन्थ्यो । उनीहरु काम गर्दै गए । विस्तारै बजारले उनीहरुको प्रडक्टलाई बुझ्दै गयो । दिनप्रतिदिन अर्डर बढ्दै गयो ।

माग बढ्दै गएपछि अन्य कामहरु छोडेर दुवै जना यही व्यवसायमा व्यस्त हुन थाले । उनीहरूबिच पारिवारिक सम्बन्ध पनि बढ्न थाल्यो । त्यसले पनि उनीहरुलाई थप काम गर्न सहयोग मिल्यो ।

१० लाख लगानी, ३२ जनालाई रोजगारी

व्यापार आफैमा एउटा जोखिमको विषय हो । व्यापारले धेरैलाई सफलतातर्फ लम्काउँछ भने कतिपय व्यापारमा फस्छन् पनि । सानो पुँजीबाट व्यापार सुरु गरेर सफल भएकाहरु पनि समाजमा धेरै भेटिन्छन् भने करोडौं लगानी गरेर डुबेकाहरु पनि प्रशस्त भेटिन्छन् ।

कतिपयलाई सफलता हात पार्न वर्षौं कुनु पर्ने हुन्छ । जब व्यक्ति व्यापारमा अभ्यस्त हुन्छ, ब्यापारको बजार बुझ्छ र उपभोक्ताको रुचाइलाई ध्यानमा राख्छ त्यो व्यवसाय र व्यक्ति एकदिन अवश्य नै सफल बन्छ । यस्तै योजना, अडिकतार अभिप्राय लिएर अगाडि बढेका अरुण र निखिल आज सफलतान्मुख उद्यमीका रुपमा परिचित छन् ।

अरुण र निखिलले ५/५ लाख लगानी गरेर कुल १० लाख रुपैयाँबाट सुरु भएको मस्तकला अहिले बजारमा सबैको रोजाइको विषय बनेको छ । सन् २०१८ बाट सञ्चालनमा आएको मस्तकला ब्राण्डका सामाग्री देशव्यापी बन्दैछन् । एउटा सानो कोठाबाट सुरु भएको कम्पनी आज हेण्डिक्राफ्ट उत्पादनमा एकपछि अर्को फड्को मार्दैछ ।

मस्तकला सञ्चालन गर्दा अरुण र निखिललाई चुनौती नआएका होइनन् । चुनौतिको सामना गर्दै अगाडि बढेका उनीहरु अहिले नयाँ प्रडक्टको उत्पादनका साथै माग लिन र आपुर्ति गर्नमा व्यस्त छन् ।

उनीहरूले उत्पादन गरेको सामान काठबाट तयार हुन्छ । त्यसका लागि काठ भारत र रुसबाट ल्याउने पनि निखिलले बताए । आफ्ना उत्पादनको ब्रान्ड नाम मस्तकला राखेर व्यवसाय सुरु गरेका अरुण र निखिलको प्रडक्टको माग बजारमा पनि बढ्दो छ ।

‘हामीले मस्तकला सुरु गर्दा हाम्रो उत्पादन बजारलाई चिनाउन समस्या भयो, लोकल प्रडक्ट उत्पादन कम हुन्थ्यो, त्यसले गर्दा पनि निर्यात गरेर ल्याएको सामान भन्दा थोरै मूल्य पनि बढी हुन्थ्यो, ‘निखिलले मुस्कुराउँदै भने,‘ जता सस्तो छ, त्यतै मान्छे जान्थे, अहिले नेपाली उत्पादन प्रयोग तथा प्रमोट गर्नुपर्छ भन्ने भावको विकास भएको छ, त्यसले पनि हामीलाई सहयोग पुर्याएको छ ।’

मस्तकलाले आफ्ना उत्पादन बढाउँदै जाने र विदेशसम्मका निर्यात गर्ने योजना बनाएको छ । अरुण र निखिलले साढे १४ हजार स्क्वायर फिट जग्गा लिजमा लिएर आफ्नो व्यापार सञ्चालनमा ल्याएका छन् । निखिलका अनुसार अहिले प्रत्यक्ष ३२ जनाले रोजगारी पाएका छन् ।

उपहारका लागि प्रख्यात

अरुण र निखिलले धेरै थरिका प्रडक्टहरू उत्पादन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका सामाग्री बजारमा पनि निकै चर्चामा छन् । बजारमा मस्तकलाका ब्राण्डका सामग्री फैलिँदै छन् । चिटिक्क परेका उपहार आकर्षक काठबाट बन्ने सामाग्रीले धेरैको मन तान्छ ।

मस्तकलामा सजावटका लागि काठको टेबल अर्गनाइजर, घडी, मायाको चिनो, फोटो फ्रेम लगायतका सामाग्री पाइन्छन् । अरुणका अनुसार मस्तकलाबाट अहिले एक सयभन्दा भन्दा बढी प्रडक्टहरूको उत्पादन हुन्छ ।

यी सामाग्री अर्डर अनुसार अरुण र निखिलले तयार गर्छन् । चाहिएको खण्डमा सामाजिक सञ्जाल मार्फत् पनि अर्डर गर्न सकिने अरुण बताउँछन् । उनका अनुसार २ सय ८० रुपैयाँ भन्दा माथिका सामग्रीहरू मस्तकलामा पाइन्छन् । सामानको मूल्य अर्डर अनुसार हुने पनि उनको भनाइ छ ।

उत्पदित वस्तु पनि सामग्री नाम जस्तै मस्त छन् । सामानको अर्डर अनुसार डेलिभरी पनि देशभर हुने उनको भनाइ छ । अरुण र निखिलले आ–आफ्नो जिम्मेवारी समाल्छन् । अरुणले बजार र आर्थिक कारोबारको जिम्मेवारी सम्हाल्छन् भने निखिलले डिजाइनको काम गर्छन् ।

‘आफ्नो जिम्मेवारी गहन किसिमले सम्हाल्छौं, कहिले काहीँ निर्णय गर्दा झगडा पनि पर्छ,’ अरुणले निखिलतिर हेर्दै मुसुक्क हाँस्दै भने, ‘अहिले कुल क्षमताको ४० प्रतिशत मात्र सामाग्रीको उत्पादन हन्छ ।’
उनका अनुसार अहिले माग अनुसार पनि सामानको उत्पादन हुन्छ । मस्तकला ब्राण्डका सामाग्री एक दिन प्रत्येक कर्पोरेट हाउसमा पुर्याउने लक्ष्य मस्तकलाको छ ।

‘पहिला कसैले कसलाई उपहार दिनु छ भने रेडिमेट प्रडक्टहरू दिन्थे, त्यो खासै प्रयोग भएको पाइँदैन थियो, दिनेलाई पनि खासै उत्साह हुन्थेन, तर आफ्नो नाम नामोडिएको सामान सबैलाई प्यारो लाग्छ, हामीले उत्पादन गरेका सामाग्री उपयोगी पनि छन्, राम्रो पनि छन्,’ उनले भने ।

ठाउँ–ठाउँमा शाखा खोल्ने

अहिले मस्तकला सुरुवाती चरणमा छ । गुणस्तर उत्पादन र ब्रण्डिङमा महत्वका साथ जुटेका छन् उनीहरु । उनीहरूको अर्को सपना हो मस्तकलाका शाखाहरु विस्तार गर्ने । काठमाडौंमा उत्पादन गरी मस्तकलाका सामाग्री गरेर देशभर कार्गो माध्यमबाट पुर्याउँदै आएका अरुण र निखिल विभिन्न ठाउँमा शाखा सञ्चालन गर्ने योजनामा छन् ।

यसले उपभोक्तालाई थप सहज हुने उनीहरु बताउँछन् । प्रत्येक ठूला शहरमा मस्तकलाको सञ्जाल विस्तार गर्ने योजनाका साथ आन्तरिक काम भइरहेको पनि उनीहरु बताउँछन् ।

गुणस्तरीय कपी तथा आकर्षक डिजाइनका टिसर्टको उत्पादन गर्ने लक्ष्य उनीहरूको छ । ‘हामी जे काम गर्छौं, नेपालको अर्थतन्त्रमा सघाउ पुर्याउँछौं,’ उनले भने ।

उनीहरुले मस्तकलासँगै ‘रेन्टल्स बाइ मस्तकला’व्यवसाय पनि सुरु गरेका छन् । यसबाट उनीहरूले ब्रतबन्ध तथा विवाहका लागि चाहिने फर्निचर र अन्य सामग्री भाडामा उपलब्ध गराउँदै आएका छन् ।

Share News