विकासन्युज

जयपुरमा डीएभी कलेजको दमदार प्रस्तुती

काठमाडौं । डीएभी कलेजको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डीएभी कलेज ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन् । गत चैत्र २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठाराैँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भए भने करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डीएभी कलेज, भनिमण्डल, ललितपुरले सम्पूर्ण विधाहरुमा सहभागी जनाउँदै समग्रमा तृतिय स्थान हाँसिल गर्न सफल भयो । तृतिय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डीएभी, बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन भने बीबीएसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् । त्यसैगरि बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरिन भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ्ग प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् । यसका अलावा डीएभी कलेजका विद्यार्थीहरुले सास्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । त्यसैगरि डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, बादविवाद, अनदस्पट पेन्टिङ्ग कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे । विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । डीएभी कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो र विद्यार्थीहरु विभिन्न उपाधीहरु जित्न योग्य समेत रहेका थिए । साथै, डीएभी कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।

ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ,’ उनले भने । यस्तै, उनले निजी क्षेत्रको समस्या सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनन गर्न तयार रहेको पनि बताए । ‘निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार छ,’ उनले भने । उनले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएपनि केही नहुने अवस्थामा सरकार नपुगेको बताए । उनले भएका केही अप्ठ्याराहरु सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले  सरकारले जसरी काम गर्नुपर्ने हो त्यो हुन नसकेको बताए । ‘देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु, सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौति छ,’ डा. महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

बैशाख २२ गतेदेखि सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने 

काठमाडौं  । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा बैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा उक्त मेला आयोजना गर्न लागेको हो । उक्त तीन दिन प्रदर्शनीमा मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स व्यवस्थापकीय साझेदारीको रूपमा रहेको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । ‘प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ प्याकेजिङ, प्लास्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन हुनेछन्,’ उनले भने । उनले प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने र प्रदर्शनी अवधिभर एक्सपोको निःशुल्क प्रवेशको गर्न मिल्ने पनि जानकारी दिए । प्रदर्शनीमा नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराइने उनले बताए । ‘उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्नेमा यस प्रदर्शनी महत्वपूर्ण अवसरको रूपमा रहने छ,‘उनले भने,‘ यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बिच प्रत्यक्ष भेटघाट तथा छलफल हुनुका साथै स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने छ ।’

लक्ष्मी-सनराइजको एकीकृत कारोबार साउनमा, डीडीए रिपोट आउन ढिलाइ

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जर प्रक्रिया अर्काे आर्थिक वर्षमा मात्रै टुंगिने भएको छ । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्ट आउन बाँकी रहेकाले अर्काे आर्थिक वर्षमा मात्रै दुवै बैंको मर्जर सम्पन्न हुने भएको हो । चालू आर्थिक वर्षमै एकीकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकले लिएका थिए । तर, डीडीए रिपोर्ट ढिलो आएपछि साउनमा मात्रै एकीकृत कारोबार गर्ने तयारी रहेको लक्ष्मी बैंकका सञ्चालक दिनेश पौडेलले बताए । ‘दुवै बैंकको डीडीए रिपोर्ट आउन बाँकी छ, बैशाखको दोस्रो सातासम्म डीडीए रिपोर्ट आउनु पर्ने हो, यदि डीडीए रिपोर्ट ढिलाे भयाे भने जेठ भित्रै मर्जर सम्पन्न गर्न कठिन हुनछ,’ उनले भने । सञ्चालक पौडेलका अनुसार अहिले बैंकिङ्ग क्षेत्रको अवस्था नाजुक रहेकाले असारमा कर्मचारीलाई रिकभरीमा जोड गराइनेछ । असार मसान्तमा कर्मचारीलाई कामको चाप पर्ने भएकाले साउनमा मात्रै मर्जर सम्पन्न हुने उनले बताए । ‘बैंकिङ्ग क्षेत्रको अवस्था अहिले नाजुक छ, बैंकका कर्मचारीलाई रिकभरीमा जोड दिन भन्छौं, असारमा एकीकृत कारोबार गर्दैनौं, साउनमा मात्रै मर्जर गर्छाैं,’ उनले भने । राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि गत फागुन पहिलो साता सैद्धान्तिक सहमति दिएको थियो । राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमतिको ३ महिनाको समय बैशाखमा सकिँदैछ । समयमा मर्जर प्रक्रिया सम्पन्न हुन नसकेपछि समय थपका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्ने तयारीमा दुवै बैंक छन् । लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपात कायम रहने बताइएको छ । तर, दुवै बैंकको विस्तृत डीडीए रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुनेछ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सहमति भएको छ । मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको बताइएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् । ‘लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको छ, सोही अनुसार मात्रै बैंकले मर्जर सम्झौता गरेको हो,’ लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले भने । मर्जरमा विवाद शुरू लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेपनि सनराइज बैंकले विभिन्न लफडा निकालिरहेको स्रोतले बताएको छ । यदि बैंकले कुनै लफडा श्रृजना गरे आफूहरु मर्जरबाट हात झिक्ने लक्ष्मी बैंक स्रोतको भनाइ छ । ‘सनराइज बैंकको सञ्चालक समितिमा रहेकाे द्वन्द्वले पनि समस्या पारेकाे छ । उनीहरुको बैठक नै बस्न सकेको छैन, सनराइजले दाबी गर्ने बित्तीकै सबै पाउँछ भन्ने छैन, मैले पनि प्रधानमन्त्रीको कुर्सीमा दाबी गर्छु नी, दाबी जसले पनि गर्न पाउँछ तर पाउने की नपाउने भन्ने हुन्छ,’ उनले भने । मर्जर प्रक्रिया चलिरहेका बेला सनराइज बैंकले कर्मचारी बढुवा गरेको छ भने मर्जरपश्चात् घटाउने उनले बताए । साथै, लक्ष्मी बैंकले मर्जरमा कुनै कम्प्रमाइज नगर्ने उनको भनाइ छ । ‘बढुवा भएका सबै कर्मचारीको पद घटाउँछौं, यदि मान्नु भएन भने निकाल्छौं, यसलाई छलफलका माध्यमबाट समाधान गर्छाै, लक्ष्मी बैंकले कम्प्रमाइज गर्दैन, अलिकति पनि तलमाथि गरेको छ भने हामी मर्जर नै गर्दैनौं,’ उनले भने, ‘यदि अलिकति पनि लफडा भयो भने तपाईहरु जिम्मेवार हुनुपर्छ भनेर राष्ट्र बैंकलाई नै भनेका छौं, सनराइज बैंकको बोड बैठक नै अफिसमा बस्न नसकेर गभर्नरको अफिसमा बोलाएर बैठक बसेको थियो, यति धेरै लफडा भएको बैंकलाई हामीले लिन खोजिरहेका छौं ।’ सनराइज बैंकले बार्गेनिङ पावर बढाउनका लागि लफडा श्रृजना गरिरहेको उनले बताए । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा.मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् ।

सिटी एक्सप्रेसले राष्ट्रिय अपाङ्ग कोषलाई दियो ५ लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको हाे । सिटी एक्सप्रेसले कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले उक्त रकम सहयोग गरेको हो । विस २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोष देशभरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेकाे काेष हाे । कोषले वार्षिक १५ सय अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने प्रतिबद्धता व्यक्त गरेका थिए । जसअनुसार हालसम्म देशभरका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् भने केही जिल्लामा बाँकी रहेको भएपनि विद्यार्थी भर्ना अभियान जारी रहँदासम्म सबैले प्राप्त गरिसक्नेछन् । विगतका वर्षमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपाउने अवस्था यसपटक भने अन्त्य भएको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको केन्द्रका अनुसार वैशाख १० गतेसम्म देशभरका सबै विद्यालयमा पुस्तक पुगिसक्नेछन् । केन्द्रका अनुसार कूल ५९ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीले करिब शतप्रतिशत नै पाठ्यपुस्तक पाएका छन् भने १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पु¥याइनेछ । पुस्तकको अनुहार नै देख्न नपाइ परीक्षा दिनुपर्ने विगतको समस्या यसपटक भने विद्यार्थीले भोग्नु नपर्ने केन्द्रको भनाइ छ । सरकारले यस वर्षका लागि कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक निजी क्षेत्र र कक्षा छदेखि १०सम्मको पाठ्युपस्तक छपाइको जिम्मा केन्द्रको थियो । निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार कूल एक करोड १२ लाख ५६ हजार थान पुस्तक सम्बन्धित विद्यालयमा पु¥याइरहेको छ । जनक शिक्षाले एक करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरणको काम समेत सम्पन्न गरिसकेको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलुकमार झा यसपटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री दाहालको निरन्तरको चासो र सहजीकरण भएको बताउनँछन् । ‘प्रधानमन्त्रीको निर्देशनपछि प्रधानमन्त्री कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सहजीकरण गरिदिनुभयो’, उनले भने, ‘फलस्वरुप हामीले २४सै घण्टा छपाइ गरी समयमै पुस्तक पु¥याउन सक्यौँ ।’ उनका अनुसार २०४६ सालको बहुदलपछि पहिलो पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न सकेका हुन् । ‘हरेक वर्ष समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै संसदीय समितिले चासो व्यक्त गर्दथे । सञ्चारमाध्यममा समेत सोही विषयले प्राथमिकता पाउँथे, यसपटक हामीले समयमै काम सम्पन्न गर्न सक्यौ’, प्रबन्ध निर्देशक झाले भने । समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारण समयमै काम हुन सकेको उनको भनाइ छ । आज पाठ्यपुस्तक छपाइ र बिक्री वितरणको अवस्थाका बारे जानकारी लिन प्रधानमन्त्री सचिवालय र सञ्चारकर्मीको समूह पुग्दा केन्द्रका अधिकांश छापाखाना सञ्चालनमा थिए । तराईका केही जिल्लामा पुस्तक लैजान केही ट्रक तयारी अवस्थामा थिए । केन्द्रका अनुसार हाल अनिवार्य विषयको छपाइ सकाएर ऐच्छिक विषयका पाठ्यपुस्तकको छपाइ भइरहेको छ । प्रबन्ध निर्देशक झाका अनुसार हाल २४सै घण्टा करिब पाँच सय कामदारले छपाइको काम गरिरहेका छन् । कागज ढुवानीमा कुनै समस्या छैन भने आगामी वर्षका लागि सरकारीस्तरमा नै कागज खरिदका लागि आवश्यक अनुमति पनि प्राप्त भइसकेको छ । ‘मनि, म्यानपावर, म्यानजेमेन्ट र मेशिनको सन्तुलित प्रयोगले गुनासोरहित तवरले कामसम्पन्न भएको हो’, प्रबन्ध निर्देशक झाले भने, ‘प्रधानमन्त्रीले नै चासो राखेर आवश्यक निर्देशन दिनुभएका कारण यसपटक कुनै पनि गुनासो सुन्नु परेन ।’ केन्द्रका अनुसार हाल सोलुखुम्बुका केही विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी छ । त्यस्तै, धनकुटा, मोरङ, सुनसरी र झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, देलेख, सुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा सबै विद्यालयमा यही वैशाख १० गतेभित्रै पाठ्यपुस्तक पुर्‍याइनेछ । भर्ना अभियानसँगै छिटफुट बाँकी रहेका केही जिल्लाका विद्यालयमा समेत पाठ्यपुस्तकको बिक्री वितरण भइसक्ने केन्द्रको दाबी छ । केन्द्रले हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पालगायतका जिल्लामा यसपटक पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक पठाइएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी क्षेत्रका १३ वटा छापाखानाले पाठ्यपुस्तक छापेर बिक्री वितरण गरिसकेका छन् । केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालका अनुसार सरकारले यसपटक सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको जानकारी दिए । ‘जनक शिक्षा र निजी क्षेत्र दुवैले यसपटक तोकिएको जिम्मेवारी समयमै काम पूरा गरेका कारण कुनै गुनासो आएको छैन’, महानिर्देशक अर्यालले भने, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले हामीलाई समयमै मार्गनिर्देशन गर्नुभएका कारण पनि हामीले सफलता हासिल गरेका छौँ ।’ उनले आगामी दिनमा पनि यही सकारात्मक अनुभवलाई अगाडि बढाउने लक्ष्यका साथ काम गर्ने बताए । महानिर्देशक अर्यालका अनुसार निजी क्षेत्रले एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरेको छ । ‘पाठ्यपुस्तकबारे अहिलेसम्म कही कतैबाट पनि गुनासो आएको छैन । हिमाली, पहाडी तथा तराईका जिल्लामा पनि सहज रुपमा बिक्री वितरण भइरहेको छ’, महानिर्देशक अर्यालले भने । रासस

सरकारी सर्भरमा समस्या, राजश्व संकलन प्रभावित

काठमाडौं । सरकारी सर्भरमा समस्या देखिदा राजश्व प्रभावित भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार एक सूचना जारी गर्दै सर्भरमा प्राविधिक समस्या देखिदा रावश्व संकलन प्रभावित बनेको जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट सञ्चालित प्रणालीहरु आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीहरुमा केही प्राविधिक समस्या देखिएकोले सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रणालीहरु सञ्चालन हन नसकेकोले यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गदछाैँ ।’ राजश्व सम्बन्धि सर्भरले दिउँसो सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म काम नगर्दा राजश्व संकलनसँगै सरकारी चेक सटहिमा समेत समस्या देखिएको जनाईएको छ । दिउँसो १ बजेदेखि समस्या हटेपनि एकैपटक धेरैले सर्भर चलाउँदा पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो ।

२३ अंकले घट्यो नेप्से, तीन कम्पनीमा सर्किट

काठमाडौं । सोमबार सेयर बजार २३.६४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से सूचक घटेर १९०८.०४ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै गिरावट आएको छ । आजको कारोबारमा कूल ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर ९२ करोड ७८ हजार पाँच सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड दुई लाख ४३ हजार छ सय ४२ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट चार करोड ३३ लाख ३६ हजार पाँच सय, एनआइसी एशिया बैंक तीन करोड ११ लाख ५६ हजार सात सय ४३, माछापुच्छ्रे बैंक दुई करोड ६७ लाख छ हजार सात सय ४० र हिमालयन डिस्टिलरी दुई करोड ६३ लाख सात हजार सात सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरु क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर रहेको छ । आदर्श लघुवित्तको प्रति कित्ता सेयर मूल्य १४३ रुपैयाँ, कालिन्चोक दर्शनको ५५.१० रुपैयाँ र मोलुङ हाइड्रोपावरको १७ रुपैयाँले वृद्धि भएको छ । यस्तै, सनराइज ब्ल्यूचिप फण्ड छ दशमलब २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको सेयर मूल्य चार दशमलब १० प्रतिशतले घटेको छ ।