सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैशाख ५ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयरमा विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा निर्माणाधिन विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ सोमबार जोडिएको हो । आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले एक सय ९६ मिटर ठाडो सुरुङ जोडिएको जानकारी दिए । ‘विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो,’ उनले भने, ‘सबैभन्दा कठिन मानिएको ‘भर्टिकल प्रेसर साफ्ट’ को पनि आज ‘ब्रेक थु्रु’ भएको छ ।’ सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये तीन सय ७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । छ हजार दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म चार हजार तीन सय ३४ मिटर निर्माण सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षणगरी आयातको प्रक्रिया अघि बढाइएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तिब्रताका साथ भैरहेको छ । घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । रासस
कुमारी बैंकका ग्राहकले मासिक किस्तामा मेसिनरी सामाग्री किन्न सक्ने
काठमाडौं । कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यो सहकार्य गरेको जनाएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
होण्डा नयाँ वर्ष स्किम : एक लाखको कुपनदेखि दुई वर्षसम्मको फ्रि सर्भिसिङसम्म
काठमाडौं । नेपालको लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा नयाँ उपहार योजना ल्याएको छ । कम्पनीले यस अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको हो । योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने स्क्रायच कुपनसँगै ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्रि सर्भिसिङ्ग वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनुअल मेन्टिनेन्स् कन्ट्र्याक ९एएमसी० मध्ये कुनै एक स्किम रोज्न सकिने छ । याँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको जनाएको छ । हाल होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।
तीन जहाज खरिद गर्दै नेपाल एयरलाइन्स
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ । यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ । तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ । उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताउनुभयो । पर्यटन प्रवद्र्धन र सन्तुलित हवाइ बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ ।
थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेशन, सात जना आइसीयु र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् । राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिएको थियो । परिवार कल्याण महाशाखाअन्र्तगत बालस्वास्थ्य तथा खोपसेवा शाखाको प्रमुख डा अभियान गौतमले भने, ‘हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले तीन लाख मात्र मौज्याद छ । बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।’ डा गौतमले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह गरेका छन् ।
त्रिभुवन विमानस्थलमा सहायता कक्षदेखि फरक क्षमता भएकालाई बेग्लै लाइन
काठमाडौं । पछिल्ला दिनमा तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ भने विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ‘मे आई हेल्प यू’ ज्याकेट लगाएका स्वयंसेवीले पहिलो प्रश्न गर्नेछन् । प्रश्नसँग नडराउनुहोला किन कि ती प्रश्नहरू तपाईंको जिज्ञासा र सहजीकरणका लागि हुनेछन् । हो अहिले मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फरक दृश्यहरू देख्न सकिन्छ । विमानस्थलको सेवा सुदृढीकरणका केही छनक पनि भेटिन्छन् । अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो तस्बिरले विमानस्थल भएर यात्रा गर्ने र विमानस्थल पुग्ने जो कोहीको ध्यान खिचेको हुन्छ । विदेशी नागरिक नेपाल प्रवेश गर्ने प्रमुख नाका तथा नेपालको पहिलो झझल्को दिने पनि अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यात्रुको सेवा र सन्तुष्टिलाई मध्यनजर गर्दै विमानस्थलले विभिन्न सुधारका काम गरिरहेको छ । विमानस्थलको सेवा गुणस्तर र स्तरोन्नतिका काम तीव्ररूपमा अघि बढाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनले भने, ‘हामी यात्रुको सन्तुष्टिका लागि सेवालाई छिटो, छरितो र स्तरीय बनाउन साना साना सुधारका काममै बढी केन्द्रित छौँ, अत्यावश्यक उपकरण र डिजिटलाइजेसनको कामलाई पनि सँगै अघि बढाइएको छ ।’ महाप्रबन्धक तिवारीका अनुसार वैशाख १ गतेदेखि विमानस्थलमा ‘नमस्ते नेपाल’ लिखित सहायता कक्ष ‘हेल्प डेस्क’, बाट ‘मे आई हेल्प यू’ लेखिएको ज्याकेट लगाएका जनशक्तिबाट टर्मिनल गेट, टिकट उडान जानकारी र उडानसम्बन्धी ‘अनाउन्समेन्ट’, ब्यागेज, ह्वीलचेयरसम्बन्धी सेवा, इन्टरनेट लगिन, वेइजिङ मेसिनलगायतका सुविधासम्बन्धी जानकारी दिने एवं आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै ह्वीलचेयर यात्रु, ज्येष्ठ नागरिक, गर्भवती, बालक, फरक क्षमता भएका अशक्तका लागि प्राथमिकता दिने गरी अलग्गै लाइनको व्यवस्था मिलाइँदै छ । टर्मिनल चेक–इनभित्र आफन्त यात्रुको सहयोगका लागि प्रवेश गर्न आवश्यक यात्रुका आफन्तलाई सुरक्षाको मापदण्ड पूरा गर्ने गरी प्रवेशका लागि सहायता कक्षका कर्मचारीले प्रवेश पासका लागि पनि सहजीकरण गरिदिने व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरणका लागि पटक पटक आकस्मिक तथा औपचारिक निरीक्षण गरी सरोकारवाला अधिकारीसँग छलफल गर्दै आएका छन् । पछिल्लो पटक पर्यटनमन्त्रीले विमानस्थलको सेवासँग जोडिएका एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेपछि विमानस्थलले क्रमशः सुधारका काम थालेको हो । विमानस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी तथा विमानस्थलमा खटिने उच्च कर्मचारीसँग विमानस्थलमै पुगेर मन्त्री किरातीले विमानस्थलमा पछिल्ला दिनमा भइरहेका गतिविधिबारे चासो राख्दै समाधानका लागि सम्बन्धित निकायलाई ताकेता गरिरहेका छन् । विमानस्थलमा दैनिक सबै क्षेत्रका कर्मचारी सम्मिलित ‘इन्सपेक्सन टीम’ परिचालन गरी, कमीकमजोरी सुधार गर्ने क्रम जारी रहेको महाप्रबन्धक तिवारीले उल्लेख गरे । विमानस्थलभित्र ‘एयरसाइड’ सुरक्षा सुदृढ गर्ने सम्बन्धमा सम्बन्धितबाट नै सुधारका कार्ययोजनासहितको प्रतिवेदन बुझी उनीहरूबाटै सीमाभित्रैका कार्यान्वयनको प्रतिद्धबता लिने गरिएको छ । दैनिक कामको अभिलेख विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राख्ने गरिएको छ । विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजनाका साथ काम भइरहेको महाप्रबन्धक तिवारीले बताए । वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नुपर्ने कामको योजना बनाइनेछ । देशको ऐनाको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन पर्यटन मन्त्रालयले विशेष चासो दिएको छ । पर्यटनमन्त्रीले हालै विमानस्थलमा ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङबारे, सरसफाइ अभियानलगायत प्रश्न विमानस्थलका अधिकारीलाई गरेका थिए । मन्त्री किरातीले ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे जानकारी मागेका थिए । महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ । आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धति विकास भएको छ । ‘विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु’, महाप्रबन्धक तिवारीले भने । यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको तथा ट्रली सुधारका लागि प्रक्रिया अघि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस
युवा उपभोक्ताहरूको छनौटमा भिभो
काठमाडौं । स्मार्टफोन निर्माताहरू उचित मूल्यमा उत्कृष्ट सुविधा तथा विशेषताहरू भएका स्मार्टफोनहरु निर्माण गर्दै उपभोक्ताका विभिन्न आवश्यकताहरू पूरा गर्न निरन्तर प्रयासरत छन् । यो लक्ष्य हासिल गर्नका लागि, धेरै उत्पादकहरूले ‘कम मुल्यमा धेरै’ भन्ने बजारिकरण रणनीति अपनाएका छन्, जसले उपभोक्ताहरूलाई सुलभ मूल्य बिन्दुमा थप सुविधाहरू र क्षमताहरू भएका उपकरणहरू प्रदान गर्ने लक्ष्य राखेका छन् । यस प्रवृति अनुरुप, २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले सुविधायुक्त तथा सुलभ मुल्य दायराका स्मार्टफोनहरूका लागि लोकप्रियता हासिल गरेको छ । भिभोसँग नेपालमा बजेट–अनुकूल स्मार्टफोनदेखि फाइभजी कनेक्टिभिटी, उच्च रिजोल्युसन क्यामेरा र शक्तिशाली प्रोसेसरहरू जस्ता उत्कृष्ट विशेषता भएका स्मार्टफोनहरू छन् । अफलाइन रिटेल बजारमा पनि आफ्नो उपस्थितिलाई बलियो बनाउँदै भिभोका स्मार्टफोनहरू देशभरका विभिन्न रिटेल स्टोर र आउटलेटहरूमा उपलब्ध छन् । कम्पनीले अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसन (इआईएस) जस्ता नवीन विशेषताहरु ल्याउन अनुसन्धान र विकासमा महत्वपूर्ण लगानी गरेको छ । यसबाहेक, बजारमा पहिलो इन–डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी ल्याएर भिभो विश्वव्यापी दर्शकहरूको ध्यान खिच्न सफल भएको थियो । भिभोका उत्पादनहरूमा प्रायः शीर्ष विशेषताहरु र उत्कृष्ट सुविधाहरू छन् जसले प्राविधिक जानकार उपभोक्ताहरूलाई आकर्षित गर्दछ । भिभोका उत्पादनहरु ट्रेन्डी, स्टाइलिस र सुलभ छन जसकारण यसलाई युवा केन्द्रित ब्रान्ड मानिन्छ । भिभोले युवाहरूमाझ लोकप्रिय गतिविधिहरू, जस्तै सांगितीक उत्सवहरू, खेलकुद प्रतियोगिताहरू, र गेमिङ प्रतियोगिताहरू प्रायः प्रायोजित गर्ने साथै प्रभावकारी कलाकारहरुसंग सहकार्य गर्दै आइरहेको छ । यसका साथै, सामाजिक सञ्जाल, फोटोग्राफी र भिडियो सामग्री निर्माणका लागि स्मार्टफोनको बढि प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि भिभोले उच्च स्तरीय क्यामेरा प्रविधि र अन्य विशेषताहरु ल्याएको छ जसले उनीहरुको आवश्यकता र प्राथमिकतालाई पूरा गर्नेछ । भिभो विशेष गरी भी सिरिजमा ब्लगरहरू र भ्लगरहरूमाझ लोकप्रिय छनोट बनेको छ । भिभोको भी सिरिजका स्मार्टफोनहरूमा उच्च रिजोल्युसन फ्रन्ट र रियर क्यामेराहरू र दृश्य पत्ता लगाउने एआई, नाइट मोड र पोट्र्रेट मोड जस्ता उत्कृष्ट फोटोग्राफी विशेषताहरु छन् । यसको उत्कृष्ट क्यामेरा टेक्नोलोजी बाहेक, भिभोले ब्लगरहरू र भ्लगरहरूका लागि अन्य बहुमूल्य सुविधाहरू प्रदान गर्दछ । उदाहरणका लागि, भिभोका भी सिरिजका स्मार्टफोनहरूले ठूला डिस्प्लेहरू प्रदान गर्छन् जुन फोटो र भिडियोहरू हेर्न र सम्पादन गर्नका लागि उपयुक्त हुन्छन् । साथै यसमा छिटो चार्ज गर्ने प्रविधिहरु छ जसले प्रयोगकर्ताहरूलाई आफ्ना फोनहरू छिट्टै चार्ज गर्न मद्दत गर्दछ । भिभो वाई सिरिजका स्मार्टफोनहरू उच्च स्तरीय प्रदर्शन र सुलभ मूल्यका कारण गेमिङका लागि युवाहरूमाझ पनि लोकप्रिय छन् । वाई सिरिजका स्मार्टफोनहरुमा दु्रत प्रोसेसरहरू, ठूला स्क्रिनहरू, राम्रो ब्याट्री जीवन तथा गेम मोडहरु छन् जसले प्रयोगकर्ताको गेमिङ अनुभव बढाउँछ । यसबाहेक, भिभोले लोकप्रिय गेम विकासकर्ताहरूसँग उनीहरूको गेमहरू भिभो उपकरणहरूका लागि अप्टिमाइज गर्न सहकार्य गरेको छ, जसले गेमरहरू बीचवाई सिरिजको लोकप्रियता बढाउन मद्दत गरेको छ । समग्रमा भन्नुपर्दा नवाचार, अत्याधुनिक प्रविधि, र युवा लक्षित रणनीतिहरूमा भिभोले विशेष ध्यान दिएको कारण यसलाई नयाँ र उत्कृष्ट उत्पादनहरू खोज्ने नयाँ पुस्ताका उपभोक्ताहरूमाँझ लोकप्रिय ब्रान्ड बनाउँछ ।