काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
‘अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ,’ उनले भने ।
यस्तै, उनले निजी क्षेत्रको समस्या सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनन गर्न तयार रहेको पनि बताए । ‘निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार छ,’ उनले भने ।
उनले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएपनि केही नहुने अवस्थामा सरकार नपुगेको बताए । उनले भएका केही अप्ठ्याराहरु सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले सरकारले जसरी काम गर्नुपर्ने हो त्यो हुन नसकेको बताए । ‘देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु, सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौति छ,’ डा. महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’