विकासन्युज

चितवनको दुई केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा  रोकिएको मतदान सुरु भएको हो ।

उधोग क्षेत्रले वातावरणमा पारेको असरको न्यूनीकरणबारे छलफल

काठमाडौं । उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उधोग क्षेत्रले वातावरणमा पारेको असरको न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा छलफल भएको छ । छलफलमा उद्योग परिसंघ, विभिन्न उधोगीहरु, सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरुमा उधोग क्षेत्रबाट पर्न सक्ने असर न्युनुकरणका विषयहरुलाई समावेश गर्नु पर्ने मन्त्रालयका सचिव डा। तोय नारायण ज्ञवालीले बताएका थिए । त्यसैगरी एआइए/आइईई स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिबेदनमा उल्लेखित मिटिगेसन मेजर पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने विषयमा पनि छलफल भएको थियो । त्यस्तै, मन्त्रालयले पर्साको सिर्सिया नदीमा प्रदुषण नियन्त्रणका लागि परियोजना संचालन गर्ने बिषयमा पनि छलफल भएको थियो । छलफलमा उपस्थित उधोगीहरुले उधोगमा देखिएको विभिन्न समस्याहरुको बारेमा मन्त्री रिजाललाई जानकारी गराएका थिए । मन्त्री रिजालले आफु उधोगीहरुकै पक्षमा रहेको भन्दै समस्या समाधानका लागि हर प्रायस गर्ने बताए ।

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए । गाउँमै गहुँको राम्रो मूल्य पाइयो, ‘हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ’, कृषक चौधरीले भने, ‘खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।’ खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय रुपैयाँ ५१ रुपैयाँपैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारदेखि चार हजार दुई सय रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको छ । ‘विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्’ किसान चौधरीले भने, ‘त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ ।’ किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन् । गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन । उक्त संस्थाले गत चैत १४ मा मूल्य निर्धारण गरेर १६गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए । ‘हाम्रोभन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन’, उनले भने, ‘त्यसैले यो निर्णय पुनःविचार गर्न आग्रह गरेका छौँ, गहुँको चलनचल्तीको मूल्य रु चार हजार उल्लेख गरेर पठाएका छौँ ।’ कञ्चनपुरमा यसवर्ष ३२ हजार दुई सय १० हेक्टर जमिनमा गहुँखेती गरिएको छ । यसपटक जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बिउँबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ‘यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन’, उनले भने, ‘समयमै सिँचाइ र उन्नत बीउँको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’ यसवर्ष तीनदेखि साढे तीन मेट्रिकटन प्रतिहेक्टर गहुँ उत्पादन हुने केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ । गतवर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेकामा ९४ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँखेती हुने गरेको छ । रासस  

विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

काठमाडौं । अनिश्चित विद्युत कटौतीले उद्योगमा लाखौंको घाटा भएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्नुको साथै भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने उनीहरुको माग छ । संघले पटकपटक ध्यानाकर्षण गरेपनि सम्बन्धित निकायले वास्ता नगरेको कारण प्राधिकरण घेराउ गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका र गोल्यन समुहका अध्यक्षसमेत रहेका पवन गोल्यानले बिना जानकारी विद्युत कटौती हुँदा आफ्नो मिललाई दैनिक ३० देखि ४० लाख रुपैयाँ घटेको बताउँछन् ।

लुम्बिनीमा बुद्धजयन्तीको तयारी गरिँदै

रुपन्देही । बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए । वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष पीपलको रुख मुनि बुद्धत्व प्राप्त गरेका थिए । वैशाख शुक्ल पुर्णिमाकै दिन उनको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरेका थिए । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइछ । आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो । विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताए । “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उनले भने । नियमित रुपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उनले बताए । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षरोपण गरिने बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए । विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । रासस

चितवनका दुई केन्द्रमा मतदान स्थगित

काठमाडाैं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । भोजाडमा करिब दुई घण्टा र कृष्णपुरमा आधा घण्टादेखि मतदान रोकिएको छ ।

उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

  काठमाडौं । बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताइन् । यसैबीच निर्वाचन विथोल्ने कार्य गरेको भन्दै देवताल गाउँपालिका–७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउपर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका–४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका–१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका–४ निवासी ३५ वर्षीय उमेश यादवे, प्रसौनी गाउँपालिका–४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका–७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिए । उक्त क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

नयाँ स्टकका लागि व्यवसायिक घरानाबीच प्रतिस्पार्धा, यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी

काठमार्डौं । नयाँ स्टक एक्सचेञ्जका लागि व्यवसायिक घरानाहरुबीच प्रतिस्पर्धा देखिएको छ । हिमालयन स्टक एक्सचेञ्जपछि नेशनल स्टक एक्सचेन्जको पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार आइतबार नेशनल स्टक एक्सचेन्जको आइतबार आवेदन परेको हो । ‘अहिलेसम्म दुइटा कम्पनीको मात्रै आवेदन परेको छ, समय साँझ पाँच बजेसम्म छ,’ हमालले विकासन्युजसँग भने । देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ । यस स्टककमा बैंक र बीमा क्षेत्रका लगानीकर्ताहरुसागै अधिकांश गैर आवासीय नेपालीहरु लगानीकर्ताका रुपमा रहेका छन् । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।