काठमार्डौं । नयाँ स्टक एक्सचेञ्जका लागि व्यवसायिक घरानाहरुबीच प्रतिस्पर्धा देखिएको छ । हिमालयन स्टक एक्सचेञ्जपछि नेशनल स्टक एक्सचेन्जको पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार आइतबार नेशनल स्टक एक्सचेन्जको आइतबार आवेदन परेको हो । ‘अहिलेसम्म दुइटा कम्पनीको मात्रै आवेदन परेको छ, समय साँझ पाँच बजेसम्म छ,’ हमालले विकासन्युजसँग भने ।
देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ । यस स्टककमा बैंक र बीमा क्षेत्रका लगानीकर्ताहरुसागै अधिकांश गैर आवासीय नेपालीहरु लगानीकर्ताका रुपमा रहेका छन् ।
हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् ।
नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ ।
यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।