हिमालयन र नेशनलपछि अन्नपुर्ण स्टक एक्सचेञ्जले पनि दियो आवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको अनुमतिका लागि तेस्रो कम्पनी पनि नेपाल धितोपत्र बोर्डमा पुगेको छ । धितोपत्र बोर्डका अनुसार अन्नपुर्ण स्टक एक्सचेञ्ज पनि इजाजतपत्र (लाईसेन्स)को अनुमतिका लागि आवेदन दिएको हो । यसअघि हिमालयन स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जले अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेका छन् । हिमालयन स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जले आवेदन दिएपश्चात् अन्नपुर्ण स्टकले पनि आवेदन दिएको बताइएको छ । नयाँ स्टकको अनुमतिका लागि आवेदन दिने समय साँझ पाँच बजेसम्म छ । देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।
पिताजीको सपना पुरा भयो, अब छोरीले नर्भिक सम्हाल्छे : वसन्तकुमार चौधरी
काठमाडौं । नर्भिक अस्पतालका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय बुबाले दखेको सपना पुरा भएको बताएका छन् । अस्पतालको ३० औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ,’ उनले भने । स्वास्थ्य विज्ञानमा नयाँ नयाँ सम्भावनाहरु थपिएसँगै चुनौतीहरु पनि बढ्दै गएका उनले बताए । यस्तै, उनले अब आफ्नी छोरी मेघा चौधरीलाई निर्भिक हाँक्न जिम्मेवारी दिने बताए । हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र विस्तार गर्दै अगाडि बढ्ने बताइन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन्, नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ, अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं,’ उनले भनिन् । कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । औपचारिक समारोहअगाडि आयोजित सिएमई(कन्टीन्यूअस मेडिकल एजूकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमशः विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।
अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए । उतारचढावलाई स्वीकार गर्दै व्यवसायी अघि बढेको उनले उल्लेख गरे । अर्थतन्त्रमा भएको असहजतालाई सहजीकरण गर्ने विषय राज्यले सोच्ने उनले बताए । ‘अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो,’ उनले भने । गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । लगानीयोग्य रकम बढेकाले उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव नहुने उनको भनाइ छ । ‘तपाईंहरू चिन्ता नगर्नुस्, तपाईंहरू ठूला आयोजना निर्माण गर्नुस्, बैंकहरू लगानी गर्ने स्थितिमा छन्,’ उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो, त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।’ गभर्नर अधिकारीले बैंकहरूसँग २ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी रहेको बताए । अर्थतन्त्र बिग्रियो भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ, सीडी रेसियोबाट हेर्दा बैंकहरूसँग २ खर्ब लगानीयोग्य पुँजी छ,’ उनले भने । ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको पनि उनले बताए । उनले गएको वर्ष झन्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको बीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे । उनले मासिक दशौँ अर्ब रुपैयाँको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने गरेको जानकारी दिए । यसले प्रविधिका क्षेत्रमा पनि महत्त्वपूर्ण सुधारको संकेत गरेको उनले बताए । उनले हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्ब रुपैयाँको भुक्तानी भइरहेको जानकारी दिए । ‘ई–कमर्स र डिजिटल पेमेन्टलाई सघाउ पुगोस् भनेर डलर कार्ड ल्याएका छौँ, धेरै मान्छेलाई फाइदा पुगेको छ,’ उनले भने । नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक प्रक्रिया समेत डिजिटल माध्यममा ल्याइएको उनले बताए । गर्भनर अधिकारीले ब्याजदर मात्र ठूलो समस्या नभएको बताए । उनले २०५६/५७ सालअघि कर्जाको ब्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे । अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको उनले बताए । ब्याज भोलिको दिनमा घट्ने भन्दै उनले यसलाई समस्याका रूपमा नलिन आग्रह गरे ।
सगरमाथा आधार शिविरमा आरोहीको ओइरो
काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका हुन् । उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले पनि विभागबाट धमाधम आरोहण अनुमति लिइरहेका छन् । केही आरोही बीचबाटोमा छन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले हालसम्म सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए । उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए । यो सिजनमा सगरमाथा आरोहणका लागि उत्साहवद्र्धकरुपमा धमाधम आरोही आइरहेको उनले उल्लेख गरे । सगरमाथा आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविर भन्दामाथि पर्वतारोहण सञ्चालक सङ्घ एक्सपीडिसन अपरेटर्स एशोसिएसन०ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो सिजनमा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो । एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका छन् । केही आरोही बीचबाटौमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका उल्लेख्य सङ्ख्याका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताउनुभयो । सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवद्र्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताउनुभयो चौथो आधार शिविर नजिक बाटो पुग्यो वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउनेक्रममा चौथो आधार शिविर नजिक बाटो खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको तेस्रो शिविरभन्दा माथि येल्वो मेन्ड भन्ने स्थानसम्म बाटो बनिसकेको छ । शुक्रबारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीनदिनदेखि आराम गरिरहेको निर्देशक शेर्पाले बताउनुभयो । उनले भने, ‘अहिले सगरमाथाको मौसम राम्रो छैन त्यसैले बाटो बनाउनेहरु रेस्टमा छन् । अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो, तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एक/दुई दिनमै काम पुनःसुरु हुन्छ ।’ सगरमाथा आरोहणको यो सिजनमा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ जना दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । तथापि यो सिजनमा सगरमाथाको दोस्रो शिविरमाथितिर हालै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उहाँको भनाइ छ । मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने मौसमले साथ दिएको खण्डमा आगामी मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरु आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् । एसपिसिसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरकफरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ । विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपिसीले बाटो बनाउँद आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइ रहेका छन् । नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रसियाका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र विदेशी सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएकी छिन् । उनी वसन्त ऋतुको यो सिजनमा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कीएकी छिन् । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार हालसम्म छ हजार पाँच सय सात आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को सङ्ख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् । एक तथ्याङ्कअनुसार हालसम्म तीनसयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । रासस
निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह
कञ्चनपुर । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा परेको भन्दै स्थानीय तहले सो कार्य रोक्न प्रयास थालेका हुन । भीमदत्त नगरपालिकाले संस्थागत विद्यालयको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि गर्न नपाइने निर्णय गरेको छ । नगरभित्रका निजी विद्यालयलाई शैक्षिक सत्र २०७९ को शुल्कभन्दा बढी नहुने गरी कायम गर्न निर्देशन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए । ‘बर्सेनि हुने शूल्क वृद्धि र पुस्तक परिवर्तनले अभिभावक मारमा परेका थिए’, उनले भने, ‘सोहीअनुसार गत वर्ष प्रयोग भएका पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने र शुल्क पनि गत वर्षभन्दा बढी नलिन भनेका छौँ ।’ उहाँका अनुसार पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा नगरपालिकाको पूर्व–स्वीकृत लिनुपर्ने छ । यस वर्ष कक्षा ५, ८ र १० को पाठ्यपुस्तक परिवर्तन हुने छ । त्यसबाहेकका पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने जोशीले बताए । पाठ्यपुस्तकमा कुनै त्रुटि देखिए परिवर्तन गर्न सकिने छ । विद्यालयहरुले महँगी र सुविधा थप गरिएको भन्दै वर्षैपिच्छे शुल्क बढाउने गरेका छन् । शुक्लाफाँटा नगरपालिकाले पनि भर्ना शुल्क वृद्धि र पाठ्यपुस्तकको प्रकाशन परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । चालु शैक्षिक सत्रमा गतवर्ष निर्धारण गरिएको शुल्क लिने र एउटै प्रकाशनका पुस्तक पठनपाठन गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए । ‘विशेष परिस्थिति बाहेक विद्यालयले एउटै प्रकाशनका पुस्तक पठनपाठन गर्नुपर्नेछ’, उनले भने, ‘नगरपालिकाको निर्णय विरुद्ध गएमा कारवाही हुन्छ ।’ संस्थागत विद्यालयले पनि नगरपालिकाले तयार गरेको पाठ्यपुस्तक लागू गर्नुपर्ने उनले बताए । ‘नगरपालिले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक तयार गरेको छ’, उनले भने, ‘स्थानीय पाठ्यपुस्तकलाई संस्थागत र सामुदायिक विद्यालयले पठनपाठन गराउनुपर्छ ।’ संस्थागत विद्यालयलाई असार मसान्तसम्म व्यवसाय दर्ता तथा नवीकरण गर्न समेत नगरपालिकाले निर्देशन दिएको छ । अगामी शैक्षिक सत्रदेखि नगरपालिकाले विद्यालयको शुल्क निर्धारण गर्ने तयारी गरेको छ । ‘विसं २०८१ देखि लागू हुनेगरी नगरपालिकाले विद्यालयको अवस्था हेरेर शुल्क निर्धारण गर्छ’, प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘निर्धारित शुल्क मात्रै विद्यालयले लिन पाउने गरी त्यसको गृहकार्य गरिरहेका छौँ ।’ रासस
त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । सञ्चार उपकरणमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।
किसानले लिएको १५ लाखसम्मको कृषि ऋणको ब्याज तिर्दिन्छौं : मेयर बस्नेत
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख हुन् मोहन बस्नेत । नगरपालिकाको प्रमुख भएर एक कार्यकाल बिताइसकेका बस्नेत ०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत दोस्रो पटक पनि थप लोकप्रिय मतका साथ विजय भएका थिए । दोस्रो पटक निर्वाचित भएका बस्नेतले थप एक वर्षको समय व्यतित गर्न लागेका छन् । पहिलो कार्यकालको अनुभव सहित उनी नगरपालिकाका योजनाहरुको कार्यान्वयनमा व्यस्त छन् । प्रस्तुत छ, उनै नगर प्रमुख बस्नेतसँग विकासन्युजका लागि राजिव न्यौपानेले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश : तपाईं दोस्रो पटक नगरपालिकाको नेतृत्वमा आउनुभएको छ, दोस्रो कार्यकालसहित ६ वर्ष समयको दौरानमा सर्वसाधारणले अनुभूति गर्नेगरी कसरी काम गरिरहनुभएको छ ? हो, म दक्षिणकाली नगरपालिका नगर प्रमुखमा दोस्रो पटक निर्वाचित भएको पनि एक वर्ष पुरा हुन लाग्यो । पहिलो ५ वर्ष र यो एक वर्ष गरी पालिकामा निरन्तर सेवा गरेको ६ वर्ष हुँदैछ । यो अवधिभर हामीले निस्वार्थ रूपले जनताको चाहना र आवश्यकता लाई पुरा गर्दै अगाडि बढिरहेका छौं र जनताले अनुभूति गर्ने खालका काम पनि पालिकामा धेरै गरेका छौं । क्रमशः पूर्वाधार विकासको कामलाई पनि निरन्तरता दिएर अगाडि बढेका छौं । तपाईंहरुले पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको दाबी गरिरहँदा सडकको अवस्थाको विषयमा भने स्थानीयको गुनासो छ नी ? नगरपालिका भित्रका धेरै ठाउँका सडकहरू ढलान भइसकेका छन् । हामीले गाउँ–गाउँमा पुग्ने सडकहरूमा ढलान गरी सक्यौं । अहिले काठमाडौंदेखि दक्षिणकालीसम्म आउने सडक अव्यवस्थित भएको छ । सो सडकमा ठूला–ठूला खाल्डा परेका छन् । जसका कारण यात्रु र चालक दुबैलाई असर पुर्याएको छ । यस सडकको स्तारोन्नती गरी व्यवस्थित सडक बनाउ भन्ने हामी सबैको चाहना छ । यसलाई सम्वोधन गर्नको लागि संघ तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरूसँग पटक पटक छलफल गरेका छौं । अब भने काठमाडौं–दक्षिणकाली सडक कालोपत्रे हुने भएको छ । सो सडक पिच गर्नको लागि सडक विभागले १० करोड रुपैयाँ विनियोजन गरेको छ र सडक कालोपत्रे गर्ने ठेक्का प्रकृया पनि अगाडि बढिसकेको छ । सम्भवतः यही महिनादेखि कालोपत्रे गर्ने कामको सुरु हुन्छ । जसले आवत–जावतमा थप सहज हुने विश्वास लिएका छौं । यस्तै, दक्षिणकाली–हेटौंडा जाने सडक पनि कालोपत्रे हुने भएको छ । सो सडकमार्फत काठमाडौं–दक्षिणकाली मात्र हैन, काठमाडौं–दक्षिणकाली हुँदै दु्रत मार्ग भएर सहज तरिकाले हेटौंडासम्म पुग्न सकिन्छ । सो कामको लागि पनि बजेट विनियोजन भइसकेको छ । अहिलेसम्म नगर भित्रका प्रत्येक ठाउँमा सडक सञ्जाल पुगेको छ । एकै ठाउँमा ५०औं वटा सानातिना सडकहरु रहेका छन् । ती सडकहरुमा पनि ५÷१० लाख लाख रुपैयाँ बराबरका बजेट विनियोजन गरी ढलान गरिएको छ । हामीले नगर क्षेत्र भित्रका सबै सडकको ढलान गरी हिलो मुक्त सडक बनउने कोसिस गरिरहेका छौं । पहिलो कार्यकालमा सडकलाई व्यवस्थित गर्ने क्षेत्रमा धेरै काम गरेका थियौं । त्यसपछि निरन्तर गरेर व्यवस्थित सडकको विकास गर्दै अगाडि बढेका छौं । मैले विश्वासका साथ काम गरिरहेको छु की यो कार्यकालमा पालिका भित्रका सबै सडकहरु व्यवस्थित गर्न सकिनेछ । पालिकाले कृषि क्षेत्रमा वितरण गरेको अनुदानको प्रभावकारितामा उठेको प्रश्नलाई पनि कसरी लिनुभएको छ ? नगरपालिकाले कृषिमा दिएको अनुदान प्रभावकारी हुन सकेन भनेर गुनासो गर्ने पनि हामी नै हौं । अनि अनुदान दिने पनि हामी नै । हामीले दिएको अनुदानको सदुपयोग कतिले गरे भन्ने कुरामा पनि यसको भरपर्छ । हामीले मान्छेलाई अनुदानमुखी बनायौं भन्ने पनि लागेको छ । हामीले उत्पादनमुखी बनाउनमा अनुदान दिनु पर्नेमा अनुदानमुखी मात्र बनायौं । अनुदान प्राप्त हुनेबेलासम्म कृषकको चहलपहल हुने अनि अनुदान दिने र लिनेका काम सकिएपछि बाँकी काम ठप्प हुने जस्तो भएको छ । यस्तो नहोस् भनेर पालिका सचेत पनि भएको छ । हामीले दिएको अनुदानको सदुपयोग कृषकको घरपरिवार पनि चलोस् र आर्थिक वृद्धि गर्नमा पनि सहज होस् भन्ने नगरको चाहाना हो । किसानले उत्पादन गरेर आफ्नो घरपरिवारलाई जिउनको लागि केही काम गर्छ भने मात्र उसलाई अनुदान दिने परिपाटीको विकास यो वर्षदेखि सुरुवात गरेका छौं । जुन कृषकलाई अनुदान दिने हो, उसले उत्पादन गरेको देखिनु पर्यो र, यसपछि पनि उत्पादन गर्ने प्रतिबद्धता जनाउनु पर्यो । बिचमा हाम्रो अनुगमन हुने गरी अनुदान दिन सुरुवात गरेका छौं । अनुदान लिनका लागि मात्र बनेका कृषकलाई अनुदान दिदैनौं । दक्षिणकाली नगरपालिकाले कृषि क्षेत्रको विकासमा राम्रो सम्भावना बोकेको छ । पालिकाले कृषि क्षेत्रको विकासका निम्ति कसरी काम गरिरहेको छ ? नगरपालिका कृषिको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । सरकारको भू–उपयोग नीतिलाई वैज्ञानिक तरिकाबाट अवलम्बन गरी नगर भित्रका बस्ती मठमन्दिर, पानीका मुहान, विद्यालय आदि सबैलाई वर्गीकरण गरेर बाँकी रहेको जमिनलाई कृषि योग्य जमिन भनेर छुट्याएका छौं । हामीले बस्ती सँगसँगै कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । हामीले नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमहरू राखेका छौं । जसका कारण कृषकलाई कृषि उत्पादनमा थप सहज हुने आंकलन छ । हामीले किसानहरूलाई कृषि उत्पादनमा आधारित बैंक ब्याजमा अनुदान दिएका छौं । उक्त अनुदान मार्फत कृषकहरुले कृषिमा आधारित बैंक ऋण लिएर काम गर्न सक्छन् । जसको ब्याज नगरपालिकाले तिरिदिन्छ । कृषकले लिएको १५ लाख रुपैयाँसम्म ऋणको ब्याज नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएका छौं, तर सावाँ भने किसान आँफैले तिर्नुपर्ने हुन्छ । यस्तै, किसानले लगाएको कृषिको बीमा पनि गरिदिने व्यवस्था मिलाएका छौं । किसानले उत्पादन गरेको सामाग्रीलाई सुरक्षित बनाउनको लागि बीमाको व्यवस्था मिलाएका हौं । किसानको लगाएको कृषिको बीमा लागेको शुल्क पालिकाले नै भुक्तान गर्ने व्यवस्था छ । त्यसका लागि बीमा कम्पनीलाई हप्ताको दुई दिन नगरपालिकामा आउने व्यवस्था पनि मिलाएका छौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ३५ सय रुपैयाँ स्वास्थ्य बीमा गर्दै आएको छ । हामीले नगरपालिका भित्र किसानहरूलाई एक हजार रुपैयाँ दिएर स्वास्थ्य बीमा गर्नको लागि दिएका छौं । उनीहरूले २५ सय रुपैयाँ थपेर स्वास्थ्य बीमा गर्न सक्छन् । किसानको स्वास्थ्य बीमा र उनीहरुलाई बैंकबाट ऋण पनि लिने लगायत आफ्नै ठाउँमा काम गर्नुपर्छ भनेर किसानहरूलाई उत्साहित गर्नको लागि नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको हो । उत्पादन गरेर कहाँ बेच्ने भन्ने समस्या पनि छैन । त्यसका लागि हामीले नगरपालिका भित्र साप्ताहिक हाट बजारको पनि व्यवस्था मिलाएका छौं । साप्ताहिक रुपमा ठाउँ–ठाउँमा कृषि हाटबजार लाग्छ । हाम्रो छोरा, नाति विदेशमा जान एयरपोर्टमा पुर्याउन जानु पर्छ भन्ने दिनलाई घटाउनको लागि पनि यस्ता खालका कार्यक्रम ल्याएका हौं । तपाईंलाई थाहै छ, रोजगारीको सिलसिलामा युवा विदेश जाने लर्कोले आज गाउँ रित्तिँदै छ, के स्थानीय सरकारले युवाहरुलाई परिचालन गर्न नसकेर पनि यो अवस्था सिर्जना भएको हो ? यो हाम्रो मात्रै हैन देशकै एउटा ठूलो समस्या हो । आज मुलुकमा पहिलाको जस्तो प्रदेश जाने भन्ने चलन छैन । पहिला बाउबाजेहरु प्रदेश जाने भन्दै सातु चामल बोकेर जान्थे । आज विश्व प्रविधिमा अग्रणी भइसकेको छ । कहाँ के भइरहेको छ, घरमा नै बसेर हेर्न मिल्छ । त्यसैले १२ कक्षा पढेको विद्यार्थीले पनि विश्व बुझ्ने सक्ने अवस्था सिर्जना भएको छ । त्यसैले कहाँ जाँदा तत्काल प्रतिफल आउँछ भनेर उनीहरुले नै बुझ्न सक्छन् । देशमा नै अवसर सिर्जना गर्न नसक्नुले आज मूलक रित्तिँदै छ । उनीहरूले भित्र्याएको रेमिट्यान्सले नै आज देश चली रहेको छ । देश चलाउनको लागि भए पनि युवालाई विदेश पठाउनुपर्ने बाध्यताको सिर्जना भएको छ । मुलुक धान्न अब युवा विदेश पठाएर हुन्न भनेर हामीले यहाँ अवसरको सिर्जना गर्नेतर्फ लागेका छौं । युवालाई कन्भिन्स गर्न सक्यो भने चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ । प्राविधिक शिक्षाको विकासको विषयलाई पालिकाले कसरी लिएको छ ? नगर प्राविधिक शिक्षातर्फ केन्द्रित छ । हामीले केही समय अगाडि सिटिइभिटीसँग समन्वय गरेर ६० जना विद्यार्थीलाई तालिम दियौं । उनीहरूलाई प्लम्बर, इलेक्ट्रोनिक र वाल लगाउने लगायतका तालिम दिएका हौं । विद्यार्थीलाई प्राविधिक तथा गुणस्तरीय शिक्षा दिनको लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हामीले उहाँहरूलाई भनेका छौं, यो तालिम लिएर विदेश जानेलाई हैन, आफ्नै ठाउँ, आफ्नै देशमा काम गर्न लागि हो भनेर । तपाईंहरुले विद्यार्थी तथा युवालाई सिप मूलक तालिम दिँदै आएका छौं भन्नु भयो, तर दिएको तालिम प्रभावकारी हुन सकेको छैन भनेर गुनासो पनि छ । हामीले तालिम दियौं तर दिएको तालिमको डाटा राख्न सकेनौं । अनि उनीहरूले त्यो तालिम व्यवहारमा उतार्न सक्नु भयो कि भएन भनेर निरीक्षण गर्न सकेनौं । त्यसैले पनि हाम्रो तालिम फितलो भयो । तालिम तालिममा मात्र सीमित नहोस् भनेर हामीले तालिम दिएका जनशक्तिको डाटा वेबसाइटमा राख्न सुरु गरेका छौं । उहाँहरूको खाँचो हुना साथै बेलाएर अवसर दिनुपर्छ भनेर पनि यस सिस्टमको लागु गरेका हौं । अहिले स्थानीय तहहरूले अपेक्षा अनुसार राजस्व संकलन गर्न सकिरहेका छन् । यो पालिकाको अवस्था कस्तो छ ? हो, यो समस्या सबै पालिका छ । हाम्रो नगरपालिकामा पनि लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिरहेका छैनौं । हामीलाई गत वर्ष मालपोतबाट ३७ करोड रुपैयाँ प्राप्त भएको थियो । यो वर्ष ५ करोड पनि राजस्व संकलन हुन सकेन । भनेपछि एउटै क्षेत्रबाट ३० करोड रुपैयाँ राजस्व कमि भयो । प्रदेश सरकारले पनि गत वर्षको तुलनामा अहिले एक चौथाइ पनि पैसा पठाएको छैन । संघीय सरकारले पठाउने अनुदानमा पनि २० प्रतिशत कटौति गरेको छ । हामीले नगरपालिकामा अनुमान गरेको राजस्व पनि संकलन गर्न सकेका छैनौं । त्यसैले यो समस्या हाम्रो पालिकामा पनि नभएको हैन । गत वर्षकै तुलनामा यस वर्ष पनि राजस्व संकलनको अपेक्षा गरेको थियौं । तर, राजस्व उठाउने लक्ष्य कागजी मात्रै भयो । राजस्व नै नउठे पछि के गर्ने ? गत वर्ष घर जग्गाको कारोबार थियो । यस वर्ष रोकियो, जसका कारण पनि राजस्व संकलनमा ह्रास आयो । त्यसैले हामीले कुनै पनि लक्ष्य यो वर्ष पुरा हुने अवस्थामा छैन । साना तथा मझौला उद्योग स्थापना तथा विस्तार गर्ने विषयमा पालिकाले कसरी काम गरिरहेको छ ? हाम्रो नगरपालिकामा ठूला उद्योग छैनन् । यहाँ साना तथा घरेलु उद्योग नै छन् । निकट भविष्यमा ठूला उद्योगको स्थापना होलान् । अहिले आर्थिक मन्दी छ, यो सबैलाई थाहा भएको नै कुरा हो । जसका कारण साना तथा ठूला उद्योगमा प्रत्यक्ष असर पुगेको छ । अहिलेको अवस्थामा आर्थिक असर नेपालीको चुलो–चुलोमा पुगेको अवस्था छ । यस्तो अवस्थामा स्थानीय तहले गर्न सक्ने काम हामीले गरिरहेका छौं । नगरपालिका भित्र साना उद्योगलाई प्रोत्साहन तथा सहयोग गर्ने कार्य सदैब जारी छ र, हामी घरेलु उद्योगको विस्तारमा सहयोग र स्थानीय उत्पादनको बजारीकरणमा नै लागिरहेका छौं । पालिकाको आर्थिक आम्दानी वृद्धिको लागि नगरपालिकाले कस्तो गृहकार्य गर्दै छ ? हाम्रो ध्यान नगरपालिको आर्थिक आम्दानी वृद्धि गर्नतर्फ पनि केन्द्रित छ । यसको लागि पालिकामा स्रोत निर्धारण समिति बनाएका छौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको योजनामा सो समिति नगरपालिकाको स्रोत निर्धारणको लागि बैठक बस्दैछ । सो बैठकमा हाम्रो आगामी लक्ष्य तथा पालिकाको स्रोतको वृद्धि गर्नका लागि गर्न सकिने विषयमा छलफल हुनेछन् । विगतका स्रोतलाई निरन्तरता दिन सक्यो भने पनि राम्रो हुन सक्छ भन्ने अपेक्षा छ । चालु आर्थिक वर्षको समय अब धेरै बाँकी छैन, तपाईंहरुले यस वर्ष नीति तथा कार्यक्रममा राखेका योजनाहरू कति सम्पन्न भए ? चालु आर्थिक वर्षमा पालिकाले अगाडि सारेका पूर्वाधार क्षेत्र तर्फका धेरै काम सम्पन्न भइसकेका छन् । धेरै योजनाहरू अगाडि बढेका छन् भने केही सम्पन्न हुने चरणमा छन् । हामीले यो वर्ष बजेटमा धेरै अनावश्यक कार्यक्रमहरू कटाएका पनि छौं । नगरपालिका भित्र पूर्वाधार क्षेत्रतर्फ उल्लेखनीय काम भएको छ । नीति तथा कार्यक्रमका योजनाहरू यति नै प्रतिशतमा सक्यौं भनेर भन्न सक्ने अवस्था चाहिँ अहिले नै छैन् । त्यसको लागि केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । अहिले संघियता खारेज गरौं प्रदेशको काम छैनन् भन्ने विषयमा बहस चली रहेको छ, साँच्चै प्रदेशको काम नभएको नै हो, यसमा तपाईंको धारणा के छ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जुन संविधानले दिएको जिम्मेवारी हो, त्यो जिम्मेवारी पुरा गर्ने हो भने प्रदेशको पनि खाँचो छ । समयमा नै काम सम्पादन गर्न सकिएन भने यो नगरपालिका पनि नभई दिए हुन्थ्यो भन्ने खालको कसैको मनमा लाग्न सक्छ । तर, कसैलाई पनि त्यस्तो अनुभूति नहुने गरी हामीले काम गर्नु पर्याे । त्यो प्रदेशले पनि गर्नु पर्यो अनि नगरपालिकाले पनि । काम राम्रोसँग सम्पादन गर्दै जानु पर्याे । एक दिन अवश्य प्रदेशको पनि आवश्यकता रहेछ भन्ने समय आउँछ । अन्त्यमा, नगरपालिका भित्र विकास निर्माण लगायतका काम गर्नको लागि तपाईंसँग अझै ४ वर्ष छ, आगामी दिनमा कसरी अगाडी बढ्ने सोच बनाउनु भएको छ ? हामी जनताको काम इमान्दारीपूर्वक गर्नको लागि निर्वाचित भएर आएका जनप्रतिनिधि हौं । नाम मात्र नगर प्रमुख तर काम भने जनताको सेवक हो । कमि कमजोरी भएको ठाउँलाई सच्याउँदै, जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्ने छौं । यहाँको जनताको काममा र सेवामा दिन रात खट्ने छौं ।
हिमालयन बैंकले समाज नेपाललाई दियो ५ लाख नगद
काठमाडौं । हिमालयन बैंकले समाज नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ललिपुरको समाज नेपाललाई बिहीबार ५ लाखको आर्थिक सहयोग प्रदान गरेको हो । बैंकका अनुसार देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन् । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेका थिए ।