काठमाडौंको शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी
काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए । त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको व्यवस्था पनि थिएन । चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ । कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ । उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम ५६ लाख ५४ हजार आठ सय ८० रुपैयाँ रहेको महानगरले जनाएको छ । सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो । उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो । आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राखे । ‘सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो’, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भने, ‘वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ ।’ अब यस स्थानमा आगामी ४० वर्षसम्म वर्षसम्म ढलको समस्या नहुने स्थानीयले विश्वास लिएका छन् । स्थानीय अरुण बस्नेतले सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ निषेध गर्नुपर्ने धारणा राखे । अर्का स्थानीय महेश्वर शर्माले छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकाले छतको पानी सडकमा नखस्ने प्रबन्ध मिलाउन सम्बन्धित सबै स्थानीयले ध्यान दिनुपर्ने बताए । सडक सञ्चालन भएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहर नफाल्न, व्यापार गरिने सटरमा फोहर वर्गीकरण गर्ने भाँडो राख्न, मनपरी पार्किङ्ग नगर्न वडा अध्यक्षले अनुरोध गरे । रासस
भरतपुरमा एक केन्द्रको मतदान स्थगित
काठमाडौं । चितवन-२ आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर-११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो । मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पुग्दा समर्थकले हुटिङ गर्दा अन्य पार्टीका कार्यकर्ताले प्रतिवाद गरेका थिए । मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल भएको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
देउखुरी । घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् । विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो । सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताइन् । तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन् । ‘तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता गर्यौँ, उद्योग दर्तागरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो’, उनले भनिन्, ‘मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन् ।’ गत वर्षदेखि हातले बनाउन थालेको उनले बताइन् । पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ । साल र पालुकाको पातको दुना टपरी बनाउने गरेको उनले बताइन् । ‘जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ’, उनले भनिन्, ‘बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेको छ, यसको माग बाह्रैमहिना आउने गर्दछ, चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुना टपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ । एउटा टपरीको मूल्य चार रुपैयाँ रहेको छ ।’ दुना एक मालाको एक सय रुपैयाँ कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराए । मालामा सयवटा दुनाटपरी हुने उनले बताइन् । हरियो दुना टपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ । विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताइन् । मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताइन् । उनले भने, ‘बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन ।’ उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनले जानकारी गराइन् । ‘पहिले घरखर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ’, उनले भने । दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उनको भनाइ छ । वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक छ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताइन् । ‘बजारमा बाह्रैमहिना दुनाटपरीको माग हुने गरेको छ’, घिमिरेले भनिन्, ‘पहिले बसेर दिन बित्ने गरेका थिए, अहिले दिदीबहिनी जम्मा हुँदा पनि आम्दानी हुने काम गरेका छोँ, आम्दानी भएपछि आफ्ना इच्छा पूरा भएका छन् ।’ बजारमा पाइने प्लास्टिकका सामान विस्थापित गर्ने प्लास्टिकले स्वस्थ्यमा पर्ने असरका बारेमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको धारणा छ । पातबाट बनेको जैविक सामानको महत्वका बारेमा सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाले खेर गएको समय र पातको सदुपयोग गरेर उत्पादनमूलक काममा लागेकामा प्रशंसा गरिन् । उनले त्यहाँ उत्पादन भएका सामग्री बिक्री गर्न असहज भएमा बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन् । अरु महिलालाई पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरिन् । दुनाटपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा छ । रासस
चितवन २ उपनिर्वाचनमा ४० प्रतिशत मत खस्यो
काठमाडाैं । निर्वाचन क्षेत्र नम्बर-२ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए । गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी रोकिएका छन् ।
कांग्रेस उम्मेदवार भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोबाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत मागेका थिए ।
पाल्पा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते
ढोरपाटन । बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिनुभयो । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ ।
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग बेस थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताइन् । उनले भनिन्, ‘त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो बनाउन पुरानो सामग्री हटाएर नयाँ हालेर गर्नुपर्ने छ ।’ साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुङ्गा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको उनले बताइन् । अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने ओभरले गरिने डिभिजनको योजना छ । बढी समस्या भएको ठाउँमा तल्लो भाग नै हटाएर पुनःनिर्माण गरिन लागिएको उनले जानकारी दिए । यसअघि कार्यालयले चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको एउटा खण्डमा पुनःनिर्माणको काम गत महिना सुरु भएको थियो । बल्खुदेखि कलङ्कीसम्म पुनःस्थापना यो आवभित्र सकिने उनले बताए । एक दशमलव दुई किमी लम्बाइमा सर्भिस लेनमा काम भइरहेको छ । चक्रपथको अरु खण्डमा तत्काल यस्तो समस्या नपाइएको उनले बताए । डिभिजन कार्यालयले चालु आवभित्र स्वीकृत कार्यक्रमअन्तर्गत कलङ्कीबाट खसीबजार हुँदै बल्खु खण्ड, लैनचौरदेखि महाराजगञ्ज, लैनचौरबाट चक्रपथ हुँदै बालाजु बाइपास, साँखुबाट लप्सीफेदी हुँदै भोटेचौरसम्म आवधिक मर्मत गरिरहेको छ । चक्रपथको बल्खु क्षेत्र र साँखुदेखि लप्सीफेदीसम्म बढी क्षति भएकाले पुनःनिर्माण अघि बढाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ । साँखुबाट लप्सीफेदीसम्मको सडक सिन्धुपाल्चोक जोड्ने सडकका रुपमा रहेको छ । साँखु आफैँमा महत्वपूर्ण सहर रहेको छ भने सिन्धुपाल्चोकबाट जोडिने छोटो मार्ग भएकाले यो सडकको महत्व अझै बढेको छ । रासस
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग
काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप शिक्षामा कूल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो । हाल शिक्षामा करिब १० प्रतिशतको हाराहारीमा बजेट रहेको छ । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षाको मौलिक हकको कार्यान्वयन र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न अपुग रहेकाले सरकारले शिक्षा बजेट बढाउनुपर्ने बारेमा अवगत गराइएको जनाए । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ जारी भइसकेको अवस्थामा सोको कार्यान्वयनका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्थाका साथै दिवा खाजा, छात्रवृत्ति, प्राथमिक उपचार तथा शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने र त्यसका निम्ति हालको विनियोजन अपर्याप्त भएकाले बजेट वृद्धि गरिनुपर्ने एनसिइ नेपालको माग रहेको छ । सो सञ्जालले अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँललाई हालै सुझाव पत्र बुझाइएको हो । एनसिइ नेपालका महासचिव सुदर्शन सिग्देलका अनुसार अर्थमन्त्री डा महतले उपलब्ध स्रोतसाधनकै ‘फ्रेमभित्र रही’ बजेट विनियोजन गरिने र मुलुक अहिले आर्थिकरूपमा संवेदनशील अवस्थामा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामै राखिएको बताएका थिए । शिक्षामन्त्री राईले शिक्षामा गरिएको लगानी भने सयौँ वर्ष टिक्छ भन्ने यथार्थ बोध भए पनि सोचेजति लगानी गर्न नसकिएको स्वीकारेका थिए । रासस