विकासन्युज

रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

रसुवा । जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बीमा कार्यान्वयनको थालनी गरे । बीमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ । बीमाले यथेष्ठ उपचार सेवा प्रदान गर्ने भएकाले सबै दाजुभाई तथा दिदीबहिनी यस कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले आग्रह गरे । एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ठ तीन हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाएर बीमा गर्न सकिन्छ । एक वर्षसम्म बहाल रहने बीमा कार्डले एक लाख रुपैयाँसम्मको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ । स्वास्थ्य बीमाको कार्ड प्राप्त गरेका तर स्थानीय अस्पतालमा उपचार हुन नसकेका नागरिकलाई थप उपचार गराउन काठमाडौंको सरकारी अस्पतालमा पनि बीमाले सहयोग गर्नेछ । जिल्लाका पाँच गाउँपालिकामध्ये कालिका गाउँपालिका धैबुङले सम्पूर्ण वडावासीलाई गत फागुनदेखिनै लागू हुनेगरी स्वास्थ्य बीमा गराई रकम भुक्तानी समेत गरेको छ । रासस

चितवनको मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो । यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएका हुन् । रासस

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि, दिनको १५ हजार रुपैयाँ

टोकियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२० अमेरिकी डलर) रहेको छ । यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो । एसटीआरको तथ्याङ्क अनुसार टोकियोमा होटलको औसत मूल्य २१ हजार ५८७ येन (करिब १६० डलर) अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ । सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो । एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ ।

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको जानकारी दिए । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले चार हजारको हाराहारीमा पुगेको उल्लेख गरे । यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुन्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन् । गत आर्थिकम वर्ष चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर ८०० पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जोड दिए । पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, ‘हामीलाई विश्वास छ यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।’ प्रमुख संरक्षण अधिकृत भण्डारीले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुन्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ । ‘उनीहरु बाघ हेर्न नै मन पराउने हुनाले यहाँ आउँछन्, त्यसबाहेक डल्फिन पनि अवलोकन गर्छन्, बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिङ्गेको हेरेर पनि पर्यटकले आनन्द लिएका छन् । सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएको छ ।’ ‘निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङ्ख्या बढाउन सकिन्छ’, प्रमुख संरक्षण अधिकृत भण्डारीले भने, ‘वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि बाघको आहारा बढाउनेलगायत काम गर्नाका साथै तिनलाई निकुञ्जभित्रै सीमित बनाउने गरी केही प्रयास भएको छ ।’ उनले बाघ र हात्तीबाट हुने क्षति कम भएकाले मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गरे । निकुञ्ज आसपास बस्ती रहुञ्जेल वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहने भएकाले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाहीँ वन्यजन्तु विशेष गरी बाघ त्यो पनि बिरामी वा घाइते बाघ आहाराको खोजीमा जङ्गलभन्दा बाहिर जाँदा द्वन्द्व बढेको जस्तो देखिए पनि ठूलो समस्या भने नभएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । निकुञ्जले सकेसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य रहोस् भनेर काम गरिरहेको छ । वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ । यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ । यस कार्यले बाघको आहारा जातीको जन्तुको सङ्ख्या बढाउन सहयोग गर्ने विश्वास लिइएको छ । घाँसे मैदान राम्रो भए बाघको आहार जातीको सङ्ख्या बढाउन सकिने भएकाले आहारा प्रजातिको लागि पोषण खानामा जोड दिइएको छ । अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ । पुरनो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेट अभावले समस्या देखिएको बताइएको छ । निकुञ्जभित्र रहेका लम्कौलीलगायत विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ । पुराना घाँसे मैदानको गुणस्तर बढाउन निकुञ्जले जोड दिएको छ । निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङख्या बढाउन सकिन्छ । बढेको बाघको सङ्ख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनु आवश्यक छ । बर्दियाको ठाकुरद्वारास्थित गैँडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै बाघको सङ्ख्या बढेपछि यहाँ रहेका करिब ३२ साना तथा ठूला होटेल र होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढ्न थालेको बताए । त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्सलगायत मुलुकको पर्यटक भएको उल्लेख गर्दै उनले बाघ हेर्नका लागि बाह्य पर्यटक तीन दिनदेखि एकसातासम्म यहाँबस्ने गरेकोे जनकारी दिए । ‘कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन्’ सञ्चालक थापाले भने । स्थानीय उमङ्ग खडकाले बाघ हेर्नकै लागि पर्यटकको सङ्ख्या वढिरहेको र उनीहरूले हात्ती, गैँडा र आहार प्रजातिका अन्य वन्यजन्तु देखेर फर्किने गरेको बताए । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्ली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको बताइएको छ । रासस

हामीले लगानी गरेका नेपालका विकास परियोजनाको पोर्टफोलियो सुध्रियो : एडीबी

काठमाडौं । एशियाली विकास बैंकका कन्ट्री हेड अर्नौड कौकोइसले एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको बताए । सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन्  । उनले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडिबी तयार रहेको बताए । एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो । गत वर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायतमा दर्जनौँ आयोजनाहरुमा एडिबीले लगानी गरेको छ ।

काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा मारमा पर्यटक

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौंमा आइपुग्छन् । र, काठमाडौंबाट हवाई तथा सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्यमा जान्छन् । काठमाडौंमाबाट विभिन्न पर्यटकीय गन्तव्यका लागि जाने पर्यटक बसहरु पर्यटक बसपार्कको अभावमा हाल अस्थायीरुपमा सोह्रखुट्टेस्थित सडकलाई पर्यटक बसपार्क बनाउन बाध्य भएका छन् । टुरिस्ट बस एशोसियशन अफ नेपाल टिवानका अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्कका बारेमा लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताए । ‘पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ’, उनले भने, ‘तर उनीहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन ।’ पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको उनको भनाइ छ । अध्यक्ष आचार्य पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एण्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको बताउँछन् । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान भने नदिएको अध्यक्ष आचार्यको भनाइ छ । लामो समयसम्म जमलस्थित कान्तिपथ सडकलाई अस्थायी पर्यटक बसपार्कका रुपमा प्रयोग गरिएको थियो । तर विसं २०७५ असार १६ गतेदेखि भने सोह्रखुट्टेको सडकलाई अस्थायी पार्किङस्थल बनाएर पर्यटक ओसार्न थालिएको हो । टिवानका पूर्वमहासचिव दीपक भट्टराई पर्यटन क्षेत्रको विकासका लागि काठमाडौंमा पर्यटक बसपार्क अनिवार्य भएको बताउँछन् । छुट्टै बसपार्क नहुँदा गोँगबुस्थित नयाँ बसपार्कबाट समेत पर्यटक बस सञ्चालन गर्न बाध्य भएको उनको भनाइ छ । काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेका थिए । नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका महासचिव कुमारमणि थपलिया पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले विभिन्न निकायमा पहल गरिरहेको बताए । ‘पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँ हेरिरहेका छौँ, सम्बन्धित निकायलाई झक्झकाइरहेका छौँ’, उनले भने । नाट्टाले पर्यटन विभागसँग पर्यटक बसपार्कका बारेमा छलफल गरिरहेको उनको भनाइ थियो । विश्वका धेरै मुलुकमा पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको पाइन्छ । पर्यटन विभागका इञ्जिनियर बीरेन्द्रप्रसाद चौधरी काठमाडौंभित्र पर्यटक बसपार्क आवश्यक भए पनि जग्गा नहुँदा निर्माणमा ढिलाइ भएको दाबी गरे । हाल काठमाडौंबाट पोखरा र चितवनको सौराहका लागि मात्रै दैनिक झण्डै एक सय वटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । काठमाडौंबाट विशेष गरी पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस जाने गरेका छन् । रासस

कोरोना भाइरसको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए । उनका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ । सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गरेका हुन् । आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो । अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन् । काठमाडौंमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन् । रासस

उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन, अब सुध्रिनुपर्छ : देउवा

काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमवार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको बताएकाे पार्टीका सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए । सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए ।