काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताएका छन् ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) समेत रहेका कोईरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताए ।
मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको उनी बताउँछन् ।
‘पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर जसरी आम रुपमा चित्रण गरिएको छ, वास्तविकता त्यस्तो प्रकारको छैन, विश्व बैंकिङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो,’ उनले भने,’५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेका छन्, नेपालका बैंकहरुले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो, अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम हो ।’
उनले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताए ।
यस्तै, उपाध्यक्ष कोईरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताए । उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको उनी बताउँछन् ।