अब विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने
काठमाडौं । अब काठमाडौं महानगरमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने भएको छ । महानगरले शुक्रबार माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सिप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थीहरु सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको हो । महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गर्दै विद्यालय तहमा ‘शिक्षामा सिप’ कार्यक्रमको घोषणा गरेको छ । विद्यमान शिक्षा प्रणालीमा सुधार गर्ने र सिपमुलक शिक्षाको पाटो थप्ने उद्देश्यले महानगरले माध्यमिक तहमा छोटो अविधिको सिपमुलक तालिम कार्यक्रम समावेश गरेको हो । महानगरका प्रमुख बालेन्द्र साहले डिजिटल माध्यमबाट मंगलबार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको शुरुवात गरेका छन् । पाठ्यपुस्तक र नियमित कक्षासँगै जीवनउपयोगी, सिपमुलक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य कार्यक्रममा राखिएको छ । साथै विद्यार्थीले विद्यालय तहको अध्ययन पुरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको छ । साहका अनुसार इतिहासमा गुरुकुलमा सिकाइने सिपमुलक शिक्षा विदेशी शिक्षाको आगमनसँगै छायाँमा परेकाले अहिले महानगरले त्यसलाई शुरुवात गरेको हो । विद्यार्थीले सिपमुलक शिक्षाको माध्यमबाट श्रमलाई बुझ्ने र श्रमको सम्मान गर्ने संस्कृति सिक्ने महानगरका प्रमुख शाहले बताए । महानगरले ‘शिक्षासँगै सिप’ कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा ५६ वटा माध्यमिक विद्यालयहरुमार्फत शुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षमा अर्थात असार मसान्तसम्म ९० घण्टाको कार्यक्रम सञ्चालन हुने महानगरका शिक्षा अधिकारी सिताराम अधिकारीले बताएका छन् । उनका अनुसार सो कार्यक्रम प्रत्येक शुक्रबार लागु हुने र सो दिन विद्यार्थीहरु पुस्तक झोला बिना नै विद्यालयमा उपस्थिति भएर ‘शिक्षासँगै सिप’ कार्यक्रममा सहभागी हुन्छन् । तालिममा कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला विद्याहरुलाई समावेश गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताएका छन् । विद्यालय शिक्षाकै क्रममा प्रदान गरिने तालिमले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुर्याउने र आफ्नो रुचीको तालिम पश्चात विद्यार्थीले उपयोगी सिपको प्रमाणपत्र समेत प्राप्त गर्ने प्रवक्ता मानन्धरले बताए । खासगरी ‘शिक्षासँगै सिप’ कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन्छन् । विद्यार्थीहरुलाई २० देखि ३० जनासम्मको समूह बनाएर तालिम सञ्चालन गरिन्छ । विद्यालयहरुलाई तालिम सञ्चालन गर्नको लागि महानगरले आफ्नै आन्तरिक स्रोतबाट आवश्यक रकम अनुदान स्वरुप उपलब्ध गराउने महानगरका प्रवक्ता मानन्धनरले बताए । सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको प्रशिक्षक व्यक्तिले विद्यार्थीलाई तालिम प्रदान गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ । काठमाडौं महानगरले शुरुवात गरेको ‘शिक्षासँगै सिप’ तथा ‘किताब रहित शुक्रबार’ कार्यक्रमको शुरुवातबाट शिक्षक र विद्यार्थीहरु उत्साहित भएको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनले विद्यार्थीले ५ दिनसम्म निरन्तर पुस्तक पढ्दा उनीहरुको दिमाख थकित भएको हुने हुँदा शुक्रबार सञ्चालन गरिने ‘किताब रहित शुक्रबार’ कार्यक्रम निकै प्रभावकारी हुने बताए । महानगरकी उपप्रमुख सुनिता डंगोलले परीक्षामा विद्यार्थीले ल्याएको श्रेणीले क्षणिक भएको बताउँदै जीवन उपयोगी सिप सिक्नको लागि महानगरले विद्यालयस्तरमा छोटो अवधिको तालिम सञ्चालन गर्न लागिएको बताइन् । तालिमले शैक्षिक रुपमा मात्रै नभइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । दक्षजनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । अहिले महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
ड्राइभिङ लाइसेन्स १०/१० वर्षमा नवीकरण हुने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएका बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने । हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ ।
नेपाल रेमिट र सहारा ऋण सहकारीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त्त सम्झौता अनुसार विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरे । नेपाल रेमिट इन्टरनेशनलले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ । साथै, देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ । सहारा बचत तथा ऋण सहकारी संस्था ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै आएको छ ।
भ्रमपुर्ण समाचार फैलाएको भन्दै फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
काठमाडौं । नेपालको लागि फ्लाई दुबईका कन्ट्री म्योनेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाइएको छ । सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको भन्दै भ्रमपुर्ण समाचार फैलाएको भन्दै उनीहरुको पास समेत निस्कृिय गरेर विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार राति फ्लाइ दुबईको जहाजकाे एउटा इन्जिन फेलभएपछि आगोको झिल्को देखिएकाे थियाे । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख गरिएकाे थियो । जसकाे प्रमाण नेपाल नागरिक उड्डयन प्राधिकरणले नभेटाएपछि भ्रम फैलाएको ठहर गर्दै फ्लाई दुबईका दुई म्यानेजरलाई कारबाही गरेको हो ।
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
कैलाली । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म थाहा छैन । तर हरेक दिन जसो लघुवित्तका कर्मचारीका कुरा भने सुन्नु परिरहेको छ । उनी घरमा कक्षा ५ मा अध्ययनरत भाइसँग बस्छिन् । ‘खानका लागि घरमा अन्न छैन । किन्नलाई पैसा पनि छैन’, उनले भनिन्, ‘आमाबुबा नहुँदा हाम्रो बिचल्ली भएको छ ।’ लघुवित्तको ऋणले समस्यामा परेको स्वस्तिकाको परिवार उदाहरण मात्रै हो । लघुवित्तको ऋण तिर्न नसक्दा कैयौँ व्यक्ति आज घरबारविहीन भएका छन् भने कतिपयले सन्तान छाडेर हिँडेका छन् । कैयौँ परिवारमा लघुवित्तको ऋणका कारण फाटो आएको छ भने कैयौँ समूहमा बसेर मात्रै पनि विचल्लीमा परेका छन् । मुनुवा गाउँकै पनि एक दर्जनभन्दा बढी परिवार घरबार छोडेर लघुवित्तको ऋण तिर्न नसकेर भागेका छन् । सोही ठाउँकी सीतादेवी रावरले केहीवर्ष पहिले एक लघुवित्तबाट एक लाख पचास हजार रुपैयाँ ऋण लिइन् । उनले महिनैपिच्छे लघुवित्तको किस्ता र ब्याज तिर्दै आएकी थिइन् । कोरोना सङ्क्रमणपछिका दिनमा आर्थिक जोहो गर्न नसकेपछि उनका अनुसार दुईतीन किस्ता रोकिएको छ । किस्ता रोकिएपछि लघुवित्तका कर्मचारीले उनलाई वैशाख १७ गतेसम्मको भाका दिएको छ । ‘कुन दिन दशा लागेर लघुवित्तको ऋण लिन पुगेछु । ऋण दिँदा सहजरुपमा काम भयो अहिले मर्नु न बाँच्नु जस्तो भएको छ’, सीतादेवीले दुःखेसो गरिन्, ‘वैशाख १७ गतेसम्म किस्ता र ब्याज तिर्न नसके घरमा भएको सामान, बाख्रा उठाउने धम्की दिएर लघुवित्तका कर्मचारी गएका छन् ।’ उनले कर्मचारीले पैसा तिर्न नसक्दा धम्काउने, तर्साउने र नहुँदा शब्द प्रयोग गर्ने गरेको दुःखेसो पोखिन् । कैयौँ व्यक्ति विस्थापित भएर घरबारविहीन हुने अवस्थामा पुगेको रुपनी डगौँराको भनाइ छ । ‘पछिल्लो ११ वर्षदेखि लघुवित्तको समूहमा बसेर कारोबार गर्दै आएकी छु । गाउँघरमा लेखपढ गर्न नजानेका महिलालाई लघुवित्तले नराम्रोसँग फसाएको रहेछ’, उनले भनिन्, ‘अहिले थाहा भयो । अनि आवाज उठ्न थालेको हो । ऋण दिने बेलामा १५ प्रतिशत ब्याजदरमा दिने र सेवा शुल्क, बीमा शुल्कबाट गरिबलाई झन गरिब बनाउने काम भइरहेको रहेछ ।’ लघुवित्तले एक लाख ऋण दिँदा ८० हजार रुपैयाँ मात्रै पाइने गरेको उनको भनाइ छ । उनका अनुसार समूह बनाएपछि आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्ने राष्ट्र बैंकको नीति भए पनि लघुवित्तले बचतमा केन्द्रित भएर तालिम दिने गरेका छन् । वडा नं ४ मुनुवाकी सिरनदेवी डगौँरा लघुवित्तका कर्मचारीले ऋण तिर्न नसकेपछि आत्महत्या गर्न वा देहव्यापार गरेर भए पनि ऋण तिर्न भनेको भन्दै मिडियामा आएपछि महिला समूहमाथि लघुवित्तले गरेको ज्यादतीविरुद्ध महिलाको समूह गाउँपाकिका–१ दुर्गौंली कार्यालयमा नै पुग्यो । जानकी गाउँपालिका–४ मा रहेका महिलाले लघुवित्तले किस्तामा ज्यादती गरेको भन्दै उनीहरू लघुवित्तको कार्यालयमा पुगेका थिए । समूहका महिलालाई लिएको ऋणको किस्ता बुझाउन लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै महिलाले कार्यालयमा पुगेर तालबन्दीसमेत गरेका थिए । उनले महिलामाथि अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन र किस्ताका लागि आत्महत्याका लागि लघुवित्तले उक्साएको भन्दै कार्यालयमा तोडफोडसमेत गरे । त्यसपछि किस्ताका लागि दबाब नदिने सहमति भएको थियो । डिप्रोस लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख अर्जुन पोख्रेलले लिएको कर्जा तिर्दैन भनेर कसैले भन्न नपाउने बताए । उनले देशभर लघुवित्तप्रति फैलाइएको भ्रमको उपज मात्रै भएको दाबी समेत गरे । ‘केही मानिसहरुले लघुवित्तबाट लिएको कर्जा मिनाहा गर्नुपर्ने भन्दै भ्रम फैलाएका छन्, किस्ता नतिर्ने, बैठकमा नआउने अनि आफूले लगानी गरेको पैसा माग्दा यस्तो गर्नु निकै निन्दनीय छ’, उनले भने । रासस
१७ अंकले बढ्यो सेयर बजार, ब्लुचिप फण्डमा सर्किट
काठमाडौं । मंगलबार सेयर बजार १७.३६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९०५.६८ विन्दुमा पुगेको छ । आज दुई सय ७० वटा कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम भने ८८ करोड २५ लाख ३४ हजार सात सय ९९ मा खुम्चिएको छ । आजको कारोबारमा सनराइज ब्लुचिप फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सनराइज ब्लुचिपको सेयर मूल्य ८.५५ रुपैयाँले घटेको हो । यस्तै, सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको सेयर मूल्य प्रति कित्ता ४० रुपैयाँले बढेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६८ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।
घरजग्गामा मन्दी भएपनि बैंकले लगानी गर्न छोडेनन्, २ खर्ब बढी ऋण
काठमाडौं । पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै राष्ट्र बैंकले घरजग्गा र सेयर बजार क्षेत्रमा जाने कर्जामा कडाइ गरेको भएपनि बैंकहरुले भने कर्जा बढाएका छन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा मासिक रुपमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् घरजग्गा कर्जामा कडाइ गरेपनि बैंकहरुले पनि मासिक रुपमा कर्जा बढाउँदै लगेका हुन् । चालू आर्थिक वर्षको ८ महिनामा बैंकहरुले साढे ११.४९ प्रतिशत बढाएर घरजग्गा व्यवसायमा २ खर्ब ३ अर्ब २५ करोढ रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ । गत वर्षको फागुनमा बैंकहरुले १ खर्ब ८२ अर्ब ३० करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका थिए । चालू आर्थिक वर्षको ८ महिनामा १३ वटा वाणिज्य बैंकले घरजग्गा व्यवसायमा कर्जा वृद्धि गरेका छन् भने ७ वटा बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रदान गरेको छ । यस बैंकको गत वर्षको तुलनामा ३६.८६ प्रतिशत बढेर २३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । यस्तै, एनआईसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर २२ अर्ब ७३ करोड रुपैयाँ, नबिल बैंकको २२.१७ प्रतिशत बढेर २० अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९.६९ प्रतिशत बढेर १७ अर्ब १४ करोड रुपैयाँ र हिमालयन बैंकको ६.६४ प्रतिशत बढेर १५ अर्ब २७ करोड रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेका हुन् । यस्तै, प्राइम बैंकको १.२९ प्रतिशत बढेर १३ अर्ब ८६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३४.८८ प्रतिशत बढेर १३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ८० प्रतिशत बढेर ११ अर्ब २३ करोड रुपैयाँ, नेपाल बैंकको २४.६७ प्रतिशत बढेर १० अर्ब १५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.६६ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ६१.४३ प्रतिशत बढेर ६ अर्ब ६८ करोड रुपैयाँ, लक्ष्मी बैंकको १८.१४ प्रतिशत बढेर ५ अर्ब ५१ करोड रुपैयाँ र कृषि विकास बैंकको ०.४७ प्रतिशत घटेर १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् । यस्तै, सानिमा बैंकको १०.२६ प्रतिशत घटेर ६ अर्ब १३ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १४ प्रतिशत घटेर ६ अर्ब १ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ६.५८ प्रतिशत घटेर ५ अर्ब ३२ करोड रुपैयाँ, सनराइज बैंकको ५ प्रतिशत घटेर ४ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकको ९.१४ प्रतिशत घटेर ४ अर्ब ४४ करोड रुपैयाँ, एनएमबि बैंकको ३९.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड रुपैयाँ, कुमारी बैंकको २३.१२ प्रतिशत घटेर २ अर्ब १० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ६६.७६ प्रतिशत घटेर २ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् ।
एक वर्ष योजना बनाएर बाँकी ४ वर्ष काम गर्छौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्ष काम गरेर देखाउने बताए । मंगलबार चितवन(२ को उपनिर्वाचनमा विजय भएपछि चितवनवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अबको एक वर्ष योजना बनाउँछौं, र बाँकी ४ वर्ष हामीहरु काम गरेर देखाउँछौं,’ उनले भने । उनले आफ्नो कारणले भएको क्षतिलाई भष्टचार गर्नेहरुबाट उठाएर तिर्ने बताएका छन् । उनले आफुबाट भएको यसअघिको त्रुटीको कारण राज्यको ढुकुटीमा भएको क्षतिको लागि माफी माग्दै यसको भरपाई आफ्नो कामबाट गर्ने बताए । यस्तै, उनले भोट कसरी हाल्ने भनेर सबैले चितवनवासीसँग सिक्नुपर्ने बताएका छन् ।