विकासन्युज

आईएमईले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । आईएमईले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आईएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न भएको हो । यसको लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ। आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौं । जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट सुरु भएर दोधारा – अतिथि रिसोट पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै, सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा ५० रुपैयाँ बोनस

काठमाडौं । आइएमई पेले अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट नेपाल पठाएको रकम प्राप्त गर्दा ग्राहकहरुलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स आइएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनस प्रदान गरिने आइएमई पेले बताएको छ । सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको कम्पनीले जनाएको छ ।

सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए । फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए  । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए । यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ । फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् । जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् । तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताए । उनले भने, ‘फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।’ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ । ‘जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उनले भने, ‘जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।’ निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ । इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गरे । उनका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । ‘सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ’, श्रेष्ठले भने । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उनको भनाइ छ । हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ । उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ । आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उनले बताए । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ । उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताए । ‘नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ, नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ’, प्रवक्ता निरौलाले भने । उनले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गरे । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस

आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनिहरुले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतलाई सुझाव दिएका हुन । सोमबार र मङ्गलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए । बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गनुपर्ने बताए । साथै उनले बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह समेत गरे । बैठकमा अर्थमन्त्री डा महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएका थिए । अर्थमन्त्री डा महतले सांसदहरुले राखेका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताएका थिए । जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने उनले प्रतिबद्धता व्यक्त गरे । बैठकमा यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछिको परिणाम, समसामयिक राजनीतिलगायत विषयमा समेत सांसदहरुले आफ्ना धारणा राखेका थिए ।

घट्यो विकासे मन्त्रालयको बजेट सिलिङ, गौरवका आयोजना निर्माण प्रभावित हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको सिलिङ घटेको छ । अर्थमन्त्रालयले विकासे मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको हो । यातायातमन्त्री प्रकाश ज्वालाले मंगलबार पत्रकारहरुसँग छलफल गर्दै अर्थ मन्त्रालयबाट ५४ अर्ब रुपैयाँले बजेटको सिलिङ घटेर आएको बताए । उनका अनुसार चालू आर्थिक वर्षका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आवका लागि एक खर्ब १३ अर्बको मात्रै सिलिङ आएको हो । चालू आवको भन्दा पनि कम बजेटको सिलिङ हामीलाई आएको छ, थप बजेट माग्नुपर्ने अवस्थामा घटेर आउँदा योजना अधुरा नै हुन्छन की भन्ने हाम्रो अनुमान हो, उनले भने, थोरै बजेटमा काम गर्न चुनौती छ, योजना अनुसारको काम गर्नसक्ने अवस्था नै भएन, कम बजेट हुँदा नयाँ आयोजना थपिदैन् ।’ बजेट कटौती हुँदा आगामी वर्ष नयाँ विकासका कार्यक्रम र योजनाहरु समेत बजेटमा समावेश गर्न मुस्किल पर्ने देखिएको उनको भनाई छ । उनले भएकै निर्माणलाई प्राथमिकता दिँदै नयाँ कुनै पनि आयोजना नथपिने बताए । मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ घटेर आएसँगै ४० प्रतिशत पुँजीगत खर्च घट्ने बताए । विकासे मन्त्रालयकै बजेट कटौतीहुँदा निर्माण भएका योजनामा समेत असर पर्ने उनको भनाई छ । उनले चालू आवका लागि भौतिक मन्त्रालयको मात्रै १२ अर्बभन्दा बढी फछ्यौट नभएको बताए । ‘हामीले २ महिना अगाडीदेखि अर्थमन्त्रालयमा रकम भुक्तानीका लागि माग गर्दै आएका छौँ, अर्थले बजेट विनियोजन गर्ननसक्दा विभिन्न आयोजनाका १२ अर्बभन्दा बढी रकम बक्यौता छ, समयमा नै बक्यौता भुक्तानी हुन नसक्दा पुँजीगत खर्च कम देखियो, उनले भने ।’ राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेटको सिलिङ तोकेको छ । चालू आवका लागि ल्याईएको बजेटभन्दा पनि कम बजेटको सिलिङ आएपछि अर्थले अधिकांश मन्त्रालयको बजेट सिलिङ घटाएर पठाएको हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । चालू आवमा ल्याईएको बजेटभन्दा आगामी आवका लागि १ खर्ब ५ अर्ब ३९ करोड कमको सिलिङ दिइएको छ । गौरवका आयोजनाको खर्च कटौती अर्थले बजेटको सिलिङ घटाएर पठाउँदा त्यसको असर राष्ट्रिय गौरवका आयोजनामा पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । बजेट सिलिङ कम हुँदा अधिकांश पुँजीगत खर्चहरु कटौती भएका छन् । काठमाडौं–मधेश द्रुतमार्गका लागि २० अर्बको सिलिङ प्राप्त भएको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार नेपाली सेनाले निर्माण गरिरहेको उक्त द्रुतमार्गका लागि थप ५० अर्ब रुपैयाँ माग गरिएको थियो । माग गरिएकोमा आधाभन्दा पनि कम बजेट आउँदा निर्माणमा समस्या देखिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । आगामी आर्थिक वर्षमा मध्यपहाडी राजमार्ग, मदन भण्डारी, हुलाकी र उक्तरदक्षिण करिडोर, पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजना लगायत अधिकांश गौरवका आयोजनाको बजेट कटाैती हुने भएको छ ।

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराएका हुन । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम सभालाई जानकारी गराएका हुन ।

टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)

काठमाडौं । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।   २०७२ सालको महाभूकम्पले क्षति पुर्याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् ।  अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् ।   कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । आजको फोटो फिचरमा टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।