बढ्यो कोरोना, एक सय ३६ सङ्क्रमित थपिए
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो एक सय १३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् । यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।
अजोड इन्स्योरेन्सका संचालक गुरुङले दिए राजीनामा
काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत गरेको छ ।
बिजनेसमा थप एग्रेसिभ बन्यो शिखर, पछ्याउँदै मर्जरमा गएका कम्पनी, सलिको र सिद्धार्थ प्रिमियरबीच टक्कर
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा बढी एग्रेशिभ देखिएको छ । दुई कम्पनी एक भएका अर्थात मर्जरमा गएका अन्य कम्पनीको तुलनामा पनि कम्पनी बिजनेश ग्रोथरेट सबैभन्दा बढी देखिएको हो । शिखर इन्स्योरेन्स रकम र प्रतिशत दुबैको आधारमा सबैभन्दा अग्रस्थानमा रहेको छ । पछिल्लो एक महिनाको तुलनामा कम्पनीले सबैभन्दा बढी अर्थात २४.२२ प्रतिशतले आफ्नो बिजनेस अर्थात प्रिमियम संकलन बढाएको छ । गत फागुनमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले चैत सम्ममा ४ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ । जसले कम्पनी बिजनेसमा एग्रेशिभ भएको बुझिन्छ । त्यस्तै, शिखरपछि एग्रेशिभ बन्नेमा युनाइटेड इन्स्योरेन्स छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २१.४७ प्रतिशतले बिजनेस बढाएर एक अर्बको क्लबमा प्रवेश गर्न सफल भएको छ । फागुनमा ८९ करोड ५९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले चैतसम्ममा एक अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, रकमको आधारमा भने शिखरको पछिपछि क्रमशः मर्जरमा गएका अधिकांश कम्पनी रहेका छन् । जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरबीच दह्रो प्रतिस्पर्धा देखिएको छ । समीक्षा अवधिमा सगरमाथा लुम्बिनीले १२.१६ प्रतिशत र सिद्धार्थ प्रिमियरले १२.१४ प्रतिशतले प्रिमियम बढाएको छ । गत फागुनमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेको सूचीमा पाँचौं स्थानमा रहेको हिमालयन एभरेष्ट चैतसम्ममा चौथो स्थानमा पुगेको छ । समीक्षा अवधिमा हिमालयन एभरेष्टले २० प्रतिशतले बिजनेस बढाएर २ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ । यता चौथो स्थानमा रहेको नेको एक स्टेप तल झरेको छ । कम्पनीले चैतसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा १४.३८ प्रतिशतले बढी हो । त्यसैगरी, अन्य ९ कम्पनी अर्ब क्लबमा रहेका छन् । जसमा राष्ट्रिय बीमा कम्पनी, एनएलजी, सानिमा जिआईसी, अजोड, आइएमई जनरल, प्रभु, नेपाल, दि ओरियन्टल र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । युनाइटेड र नेशनल इन्स्योरेन्स भने हाल करोड क्लबमा नै सीमित रहेका छन् । यद्पि दुबै कम्पनीले समीक्षा अवधिमा बीमाशुल्क संकलनमा क्रमशः २१ र १८ प्रतिशत वृद्धि गरेका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीले ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन गत फागुनको तुलनामा १६.०२ प्रतिशतले बढी हो । गत फागुनमा मात्रै कम्पनीहरुले २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । कुन कम्पनीले कति उठाए प्रिमियम ?
किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव
किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ । करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो । ९१ घर परिवारलाई राहत वितरण खाद्यान्न अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का ९१ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए । खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुमुसुरका ९१ घर परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो । हाइ हिमालयन एक्सपिपडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले एक लाख २० हजार, द इस्ट फाउण्डेशन संस्थाबाट २० हजार र नेल्होस नेपाल संस्थाबाट ३० हजार सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताए । पालिका अध्यक्ष भोटेले उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्न सङ्कट समाधान गर्न थप राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिको सिफारिससहित पाँच सय क्विन्टल चामल कोशी प्रदेश सरकारसँग माग गरिएको जानकारी दिए । उनका अनुसार सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पु¥याइने खाद्यान्न सामग्री अचाक्ली महँगो भएको छ । रासस
आगामी बजेट उत्पादनमुखी हुनु पर्छ : अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट उत्पादनमुखी हुनु पर्ने बताएका छन् । अध्यक्ष मल्लले विकासन्युजसँग कुरा गर्दै अहिलेसम्म बजेट वितरणमुखी हुने गरेकोले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वितरणमुखी भन्दा पनि उत्पादनमुखी हुनु पर्ने बताएका हुन् । आगामी बजेट मुलुकलाई स्थायित्व दिने खालको हुनु पर्ने उनको भनाइ छ । ‘मूलुकको अर्थतन्त्र सुधारका लागि प्रत्येक वर्ष निजी क्षेत्रको तर्फबाट अर्थ मन्त्रालयलाई राय सुझाव पेश गर्दै आएका छौं, बजेटका कार्यक्रमले मुलुकलाई सम्वृद्ध बनाउन तर्फ सरकारको ध्यान जानु पर्छ, अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको बजेट आवश्यक छ,’ उनले भने । आगामी बजेट सानो र चुस्त दुरुस्त हुनु पर्ने उनको भनाइ छ । विनियोजित बजेटलाई पनि खर्च गर्न सक्ने प्रभावकारी व्यवस्था गर्नु पर्ने उनले बताए । बजेट समय सापेक्षित भए मात्र बैंकिङ प्रणालीमा पनि तरलताको समस्या सुधार हुँदै जाने बताए । ‘आगामी बजेट देशलाई आत्मनिर्भर बनाउने खालको हुन आवश्यक छ, स्रोत र साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधि ल्याउन जरुरी छ, मुलुकलाई डिजिटलाइजेशनमा अगाडि बढाउनु पर्छ,’ उनले भने । उनले पछिल्लो समय उधारो कारोबार मात्रै हुने गरेको बताउँदै यसलाई बन्द गर्ने किसिमको बजेट तयार गर्नु पर्ने बताए । विनियोजित बजेटको खर्च समयमै नहुँदा आयोजनाको लागत पनि बढेको उनको भनाइ छ । उनले आगामी बजेट युवालाई प्रोत्साहन गर्ने किसिमको हुनु पर्ने उनको भनाइ छ । युवाहरु बढ्दो संख्यामा विदेशिरहेको विषयलाई जोड दिँदै यसलाई रोक्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने धारणा राखे । ‘आगामी बजेट उत्पादनशिल र प्रभावकारी हुनु पर्छ, वितरणमुखी हुनु भएन, बजेट छुट्याउने तर काम नहुने प्रवृति हावी छ, अब यस्तो हुनु भएन, एउटा ठोस नीति बनाएर बजेट विनियोजन गर्ने र त्यसको प्रभावकारी रुपमा खर्च हुने वातावरण सिर्जना हुनु पर्छ, तब मात्रै मुलुक अगाडि बढ्छ,’ उनले भने ।
‘प्रविधीको सदुपयोग गर्नसके आर्थिक विकासमा धेरै योगदान पुग्छ’
सञ्चार तथा सुचना प्रविधी दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । क्यान महासंघको अगुवाइमा विगत १० वर्षदेखि सुचना प्रविधी कार्यक्रमका साथ आइसिटी डे मनाउने गरिएको छ। यसलाई सरकारी तवरले पनि व्यापक ढंगले मनाउन थालिएको छ। जुन एउटा स्वागतयोग्य कुरा हो । नेपालमा पहिलोपटक कम्प्युटर मे महिनाको पहिलो हप्तामा भित्रिएको तथा क्यान महासंघको स्थापना पनि मे महिनाको पहिलो हप्तामा नै भएको हुँदा मे २ लाई राष्ट्रिय सञ्चार तथा सुचना प्रविधी दिवसका रूपमा मनाइँदै आएको छ । मे २ लाई आइसिटी डेका रूपमा मनाइने भए तापनि आज २४ अप्रिलदेखि नै आइसिटी सप्ताह सुरु भइसकेको छ । यो सप्ताहभरि नै आइसिटी सम्बद्ध संघसंस्थाले सञ्चार तथा सुचना प्रविधी जनचेतनामूलक सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जुन मे २ का दिन व्यापक र भव्यताका साथ सम्पन्न हुँदै छ। यो दिनलाई अझ व्यापक बनाउन सम्मेलन, प्रभातफेरी लगायतका कार्यक्रम गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बनाउने पहल भइरहेका छन् । राजधानीमा मात्रै होइन क्यान महासंघका प्रदेश/जिल्ला शाखाको समन्वयमा विभिन्न प्रदेश/जिल्लामा पनि ‘आइसिटी डेु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् । सञ्चार तथा सुचना प्रविधी दिवसको विकास र महत्व प्रविधिको तीव्रता विकासले सिंगो विश्व जगत अहिले हातको औँलामा सीमित बन्न पुगेको अवस्थामा विश्वमा आएको प्राविधिक क्रान्तिसँगै नेपालमा पनि प्रविधिले ठुलो फड्को मारेको देखिन्छ । विगतमा भालेको डाकोसँगै उठ्ने नेपाली समुदाय अहिले ‘अलार्म’ को सहायतामा उठछन् । दिनभर स्मार्टफोन, आइफोन, ल्यापटप/कम्प्युटर, ट्याब्लेट, फ्याब्लेटमा अभ्यस्त हुन्छन् । योसँगै सामाजिक सञ्जाल टिकटक, यूट्यूब, फेसबुक, भाइबर, ट्विटर, ह्वाट्सअप, लिंक्डइन, इमेल र इन्टरनेटमा व्यस्त हुन्छौँ । कुनै गेम खेल्नुपर्यो भने स्मार्ट एप्सको सहायता लिन्छौँ, तिथिमिति हेर्नुपर्यो अथवा कन्भर्ट गर्नुपर्यो भने एप्सकै सहायता लिन्छौँ । एकै क्लिकमा विश्वभरका भौगोलिक परिवेश र गतिविधि बुझ्न सक्छौँ । पछिल्लो समय अनलाइन सपिङ त सामान्य नै बनेको छ । त्यतिबेला लामो एन्टेना राखेर हेर्नुपर्ने टिभी अहिले डिजिटलमय बन्न पुगेको छ । अहिले अनलाइन बैंकिङ, अनलाइन टिकेटिङ, अनलाइन जब, अनलाइन मार्केटिङ, सोसियल मिडिया मार्केटिङ, अनलाइन एजुकेसन,अनलाइन हेल्थ लगायतको सुविधा भित्रिएको छ । प्रविधि केन्द्रित उत्पादनको त कुरा गरी साध्य छैन । अहिले एउटा स्मार्टफोनभित्र अनेक फाइदा लुकेका हुन्छन् । स्मार्टवाचबाट मुटुको धड्कन र प्रेसर जाँच्न सकिन्छ । फोटो खिच्न क्यामेराको जरुरी छैन । आँखामा लगाइएको चस्माबाटै फोटो खिच्न मिल्छ । ड्राइभरबिना कार गुड्छ । घडीबाटै फोन गर्न मिल्छ । रोबोटबाट चमत्कारी कामहरू गर्न सकिन्छ । यसरी सूचना प्रविधि क्षेत्रले आमजनमानसको आधारभूत आवश्यकताका रूपमा विशेष भूमिका खेलिरहेको अवस्थामा यस राष्ट्रिय सञ्चार तथा सुचना प्रविधी दिवसको महत्त्व अझ बढी हुनेछ भन्ने हामीलाई लागेको छ । सञ्चार तथा सुचना प्रविधीको आर्थिक विकासमा योगदान हुन त एक दिन दिवस मनाउँदैमा मुलुकमा प्रविधि क्षेत्रको कायापलट नै हुने होइन, तर समग्र प्रविधि क्षेत्रको विकास र मुलुकको समृद्धिका लागि यो एउटा कोसेढुंगा बन्ने कुरामा भने कुनै सन्देह छैन । यी र यस्ता कार्यक्रमले नै जनचेतना अभिवृद्धि तथा सर्वसाधारणको पहुचँ र विस्तारमा टेवा पुग्दछ । मुलुक समृद्धिको महत्त्वपूर्ण मेरुदण्ड बन्न पुगेको प्रविधि क्षेत्रलाई हरेक कोण र तवरबाट प्राथमिकताका साथ सदुपयोग गर्नसके आर्थिक विकासमा अझ धेरै योगदान पुर्याउने पक्का छ । नेपाल कृषिप्रधान देश भए पनि पछिल्लो समय मुलुकको समग्र अर्थतन्त्रमा प्रविधि क्षेत्रको योगदान कृषि क्षेत्रको भन्दा प्रशंसायोग्य छ। जब कुनै क्षेत्रले मुलुकको अर्थतन्त्रमा दरिलो टेवा दिन्छ भने त्यसलाई सरकारले प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने कि नगर्ने ? यो जल्दोबल्दो विषय हो । प्रविधि क्षेत्र अहिले जुन तहमा पुगेको छ त्यो निजी क्षेत्रको पहल र बलबुताले अघि बढिरहेको छ भन्दा अत्युक्ति नहोला । यसमा सरकारले केही राहत दिने हो भने त्यसले राम्रो मलजलको काम गर्नेछ । आइसिटीको विकास नै मुलुकको विकास हो । अन्तर्राष्ट्रिय परिवेश नियाल्दा पनि यो कुरा घामजत्तिकै छर्ल ङ्ग हुन्छ । हुनतस् नेपालमा पनि यसलाई सबैले स्वीकार नै गरेका छन् । जस्तोसुकै कठिन काम पनि प्रविधिको प्रयोगबाट सहजै सम्पन्न गर्न सक्छौँ । अनलाइन, सोसियल मिडिया र डिजिटलाइजेसनको व्यापकताले मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सक्छौं । यस्ता क्षेत्रमा अब पछाडि फर्कन मिल्दैन । सञ्चार तथा सुचना प्रविधिमा सदुपयोग आवश्यक हरेक कुरामा जस्तै प्रविधि जगतमा पनि विकाससँग विकृति पनि देखिएका छन् । हरेक कुरामा सकारात्मक र नकारात्मक पाटो हुन्छन् । त्यो प्रयोग गर्ने व्यक्तिमा निर्भर रहने कुरा हुन् । कुन प्रविधि कसरी र केका लागि प्रयोग गर्ने भन्ने बुझेर मात्रै सदुपयोग गर्ने हो भने त्यसको नतिजा दुवै हातमा लड्डु साबित बन्छ । तर, प्रविधिको प्रयोगका नाममा दुरुपयोग गर्दा त्यसले आफ्नो मात्रै होइन, अरूको जीवनसमेत बर्बाद बनाइदिन्छ । प्रविधिको दुरुपयोग हुनुमा प्रयोगकर्ता स्वयंको ठूलो दोष देखिने गरेको छ । चेतनाको कमी, ख्यालठट्टा र सजगतामा बेवास्ताले गर्दा पनि प्रविधिको दुरुपयोग भइरहेका छन् । तर, स्मरणीय कुरा के हो भने प्रविधिको विकासका लागि नकारात्मक कुराहरूमा अड्केर बस्नुभन्दा पनि सकारात्मक कुराहरूलाई मनन गर्दै अघि बढ्नुपर्ने देखिन्छ । सञ्चार तथा सुचना प्रविधि क्षेत्र बल्लतल्ल फस्टाउन लागेको सञ्चार तथा सुचना प्रविधि क्षेत्र, नीतिगत समस्या र अस्थिर राजनीतिका कारण खस्किन सक्छ। प्रविधि एउटा मात्रै यस्तो विषय हो जुन जति तीव्र गतिमा विकास हुन सक्यो, त्यति नै त्यस देशका जनताको जीवनस्तर र समग्र मुलुकको समृद्धि र विकास हुन्छ । तर, विडम्बना यो कुरा नीतिगत तहमा प्रभावकारी ढंगले लागू हुन सकेको छैन । जसको प्रत्यक्ष असर मुलुकको विकासमा परिरहेको छ, तर यसको अझै हेक्का हुन सकेको छैन । यो कुराले नीतिगत तहमा स्थान पाउन नसक्दा प्रविधि क्षेत्रका दक्ष जनशक्तिहरू धमाधम बिदेसिइरहेका छन् । देशका लागि केही गर्छु भन्नेहरूका लागि समेत वातावरण बन्न सकेको छैन । लगानीको प्रत्याभूति दिन सकेको छैन, यो भन्दा विडम्बना के होला र ? कम्प्युटर हार्डवेयर, सफ्टवेयर, कम्युनिकेसन तथा सोसियल मिडियाको भरपूर प्रयोग र सजकता आजको आवश्यकता हो । यसको विकास, विस्तार र प्रवद्र्धन अर्को महत्त्वपूर्ण कुरा हो । यसमा निजी क्षेत्रको पहल र प्रयासलाई सरकारले हातेमालो गर्न जरुरी छ। अर्को महत्त्वपूर्ण कुरा के पनि हो भने यस क्षेत्रमा आवद्ध दक्ष, अर्धदक्ष जनशक्ति तथा व्यवसायीहरूले अरूको मुख ताक्नेभन्दा पनि सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरी एकजुट भएर अघि बढ्न आवश्यक छ । विद्यालय तहदेखि नै विधार्थीहरुलाई सञ्चार तथा सुचना प्रविधीको आधारभूत ज्ञान, यसको पहुँच तथा असर, सञ्चार तथा सूचना प्रविधिका फाइदाहरू, यसको दुरुपयोगका सम्भावना तथा जोखिमहरूका साथै साइबर सुरक्षाका विषयमा सीप र शिक्षा प्रदान गर्नु अत्यावश्यक छ । (लेखक कम्प्युटर एसोसिएशन नेपाल महासंघका महासचिव हुन् । )
परिवर्तन उल्ट्याउने षड्यन्त्र असफल पार्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताए । पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले कुनै भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिए । ‘नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्।’ उनले भने, ‘संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको बताए । उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याए । ‘जसले यो परिवर्तन ल्याए, व्यवस्था ल्याए, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन ल्याउन आजसम्म के गरे, के गर्न सकेनन् ? भन्ने समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी, समृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ।’, उनले भने । उनले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताए । उनले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले अवश्यकता रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको उल्लेख गरे । उनले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताए । ‘पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो’, उनले भने, ‘२०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।’
आवश्यक परे भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था पनि विधेयकमा हुनुपर्छ : पदम गिरी
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन् मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताए । ‘२, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार ग¥यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्नेगरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ त्यो भन्दा बढी पनि कारबाही गर्नुपर्छ, सर्वश्वहरण पनि गर्नुपर्छ,’ उनले भने । प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए ।