विकासन्युज

रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडाैं । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)को जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ । यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो । निगमको जहाजले प्रतियात्रु छ हजारमै उडाउने भएपछि रेसुङ्गा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो । परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आउनुभएको थियो । ‘विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ, बिहानी समयमा उडान राम्रो हुन्छ’, क्याप्टेन बिष्टले भने, ‘रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।’ जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए । ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ’, उनले भने, ‘अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।’ निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ । रासस

सरकारबाट समर्थन फिर्ता लिने सम्भावना बढेको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त सांसद रवि लामिछानेले सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि पत्रकारको प्रश्नको उत्तर दिने क्रममा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताएका हुन् । सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो रु भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफमा दिँदै उनले भने,’त्यस्तो सम्भावना बढी देखिन्छ, कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो, सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ ।’

डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्याइएको छ । प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याई सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए । ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि टेण्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनौट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघुजलविद्युत आयोजनामार्फत विद्युत् आपूर्ति हुदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत हुनेछ, साथै जिल्लाभरी विद्युत सेवा विस्तार गरी विद्युतीकरणका लागि काम भइरहेको छ ।’ प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरुमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका करिब १ हजार ७ सय ग्राहकहरु छन् । डोल्पाका अन्य क्षेत्रमा लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत आपूर्ति भइरहेको छ । प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक ९इआइबी०बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्ध गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए । चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेसनहरु निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गरे ।

रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएकोमा कनेक्ट आइपीएस सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको छ । बैंकले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको हो । नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका थिए । राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो । आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्म कनेक्ट आइपीएस मार्फत २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ ।

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको । खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछन् । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो । बालबालिका शिक्षाबाट वञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे । २६ वर्षमा १२ सन्तानलाई जन्म भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरे । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेका छन् । खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन/चार महिनाको बीचमै गुम्यो । तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे । ‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झन्छन्, ‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।’ भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उनीहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए । पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खुलाए । सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो । १२ वर्षमा छोरीलाई विद्यालय भर्ना आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाए । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन् । रिरा खड्का भिट्टुकी माइली छोरी हुन् । उनको उमेर १४ वर्ष भयो । अहिले उनी ३ कक्षामा पढ्छिन् । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन् । नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन । यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन् । ‘सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।’ उहाँ बोल्न नसकी भक्कानिन्छन् । आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए । ‘हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो.’ उनले भने । अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए । उनले भने, ‘विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट नयाँ पोसाक पाउनु !’ घर जलेर पीडामाथि पीडा खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । ‘डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । दुई/चार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो ।’ खड्का सम्झन्छन् । खड्काको गोठमा तीन बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भनिन्, ‘हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ ।’ पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो । ‘त्यो पनि ढिला भइसकेको रहेछ,’ उनले भनिन् । घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन् । ‘बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,’ बेलु भन्छिन्, ‘भरखर किनेका चार/पाँच ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।’ त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताइन् । खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो ।आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए । ‘कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ । केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ ।’ उनले भने । बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनले बताए । ‘गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ’, उनले भने, ‘हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ । तर, के गर्नु, पापी पेट मान्दैन । उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ । त्यसले पनि हप्तौँ दिन छाक टर्छ ।’ ओहोरदोहोर गर्र्दा १० हजार खर्च, राहत मिल्यो सात हजार घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टुले । उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ । राहतका लागि उहाँ दसौँ पटक पालिका पुगे । भिट्टु भन्छिन्, ‘घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन । तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो ।’ त्यो बीचमा भिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो । ‘तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,’ उनी सम्झिन्छन्, ‘त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ । तर राहत पाउने कहिले हो कहिले भयो ?’ पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे । ‘धेरैपछि उहाँले राहत ल्याउनुभयो सात हजार रूपैयाँ । त्यसबाट रु दुई हजारशिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टु खर्च दिनुभयो । बाँकी रु पाँच हजार राहत घरमा पुग्यो ।’ उनी भन्छन् । सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उहाँका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु । ‘त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन् । पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ ।’ उनले भने ।राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँछन् । ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले बताए । गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए । खानडाँडामा उहाँले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ । त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन । ‘डाँडामा पानी छैन, मल पनि हुँदैन । अनि के उत्पादन हुन्थ्यो र ? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ,’ उनी भन्छन् । अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन् । ‘गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,’ भिट्टु भन्छन्, ‘खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन् । म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु ।’ गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन् । ‘घरमा गोरू हेर्ने मान्छे छैन भन्नुहुन्छ, छोराछोरी स्कुल जान्छन रे । त्यो समस्या देखाएर गाई गोरू सिधैँ यतै लिएर आउँछन् । कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि “हुँदैन” भन्न सकिँदैन । पालिरहेको छु ।’ उनले भने । गोरू मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए । रासस

तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको घटेको मूल्य आज तोलामा १ लाख ९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । साथै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् ।

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन् । उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताए । नेपाल ब्यूटिसियन सङ्घको वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले विश्वका ठूला कम्पनीहरु नेपालमा आ–आफना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पु¥याउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाउने धारणा व्यक्त गरे । उनले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको बताए ।