चालू पुँजी कर्जा मागदर्शनको विरोध विदेशीको इशारामा
नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाको साढे ६ दशकभन्दा बढी अवधि पार गरिसकेको हुँदा कार्यरत दृढता र क्षमतामा सोही अनुरुप वृद्धि गर्दै गइरहेको छ । तरपनि आर्थिक विकासको क्रमसँगै नेपाल राष्ट्र बैंकसँग विकासका साझेदार र सर्वसाधारणको अपेक्षा बढ्दै गइरहेको छ । यो चुनौतिलाई हामीले सामना गर्नै पर्दछ । ‘नेपाल राष्ट्र बैंक ऐन २०१९’ अन्तर्गत राष्ट्र बैंकले मौलिक क्षेत्रमा लगभग पूर्ण स्वायत्तता प्राप्त गरेको थियो । जुन म गर्भनरबाट अवकाश हुँदा पनि बैंक पूर्ण स्वायत्तता थियो । त्योपछि भएको संशोधनले हाल नियन्त्रण गरिएको छ । यस प्रकारको संशोधन हुनुमा संसदीय समितिमा व्यापारिक स्वार्थ (कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट)मा भएका प्रतिनिधिहरुको उपस्थिति र नेपाल सरकार अर्थमन्त्रालयको नियन्त्रणमूखी चाहनाले महत्वपूर्ण भूमिका खेलेको जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गर्ने हो भने राष्ट्र बैंक अझै पनि पूर्ण स्वायत्त हुन आवश्यक रहेको मैले देखेको छु । केही महिना यता बैंक ब्याजदर, त्यसमा पनि कर्जाको ब्याजदर बारे निकै आलोचनाहरुको सामना गर्नुपर्यो । व्यापारिक समूहले देशको प्रमुख कार्यकारी सभामुखसम्म ब्याजदरबारे हस्तक्षेप गर्न अनुरोध गरियो । तर, सोही प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकसँग छलफल गरी समस्याको निकास निकाल्न सकेन । नेपाल राष्ट्र बैंकले २०४६ देखि नै ब्याजदर निर्धारणमा बजारले निर्धारण गर्ने व्यवस्था मिलाएको हुँदा राष्ट्र बैंकले ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्न मिल्दैन र सक्दैन पनि । निक्षेपको ब्याजदरको आधारमा कर्जाको ब्याजदर निर्धारण हुने र निक्षेपको ब्याजदर वाणिज्य बैंकहरुसँग रहेको तरलताको आधारमा निर्धारण हुने तथ्य मननयोग्य छ । नेपाल सरकारको विकास खर्चको दयनीय स्थिति विकासका क्रममा संलग्न ठेकेदारहरुको अर्बौं रकमको भुक्तानी हुन नसकेको कारण र कोरोनाकालपछि उपाभोक्ता मूल्यमा भएको वृद्धिको कारण वाणिज्य बैंकमा आवश्यक निक्षेप संकलन हुन नसकेको लगायत कारणले तरलतामा संकूचन आएको तथ्य विदित हुँदाहुँदै पनि एकोहोरो हिसाबले नेपाल राष्ट्र बैंकमाथि राजनीतिक र अन्य दवावहरु सिर्जना भएको देखिन्छ । जुन उपयुक्त हो भन्न म सक्दिन । नेपाल राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जा मार्गदर्शन विदेशी निकायको व्यापारिक समूहबाट ठूलो विवाद सिर्जना गरिएको छ । वास्तवमा राष्ट्र बैंकले यो मार्गदर्शन जारी गर्नुको उद्देश्य के लाग्छ भने जहाँसम्म जुन प्रयोजनको लागि कर्जा लिएको हो, त्यही प्रयोजनमा खर्च हुनुपर्छ, अरुमा खर्च गर्न पाइँदैन भनेर हो जस्तो मलाई लाग्छ । मैले के देखेको छु भने हामी कहाँ व्यापारिक समूहको इन्ट्रेष्ट झण्डै–झण्डै ठेकेदारहरुको जस्तै प्रकृतिको छ । ठेकेदारहरुको प्रकृति के छ भने नेपाल सरकारसँग ठेक्का सम्झौता हुनासाथै १० प्रतिशत पेश्की लिने र त्यो पेश्की घरजग्गा र धितोपत्रमा लगानी गर्ने । त्यही प्रवृति व्यापारिक समूहहरुमा पनि विद्यमान छ । त्यसैले पनि व्यापारिक समूहले यो मार्गदर्शनको धुमधाम विरोध गर्नुभयो । तर, त्यो विरोध गर्नुपर्ने कुनै औचित्य देखिँदैन । र, समयअनुसार उहाँहरुले पनि आफूलाई सुधार गर्दै लानु पर्छ । कोरोनाकाल र त्यसपछि नेपाल राष्ट्र बैंकले अवलोकन गरेको अत्यन्तै उदार मौद्रिक नीतिका कारण अर्थतन्त्रलाई कोल्याप्स हुनबाट एकातिर बचायो भने अर्कातिर अधिक माग सिर्जना भई शोधानान्तर घाटा समेत हुन पुग्यो । शोधानान्तर स्थितिमा सुधार ल्याउन बैंकले केही महिना अघिदेखि अवलम्बन गरेको अनुदार मौद्रिक नीतिको कारण क्रमशः शोधानान्तर स्थितिमा सुधार हुँदै गइरहेको देखिन्छ । कोरोनाकालमा अपनाइएको अत्यन्तै उदार मौद्रिक नीति र शोधानान्तर स्थितिमा सुधार ल्याउन अपनाइएको संकूचनकारी मौद्रिक नीतिको कारण हाल युक्रेनमा जारी लडाई र त्यसले सिर्जना गरेको आपूर्ति अवरोधको कारण सिर्जित विश्वव्यापी मुद्रास्फिति र केन्द्रिय बैंकहरुले ब्याजदर वृद्धि गरेको अवस्थामा हामीले मध्यमावधि मौद्रिक नीति अवलम्बन गर्नुपर्ने आवश्यक देख्दछु । अहिले धेरै लिभरल हुन सक्ने अवस्था पनि छैन । र, धेरै संकूचनकारी अवस्था नभएको हुनाले नेपाल राष्ट्र बैंकले अबलम्बन गर्ने मौद्रिक नीति मध्यमावधि किसिमको हुन जरुरी छ । हाल एकथरी समूहले बैंकका कर्मचारीहरु माथि हातपात गर्ने र बैंकको ऋण नतिर्ने जस्ता आन्दोलन शुरु गरेको देखिन्छ । फलस्वरुपः सम्पूर्ण बैंकिङ क्षेत्रको निष्कृय कर्जामा वृद्धि भएको छ । बैंकहरु भनेको सर्वसाधारणको निक्षेपको कस्टोडियन रहेको हुँदा वित्तीय स्थायित्वको लागि यसप्रकारको गतिविधि अत्यन्तै हानिकारक हो । नेपाल सरकार र सम्बन्धित निकायले जथाभावी वक्तव्य निकाल्ने, हातपात गर्ने, कालोमोसो दल्ने लगायतका यस्ता अराजक समूहहरुलाई समयमै कडा कारवाही गर्नुपर्ने आवश्यक देखिन्छ । हालको वित्तीय प्रणाली पनि जोखिमयुक्त हुन सकेको छैन । मैले दुई थरी जोखिम देखिरहेको छु । एकथरी जोखिम लघुवित्त वित्तीय संस्थाहरु र अर्कोथरी बचत तथा ऋण सहकारी संस्थाहरुबाट अर्थतन्त्रमा अहिले पनि जोखिमहरु कायमै छ । लघुवित्त वित्तीय संस्थाहरु खास गरी गरीबी निवारणको प्रवित्र उद्देश्यले स्थापना भएका संस्था भएपनि ऋणीहरुले मल्टिपल फाइनान्सिङ गरेको कारण समस्या बन्दै गएको हो । त्यसैले मल्टिपल फाइनान्सिङलाई तत्काल अन्त्य गरिनु आवश्यक छ, जसतर्फ राष्ट्र बैंकले कदम चालिसकेको मेरो बुझाई छ । जहाँसम्म ऋण तथा बचत सहकारी संस्थाहरुको स्वामित्वको प्रश्न छ, यी संस्थाहरुमा संस्थागत सुशासनको अभाव रहेको हुँदा विगत लामो समयदेखि चर्चामा रहेको सेकेन्ड टायर रेगुलेटरी एण्ड सुपरभाइजरी संस्थाको अबिलम्ब स्थापना हुनुपर्छ । म राष्ट्र बैंकबाट रिटायर्ड भएको १३ वर्ष भइसकेको छ । रिटायर्ड गर्ने बेलामा पनि उक्त संस्था स्थापना गर्ने विषय उठेको थियो । तर, १३ वर्षको अवधिमा पनि एउटा संस्थाको स्थापना हुन सकेन, यो अत्यन्तै लाजमर्दो कुरा हो । यसतर्फ सरकार सम्बेदनशील हुनुपर्यो । की जसरी सरकारी संस्थाहरुमा सर्वसाधारणहरुको दुःख पसिना काढेर जोगाएको बचतहरु ठगहरुले ठगी रहेका छन् । यो रोक्नको लागि कानुनमा संशोधन गर्नुपर्छ या के गर्नुपर्छ सरकारले उपयुक्त कदम अबिलम्ब कार्यान्वयन गर्नुपर्छ जस्तो मलाई लाग्छ । होइन भने ओरियन्टल सहकारी सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ जस्ता अन्य ठूला सहकारी पनि भविष्यमा नडुब्लान भन्न सकिन्न र यस्ता संस्थाहरुमा रहेका लाखौं लाख नेपालीहरुको बचत निक्षेप जोखिममा रहेको विषयलाई सबैले मनन गरी यसतर्फ अबिलम्ब कारवाही अगाडि बढाउनुपर्छ । आउँदा दिनहरुको चुनौति सामना गर्न नेपाल राष्ट्र बैंकले आफ्नो निरीक्षण र सुपरिवेक्षणको प्रभावकारिता वृद्धि गर्दै लैजानु पर्ने आवश्यकता देख्छु । यो सम्बन्धमा बैंक व्यवस्थापन सचेत र सजग छ भन्ने मैले विश्वास लिएको छु । जहाँसम्म नयाँ चुनौति सम्बन्धी प्रश्न छ क्रमिक रुपमा विकासको क्रममा रहेको डिजिटल बैंकिङ, इन्टरनेट बैंकिङ, इकमर्श जस्तो प्लेटफर्महरुबाट सिर्जना हुन सक्ने दायित्व र जोखिमतर्फ नेपाल राष्ट्र बैंक सचेत र सजग छ भन्ने विश्वास लिन चाहान्छु । अर्को जोखिम भनेको बैंकको आकार हो । हामीले मर्जरलाई प्रोत्साहन त गर्यौं, तर हामीलाई कति बैंक चाहिएको हो ? मर्जर र एक्विजिशनबाट बैंकको संख्या कटौति त हुन्छ । कटौती भएता पनि केन्द्रिय बैंकले निरीक्षण र सुपरिवेक्षण प्रभावकारी रुपमा गर्न नसकेको अवस्थामा सिस्टमेटिक रिस्क मर्नेतर्फ ध्यान दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु । त्यस्तै, एउटै धितो विभिन्न बैंकहरुबाट लिइने सप्राइम मोरटेज लेण्डिङमा कडाई गर्नुपर्ने र सम्बन्धित बैंकको सञ्चालक समितिलाई बढी जिम्मेवार बनाउनु पर्ने पनि आवश्यकता मैले देखेको छु । यसबाहेक नेपाल राष्ट्र बैंकले प्राथमिकता क्षेत्रहरु निर्धारण गर्ने सम्बन्धमा अर्थव्यवस्थामा पुर्याएको योगदान, भविष्यमा आउन सक्ने विकास र प्राथमिकतामा राख्नुपर्ने जस्तै आधारभूत वस्तु, उत्पादन गर्ने डण्डी सिमेन्ट, जलविद्युत निर्यातजन्य उद्योग आदिलाई लिन सकिन्छ । बैंक तथा वित्तीय क्षेत्र अत्यन्तै सम्बेदनशील र चलायमान क्षेत्र रहेको हुँदा यी क्षेत्रहरुमा निरन्तर भइरहेका परिवर्तन र विकासहरुलाई आत्मसाथ गरी सोही अनुरुप आफ्नो क्रियाकलापलाई पारदर्शी र व्यवसायिक दक्षताकासाथ सम्पन्न गर्न शुभकामना दिन चाहान्छु । राष्ट्र बैंकको सम्पत्ति भनेको राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरु नै हो । उहाँहरुले संस्थाप्रति इमान्दार भएर अनुशासनपूर्वक काम गर्नुभयो भने यो संस्था हाम्रो हो र संस्था राम्रो भएमा हाम्रो पनि भविष्य सूनिश्चित हुन्छ भन्नेमा कुरालाई मनन गर्दै काम गरेमा राम्रो हुनेछ । राष्ट्र बैंक एउटा नेपालको सबैभन्दा पढेलेखेका, विवेक भएका, विचार गर्न सक्ने, कुनै नीतिगत योगदान दिनसक्ने व्यक्तित्वहरुले भरिएको संस्था हो । गर्भनर भनेको संस्था प्रमुख हो । अन्य सबैले टीममा काम गर्नुभयो र संस्थालाई अगाडि बढाउनु भयो भने राष्ट्र बैंकको गरिमा र छवि उच्च बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास गरेको छु । (नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर भट्टराईले बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा राखेका विचारको सम्पादित अंश ।)
हुम्लाको उत्तरी नाम्खामा ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलासुस्ती
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन् । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन् । ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ । यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले नौ करोड ३३ लाख रुपैयाँमा लिएको थियो । उत्तः पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले चार करोड १६ लाख रुपैयाँमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ । यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले एक करोड ३५ लाख रुपैयाँमा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन् । हिमताप, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन् । पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताए । सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ । म्याद थप्दै पक्की पुलको ठाउँमा काठेपुल ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ । हेप्काखोलामा पूर्वाधार विकास कार्यालयले २३ लाख रुपैयाँ खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ । सल्लीखोला र याङ्गारखोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन् । यसअघि कोरोना महामारी, हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गर्दैआएका थिए । हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र ताग्रुखोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ । याङ्गारखोला पुल निर्माणमा दुई वर्ष म्याद थप गरिएको छ । रासस
अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो । पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । महानगरले पटक–पटक तार व्यवस्थापनका लागि पहल गर्दासमेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट काटेरै हटाउन लागिएको हो । बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि पाँचवटा सेवा प्रदायकका प्रतिनिधिमात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सिजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए । वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाले टाँगेका तार अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकाले महानगरले व्यवस्थापनका लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुँदा ती तारको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो । रासस
उपनिर्वाचितले आज सांसद पदको शपथ लिने
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन् । साथै, बारा २ बाट निर्वाचित उपेन्द्र यादवले पनि सांसद पदको शपथ लिने भएका छन् । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ । शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
बाजुरा । बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । रासस
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सफल
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड रुपैयाँ लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ । आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् । ‘रेसुङ्गा– काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार पाँच सय रुपैयाँ हुने भनिए पनि अन्तिममा छ हजार रुपैयाँसम्म कायम हुनसक्छ’, उनले भने । निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो । लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रासस
सूर्याेदय वोमी लघुवित्तले १ लाख २० हजार कित्ता सेयर बेच्दै
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी अर्जन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद पौडेलको २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीको ७ हजार ५ सय कित्ता, चुडामणि वाग्लेको ४ हजार कित्ता र फणिन्द्र राज शर्माको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।