विकासन्युज

गैरकानूनी रूपमा बाहिरिन्छ करोडौं, दुई दर्जन बढी क्यासिनो गेम सञ्चालनमा

काठमाडौं । नेपालमा गैर कानूनी रुपमा सञ्चालनमा रहेका क्यासिनो गेमहरुको कारण दैनिक करोडौं रकम बाहिरिने गरेको छ । नवल सिन्ह रावल फाउन्डेसनले गरेको एक अध्ययनले नेपालमा २८ बढी गैरकानुनी रुपमा सञ्चालनमा रहेको देखाएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका ती एपहरुबाट दैनिक करोडौं रकम विदेशिने गरेको अध्ययनले देखाएको छ । पछिल्लो समय ती एपहरुबाट विभिन्न खेलकुदको नतिजाको विषयमा गर्ने एपहरु गैरकानुनी रुपमा सञ्चालनमा छन् । त्यसमा हजारौं नेपाली संलग्न रहेको बुझिएको छ । तर, यस विषयमा सरकारले खासै चासो देखाएको छैन । अनलाइन मात्रै सट्टेबाजी गरेर नेपालीहरुले करोडौं रकम गुमाउने गरेका पनि छन् । सट्टेबाजको आशंकामै प्रहरीले बेलाबखत धेरैलाई पक्राउ पनि गरेको छ । नवल सिन्ह रावल फाउन्डेशनका अध्यक्ष तपेन्द्र रावल लामो समयको अनुसन्धान पश्चात हाल २८ भन्दा बढी यस्ता गैरकानुनी एपहरु नेपालमा सञ्चालनमा रहेको बताउँछन् । फाउण्डेसनले लामो समयसम्मको अनुसन्धानले २८ वटा गैरकानुनी एपहरु सञ्चालन भइरहेको पत्ता लागेको बताए । अहिले किर्तीपुरको त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट सञ्चालनमा छ । या खेलको विषयलाई लिएर पनि धेरै नपाली यस्ता गेमहरुमा सक्रिय छन् । यसमा पनि लाखौंको कारोबार भइरहेको उनले बताए । नवल सिन्ह रावल फाउन्डेसनले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त गैरकानूनी एपहरु तत्काल बन्द गर्न लिखित रुपमा सुझाव समेत पेश गरेको छ । उनका अनुसार सन् २०२० देनि अनाधिकृत तथा गैर कानूनी तरिकाले विभिन्न अनलाईन एपबाट नेपालबाट दैनिक करोडौँ नेपाली रुपैयाँ विदेश गइरहेको छ । करको दायित्वमा नआई करोडौँ नेपाली रुपैयाँ बाहिरिदाको असर आर्थिक मन्दिसमेत रहेको उनले बताए । ‘नेपालमा क्यासिनो लगायतका जुवा तथा अनलाइन बेटिङ (फेन्टासि एप) लगायत गैर कानूनी र नेपाल सरकारलाई कुनै कर पनि नआउने गेमका एप तत्काल बन्द गर्न अनुरोध गरेका छौं, नेपालमा हाल दर्जनौँ अनलाइन एपहरु सञ्चालित छन्, करमा समावेश नभएका यस्ता गैरकानुनी एप समयमा नियन्त्रण गर्न सकिएन भने यसले विकराल रुप लिने र देशमा आर्थिक संकट आउने निश्चित छ,’ उनले भने । गृहमन्त्रीलाई बुझाएको पत्रमा फस्ट ब्याट का सबैभन्दा धेरै ३५ लाख सक्रिय प्रयोगकर्ता छन् । उक्त प्रयोगकर्ताबाट दैनिक एक करोडभन्दा बढी नेपाली रुपैयाँ विदेशीएको उल्लेख छ । नेपाल प्रहरीले अनलाइन क्रिप्टो कारोबारीलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरेको थियो । यस्तै, नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । गत चैतमा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई निर्देशन समेत दिएको थियो । नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन सर्वसाधारणमा पटक पटक सूचना जारी गर्दै आएको छ । विज्ञापन बोर्डले पनि गत वर्ष नै वान एक्स बेटिङ लगायतका साइटहरू बन्द गर्न निर्देशन दिएको थियो । तर, ती साइटहरु नेपालमा निर्वाधरूपमा सञ्चालनमा छन् ।

सरकार र महावीर पुनबीच सम्झौता, वार्ता टोली बनाएर भोलिसम्म माग पूरा गर्ने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सम्झौता भएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने सम्झौता भएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुनसँग सरकारले वार्ता गरेको थियो । आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन तीन दिनदेखि धर्नामा बसेका छन् ।

सेगवेको स्कुटरमा श्रेष्ठले गरे पूर्वदेखि पश्चिमसम्को यात्रा

काठमाडौं । सेगवे इ १०० इलेक्ट्कि स्कुटरमा पूर्व देखि पश्चिमसम्मको एतिहासिक लामो दुरी यात्रा सम्पन्न भएको छ । सेगवे इलेक्ट्रिक स्कुटर इ १०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व देखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर इ १०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । यो यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ । ६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवद्र्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्शाहन दिएको छ । सेगवे इलेक्ट्रिक स्कुटर इ १०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ । यात्रा आवाधी भरि, सेगवेको कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो । सेगवे इलेक्ट्रिक स्कूटर इ १०० ले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ । धिरेनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर, सेगवे इ १०० , काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए । यसै गरि उनले सेगवे इ १०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए । यस यात्राको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो । शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कूटर इ १०० एक वातावरण मैत्री विकल्प साबित भएको छ । सेगवे इ १०० इलेक्ट्रिक स्कूटर मार्फत पूर्व देखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई पदर्शन गर्दछ । धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ ।

नयाँ स्टक र कमोडिटीजको लागि धितोपत्र बोर्डले गठन गर्यो मूल्यांकन समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जका लागि मूल्यांकन समिति गठन गरेको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जको लागि आवेदन दिएका निवेदन अध्ययन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्व मूल्यांकन समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयबाट सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी सदस्य रहेका छन् । बोर्डमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले निवेदन दिएका छन् ।

बैंकहरुले खरिद बिक्री गर्ने डलरको शुल्क बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने बताएको हो । बैंक तथा वित्तीय संस्थाले परिवत्र्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवत्र्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दर भन्दा साना दरका नगद नोट खरिद समेत) र बिक्री दर बीचको फरक १ प्रतिशतभन्दा बढी नहुने गरी तोक्नु पर्नेछ । तर, अमेरिकी डलर खरिद दर र बिक्री दर बीचको फरक ०.६० रुपैयाँभन्दा बढी हुने छैन । यस्तै, ५० दर भन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ । नेपाली नागरिकसँग अमेरिकी डलर ५ हजार वा बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिने सकिनेछ । तर, विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर ५ सयसम्म मात्र सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

माल वस्तु बाहेक अन्य आयात गर्दा एलसी लागू नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातित वस्तुहरुमा मालवस्तु बाहेक अन्य सामाग्रीहरुमा प्रतीतपत्र (एलसी) लागू नहुने बताएको छ । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने बताएको हो । राष्ट्र बैंकका अनुसार माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टी.टी. मार्फत आयात गर्न पाइने सीमा भन्दा बढीको हकमा प्रचलित व्यवस्था अन्तर्गत रही प्रतीतपत्रको माध्यमबाट मात्रै प्रदान गर्नुपर्नेछ । तर, मालवस्तु बाहेक अन्य आयातको हकमा प्रतीतपत्र अनिवार्य नहुने राष्ट्र बैंकको भनाइ छ । यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, भिसा आहवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आहवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी डलर १ हजारको सीमाले बाधा पुर्याएको नमानिने राष्ट्र बैंकले जनाएको छ ।

शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे, दैनिक २ सय पर्यटक आउने

गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका(४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी कृष्णगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका(४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए । ‘हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला ढुङ्गा शालिग्राम अति पुजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, वैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन्’, प्रपन्नाचार्यले भने । शालिग्राम दर्शनका लागि पर्यटकहरु भारतसहित नेपालका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । चैतयता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बी पनि अवलोकन भ्रमणका आएको उनको भनाइ छ । अहिले औषतमा दैनिक एक सयदेखि दुई सयको हाराहारीमा पर्यटक गुफाभित्रको शालिग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नाचार्यले बताए । शालिग्रामको महिमा बढाउनका लागि सङ्ग्रहालयले शालिग्राम महोत्सव, यससम्बन्धी प्रवचन गर्दै आएको छ । स्थानीय रामप्रसाद शर्माले सुरुमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालय भन्दा धेरै मानिस झुक्किने गरे पनि अहिले शालिग्राम गुफा खोज्दै आउनेहरु बढेको बताए । शालिग्राम दर्शनका एक सय रुपैयाँको टिकट काट्नुपर्छ । मुक्तिनाथ पुगेका भारतीय पर्यटक समेत शालिग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउजाउ गर्न थालेका छन् । सङ्ग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसायसमेत फष्टाएको छ । शालिग्राम शिलाको संरक्षणका लागि बागलुङमा सङ्ग्रह गरिएको हो । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृति बनाइएको छ । भगवना शिवको अस्त्र त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । सङ्ग्रहालयमा तीन सय केजी तौलसम्मका शालिग्राम सङ्ग्रहित गरिएको छ । रासस

सरकारले महावीर पुनसँग थाल्यो वार्ता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता थालेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुनसँग सरकारले वार्ता गरिरहेको हो । आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका छन् ।