चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । जसले दुई लाख एक हजार चार सय २१ रुपैयाँ राजस्व बुझाएका थिए । पर्यटकको सङ्ख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, ‘पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको सङ्ख्या बढेको छ ।’ सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताए । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उनले निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताए । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई सङ्घको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उनको भनाइ छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताए । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उनले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताए । उनले भने, ‘पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैँ सहकार्य गर्न तयार छ ।’ चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । रासस
पत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध लगाउने तयारीमा सरकार
काठमाडौं । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले जानकारी दिइन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छता सम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको बताइन् । ‘न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ, त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाईराखेका हुन्छौं, फुड प्वाईजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।
दिल्लीमा भएको उपचार खर्च राष्ट्रपति आफैले बेहोर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिल्लीमा भएको आफ्नो उपचार खर्च आफैले बेहोर्ने भएका छन् । मंगलबार राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावमा राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन् । उपचार खर्चलाई लिएर पछिल्लो केही दिनयता उनी विवादमा तानिएका छन् ।
आइएमएफले इसीएफको दोस्रो किस्ता वापतको ७ अर्ब रुपैयाँ दिने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई दिने भनिएको ७ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गर्ने निर्णय गरेको छ । नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ)अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर अर्थात् ६ अर्ब ९० करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउन सहमत भएको हो । अमेरिकाको वासिङ्टन डिसीमा बसेको आइएमएफ बोर्ड बैठकले नेपाललाई सो कर्जा सुविधा दिने निर्णय गरेको हो । कोषले विस्तारित कर्जा सुविधा लिँदा गरेको प्रतिबद्धतालाई समीक्षा गर्दै दोस्रो किस्ता प्रदान गर्ने निर्णय गरेको हो । आइएमएफले नेपाललाई उपलब्ध गारउने भनिएपनि १ वर्षदेखि दोस्रो किस्ताको रकम रोकिएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएपछि दोस्रो किस्ता वापतको रकम निकासा गर्ने निर्णय गरेको हो । योसँगै नेपालले सुविधावापत १५ करोड ७४ लाख अमेरिकी डलर खर्च गर्न प्राप्त गर्ने भएको छ । यसअघि पहिलो किस्ता बापत ११ करोड अमेरिकी डलर प्राप्त गरिसकेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफसँग वि.सं. २०७८ पुस २८ गते विस्तारित कर्जा सुविधाअन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर प्रदान गर्न सम्झौता गरेका थिए ।
९ वर्ष विदेशको बसाइपछि नेपालमा पशुपालन गरेर मनग्य आम्दानी गर्दै, १७ जनालाई रोजगारी
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किए । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचअनुरुप उनले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गरे । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गरे । उनी पाँच वर्ष अगाडि नेपाल फर्किए । नेपालमै केही गरौँ भन्ने भावना उनमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग सल्लाह गर्न थाले । शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । अन्य आठ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् । उक्त एग्रो प्रालिमा हाल एक सय ५० गाईभैँसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक रहेका विशालले जानकारी दिए । ‘उत्पादनमूलक व्यवसाय गर्नुप¥यो भनेर साथीहरुसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । पाँच जना विदेशबाट फर्किएका युवाहरु छौँ,’ उनले भने, ‘राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भनेर उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।’ उनका अनुसार ५० भैँसी र ३० गाई दुधालु छन् । फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाए । व्यवसायमा कठिनाइ र सङ्घर्ष रहेको भन्दै पौडेलले भने, ‘पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौँ ।’ तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उनको गुनासो छ । दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उनको माग छ । प्रालिले १७ जनालाई रोजगारी दिएको छ । घाँस काट्न आवश्यकता अनुसार दश जनासम्मलाई रोजगारी दिइएको छ । प्रालिका सञ्चालक रुपबहादुर गोतामेले सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग नरहेको बताए । ‘गाईभैँसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउनुहुन्न, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘एउटा गाईभैँसी बिरामी भयो भने फोन गरेर अन्यत्रैबाट प्राविधिक बोलाउनुपर्छ ।’ उक्त फार्ममा कूल लगानी १५ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये बैंकबाट दश करोड रुपैयाँ ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ । फार्मबाट उत्पादित दूध शुक्ला कृषि पर्यटन सहकारीमार्फत् बिक्री वितरण हुँदै आएको छ । ‘दूध बिक्रीमा समस्या छैन, बजारको माग पुर्याउन सकिरहेका छैनौ, हाम्रो लक्ष्य दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने हो । गाईभैँसी थप्ने लक्ष्य छ’, सिग्देलले भने । प्रालिले गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्ष्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत् एक करोड ७६ लाख रुपैयाँ अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ । रासस
निफ्राकाे संचालकमा रत्नराज बज्रचार्य नियुक्त
काठमाडौं । नेपाल इन्फास्ट्रकचर बैंक(निफ्रा)को संचालकमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्याकारी अधिकृत (सीइओ) रत्नराज बज्रचार्यलाई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले बज्रचार्यलाई संस्थापक संचालकमा नियुक्त गरेको हो । यस्तै, बैठकले सर्वसाधारण समूहका संचालक सुमन पोखरेलको राजीनामा स्वीकृत गरेको छ ।
भारतमा हुने निर्वाचनले सीमा नाका आजदेखि बन्द हुने
लुम्बिनी । नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो । महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ । रासस
चार घण्टापछि खुल्यो अवरुद्ध अरनिको राजमार्ग
बनेपा । काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ । बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएपछि आक्रोसित स्थानीयले बिहान ४ बजेदेखि सडक अवरुद्ध गराएको सडक खुलेको हो । सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक रुपमा सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो । अहिले सडक पूर्ण रुपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । मोटरसाइकल चालकको खोजी जारीरहेको प्रहरीले जनाएको छ ।