विकासन्युज

प्रिमियमा आईपीओ जारी गर्न लागेको सिटिजनको नाफा साढे १४ करोड, ५० प्रतिशत बढायो पूँजी

काठमाडौं ।प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १५ करोड १ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४० प्रतिशत बढेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो । चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ५४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, जीवन बीमा कोष ५ प्रतिशत बढेर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ र महाविपत्ति कोष ५३.८४ प्रतिशत बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ । चालू आवको ९ महिनाको अवधिमा कूल बीमा शुल्क आर्जन ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ, कूल कायम रहेको बीमालेखको संख्या २ लाख ७४ हजार २१८, कूल जारी बीमा लेखको ंसंख्या २२ हजार ८७७, कूल दावी भुक्तानी १ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ३०४ वटा दाबी मार्फत ११ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

एकैपटक १५ लाख कित्ता सेयर बेच्दै कुमारी बैंक, एक कित्ताको मूल्य ११९ रुपैयाँ

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर बैशाख १९ गतेदेखि जेठ २३ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११९ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु जेठ २५ गते खोलिने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

ठूला उद्योग बन्द गर्न खोजिँदै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए । हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ छ । ‘निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ, निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ, उद्योग बन्द गराउने काम हुदैनथ्यो, हिजो भए, अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ,’ उनले भने । उनले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा, त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए । ‘समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ, हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ, हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ,’ उनले भने । देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारराखे । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राखे ।

रुवाबासी गर्ने समय छैन, पाएको जिम्मेवारी पूरा गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे चिन्ता गर्नेभन्दा पनि पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने बेला आएको बताएका हुन् । ‘आम निर्वाचन आउन बाँकी ४ वर्षमा कांग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्छ, पनिर्वाचनको परिणामले पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होइन कि सरकार यसरी पो चलाउनुपर्छ भन्ने हिम्मत बटुल्नुपर्छ,’ उनले भने । उनले जो जहाँ छौँ त्यहीँ राम्रो काम गर्नुपर्छ भन्दै पार्टीका नेताहरूले अर्को पटक मौका पाउँला/नपाउँला भनेर चिन्ता गर्नुभन्दा पनि अहिले पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौँ भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको आर्थिक सङ्कटको बेला गजबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्छ, कांग्रेसले अहिले नेतृत्व गरेको हजारौँ वडा छन्, केन्द्रको सरकार छ, ७ वटा प्रदेशको सरकारमा कहीँ सहभागी भएका छौँ, कहीँ नेतृत्व गरिरहेको छौँ, तिनमा अझै चार वर्षको समय छ, त्यहाँ प्रतिबद्ध भएर काम गरौँ,’ महामन्त्री थापाले भने । सरकारमा हुँदा काम नगरेर नागरिकको मन जित्न नसक्ने हो भने फेरि सरकारमा दोहोर्याएर किन जाने भन्नेमा चिन्ता गर्नुपर्यो भन्दै उनले भने, ‘देशका ३२९ वटा पालिकामा कांग्रेसले जितेको छ, त्यहाँ आत्मविश्वासका साथ ४ वर्ष राम्रो काम गर्न सकेनौँ भने फेरि हामीले काम गर्ने मौका किन पाउने ?’ परिणाम देखाउने गरी सुशासनका साथ काम गरौँ रुवाबासी गर्नै पर्दैन भन्दै उनले हामी कहाँनिर चुक्यौँ सच्याउनका लागि पार्टीमा छलफल, समीक्षा र आत्ममूल्याङ्कन गरिरहेको बताए । नेतृत्वलगायत पार्टीमा बस्ने सबैले कमजोरी सच्याएर अगाडि बढे पार्टी ठीक ठाउँमा आउने भन्दै उनले पार्टीभित्रको समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको बताए ।

रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु, निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ,’ उनले भनिन् । बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।

लामिछानेको लिखित जवाफ सर्वोच्चमा, रिट निवेदन खारेजको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रमाण नभएको निर्णय गरेका कारण उक्त निर्णयविरुद्ध दायर रिट निवेदन खारेज हुनुपर्ने माग गरिएको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने माग गर्दै दायर भएका रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी लामिछानेसँग लिखित जवाफ माग गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयको लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै युवराज सफललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको सुनुवाइपछि संवैधानिक इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । नागरिकता विवादमा सर्वोच्चले फैसला गरेको र सोही अनुरुप आफूले पुनः नागरिकता प्राप्तिको प्रक्रियासमेत पूरा गरेको लिखित जवाफमा उल्लेख छ । आफूले राहदानी ऐन विपरीतको कसुर कहिले पनि नगरेको र राहदानी लिएर अरूलाई असर पार्ने कामसमेत नगरेको दाबी लिखित जवाफमा छ । लिखित जवाफमा आफूलाई विवादमा ल्याउन सन्दर्भ नै नमिल्ने नजिरहरु पेस गरेर रिट निवेदन दायर गरिएको छ ।

बैंक खातामा पठायो तारागाउँ रिजेन्सीले लाभांश, तपाईंको आयो ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत फागुन ३ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.४३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८.४३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिन (माघ १७गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

१ लाख कित्ता खरिद गर्न पाइने मोदी ईनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं । मोदी ईनर्जीले आज बैशाख १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको सेयरमध्ये ४ लाख ३५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ८७ हजार कित्ता कर्मचारीलाई छुट्याएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कूल ५९ लाख ९५ हजार ४२० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैशाख २४ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।