काठमाडौं । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले जानकारी दिइन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छता सम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको बताइन् ।
‘न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ, त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाईराखेका हुन्छौं, फुड प्वाईजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।