काफल बेचेर दैनिक २ हजार आम्दानी गर्दै किसान
खजुरा । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ । काफल बिक्रीमा दैनिक दुई हजार रुपैयाँ आम्दानी हुने गरेको किसानहरु बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट डालाकाफल बिक्री गर्ने बताए । काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए । काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आ एका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए । काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् । पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ । काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ । रासस
अमेरिकामा नेपाल चिनाउँदै ह्यारी
वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक छन्, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद डेलिगेटको हैसियतले भण्डारी अहोरात्र खटिरहेका छ । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो । केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन् । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र छन् एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ । अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन् । उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन् । उनी सफलता पछ्याउँदै अघि बढेका छन् । भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रचेका छन् । आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएका थिए । ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ । पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गरेका थिए । यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन् । संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत छन् । संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो । बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो ।’ हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा गए र पारित गराउन सफल भए । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ । मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भने, ‘दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।’ चार दशकदेखि अमेरिकामा बस्दै आउनुभएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गरेका डा श्याम कार्कीले खुसी हुँदै भने, ‘डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गरेको पुष्टि भएको छ ।’ मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहेका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको छ । साहित्यकार तीर्थ पाण्डेयले भने, ‘यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।’ खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन् । साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आफ्ना बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् । भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित भएका छन् । उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन् । विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ । सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गरेका थिए । सामाजिक अभियन्ता अर्जुन हमाल भन्छन्, आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उनी मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुगे । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।” अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ । कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आएका छन् । अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उनीको कार्यालयले गर्दै आएको छ । भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन् । यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् । भर्जिनियामा बस्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्छन्, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गरेका छन् । उनले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाएका बराइलीले टिप्पणी गरे । मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्छन्, ‘ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।’ अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिनुभएको थियो । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उहाँको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पुर्याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन् । उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए । आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनी बताउँछन् । रासस
बिमारीले डाक्टरलाई दिने सेवाशुल्क र निजी अस्पतालमा काम गर्ने डाक्टरको तलब बढ्यो
फाइल तस्बिर काठमाडौं । चिकित्सकहरुले बिमारीसँग लिने परामर्श (ओपीडी) शुल्क वृद्धि भएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूले योग्यताका आधारमा प्राप्त गर्नेगरी नयाँ शुल्क पुनरवलोकन गरिएको हो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि गरिएको नयाँ शुल्कअनुसार अब पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० रुपियाँ र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन्। पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपियाँ शुल्क लिन पाउनेछन्। स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाको परामर्शका आधारमा शुल्क पुनरावलोकन गरिएको चिकित्सक संघले जनाएको छ । ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउनेगरी निर्णय भएको छ। नयाँ शुल्कअनुसार डीमए तथा एमसीएच गरेका डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८०, पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४०, एमडीरएमएस र एमडीएस डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपियाँ शुल्क लिनेछन् । नयाँ शुल्कअनुसार १० वर्षभन्दा बढी काम गरेका एमडीरएमएस र एमडीएस डाक्टरले ओपीडी शुल्क भने ९४० रुपियाँ लिन पाउनेछन् । त्यस्तै, निजी अस्पतालमा काम गर्ने डाक्टरहरुको तलब बढाउने निर्णय संघ र अफिनले गरेका छन् । अब निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको तलब ४८ हजार सात सय ३७ रुपैयाँ हुने भएको छ । यसअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार रुपैयाँ तोकिएको थियो । वृद्धि भएको परामर्श शुल्क र तलब जेठदेखि लागु हुने जनाइएको छ । ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसर (हाउस अफिसर)हरुको पारिश्रमिकको हकमा न्यूनतम ४८७३७ कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई अनुरोध गरिन्छ’ अफिनका अध्यक्ष डा. पदम बहादुर खड्का र चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।
यही सरकार रहिरहने हो भने देश टाट पल्टिन्छ : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेकाे बताएका हुन् । ‘अब यदि १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अव डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरी मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ,’ उनले भने । उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएको बताउँदै भने,’ यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ ।’
रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो । वैशाख ४ गते बिहान ४ बजे लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
भारतबाट ३०९ रुपैयाँले घटेर आयो एलपी ग्यासको मूल्य
काठमाडौं । एलपी ग्यासको मूल्य ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयाल निगमको अनुसार भारबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३०९ रुपैयाँले घटेर आएको हो । यसैगरी पेट्रोलमा ४.३७ रुपैयाँ, डिजलमा ४.१६ रुपैयाँ, हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसाले मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले हरेक महिना नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
अर्थतन्त्रमा कृषिको योगदान घट्दा वित्तीय क्षेत्र र घर जग्गाको बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षहरू जस्तै कृषि क्षेत्रको रहेको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानका अनुसार अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । तर, गत आर्थिक वर्षको तुलनामा केही घट्ने देखिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २४.६७ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २४.१२ प्रतिशत हुन पुगेको अनुमान गरिएको छ । १८ वटा औद्योगिक क्रियाकलापमध्ये ९ वटाको घट्ने र ९ वटाको बढ्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश सामान्य बढ्नेमा यातायात तथा भण्डारण, विद्युत ग्याँस वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय तथा बीमा क्षेत्र, आवास तथा भोजन सेवा, शिक्षा र स्वास्थ्य तथा सामाजिक सेवाका क्रियाकलापहरू रहेका छन् । सामान्य रुपमा घट्नेमा कृषि वन तथा मत्स्य, खानी तथा उत्खनन, निर्माण, उद्योग, थोक तथा खुद्रपार, घरजग्गा कारोवारको सेवा, सूचना तथा सन्चार, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र अन्य सेवाहरू गरी ९ क्रियाकलापहरू छन् । पेशागत, बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरूको हिस्सा यथावत नै रहेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा बैंक तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७.२९ प्रतिशतले कुल मूल्य अभिवृद्धि मा वृद्धि हुने प्रारम्भिक अनुमान छ । यस्तै, चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रले ८.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनी निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोतरीले यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । कुन क्षेत्रको योगदान कति ?
हराभरा हुँदै झापाको ‘महेन्द्र पार्क’
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो । राजनीतिक द्वन्द्वका कारण रमणीयस्थल बिस्तारै उजाड बन्न पुग्यो । पार्कको बीचमा राजा महेन्द्रको पूर्णकदको सालिक रहेकाले यो पर्यटकीयस्थल राजनीतिक द्वन्द्वको सिकार बन्न पुग्यो । विसं २०४६ सालपछि २०६२/६३ को जनआन्दोलनसम्मको डेढ दशक अवधिसम्म पार्क बेवारिसे झैं बन्यो । पार्कभित्रका फूलका बगैँचा र भौतिक संरचनाले स्याहर पाएका थिएनन् भने वर्षौँसम्म पार्कको ढोका बन्द रह्यो । विसं २०६२/६३ को जनआन्दोलनमा पार्ककै छेउमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए । आन्दोलनकै क्रममा राजा महेन्द्रको सालिक भत्काइयो र राजाको गुणगान गरिएका शिलालेखहरु ध्वस्त बनाइयो । सुन्दर पार्क लामो समयसम्म भग्नावशेषमा अवस्थामा रहेपछि स्थानीय र सञ्चारमाध्यमले पार्कको जीर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ । चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिका–८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जीर्णोद्धारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष गौरव सुब्बा बताउँछन् । राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिकस्थलको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको उनले बताए । ‘चालु आवमा १० लाख रुपैयाँ बजेट छुट्यायौँ’, वडाध्यक्ष सुब्बाले भने, ‘आगामी आवमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ ।’ पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको जनाउँदै उनले अब कुनै हालतमा पार्कलाई बेवारिसे बन्न नदिइने बताए । पालिकाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रङ्गरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, सालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रङ्गले उज्यालिएका छन् । पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुलीलगायतका खेल सामग्रीहरु राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ । क्यामेलियाको विभिन्न फूल र बोन्साइका पोथ्राले पार्कको आकर्षण बढाएका छन् । पर्यटक हिँड्ने फुटपाथ र गोरेटो वरपर हरियाली फूलका झ्याँङ हुर्काइएका छन् । रङ्गरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिले नियमितरुपमा पार्कको जीर्णोद्धार अघि बढाइरहेको छ । एक महिनाभित्र महेन्द्र पार्कले काँचुली फेरिसक्ने पार्कका माली अमृत थापाले बताए । फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लोलगायतका बोटका हाँगाबिँगा छिमलेर सुन्दर बनाउन लागिरहेको बताउँछिन् माली थापा । उनीसँग संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैँचामा मालीको काम गरेको अनुभव छ । रासस