विकासन्युज

२०.४१ प्रतिशत लाभांश प्रक्षेपण गरेको सिटिजन्स सुपर ३० फण्डमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स सुपर–३०मा आवेदन दिने आज अन्तिम दिन हो । बन्दमुखी योजना रहेको सो फण्डमा आवेदन दिने आज बैशाख २० गते अन्तिम दिन हो । कयापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको क्यापिटलले जनाएको छ । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ ।

चिलिमे हाइड्रोले कमायो ५१ करोड रुपैयाँ नाफा, ईपीएस कति छ ?

काठमाडौं । चिलिमे हाइड्रोपवार कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.३३ प्रतिशत बढेर ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.३३ प्रतिशत अर्थात् १ करोड ९१ लाख ८८ हजार रुपैयाँ घटेर ८० करोड ४२ लाख ४६ हजारु रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो । नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत वर्षको चैत्र मसान्तसम्मको तुलनामा न्यून विद्युत उर्जा खरिद भएकोले विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ । बैंक मौज्दात बढेकोका कारण कम्पनीको ब्याज आम्दानी ३५ प्रतिशत अर्थात् ४ करोड ५६ लाख ५० हजार रुपैयाँ बढेर १७ करोड ५८ लाख ७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५ प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ र जेगा कोष ३ अर्ब १३ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ रहेको छ ।

आइएमई लाइफको नाफामा ८० प्रतिशत छलाङ, अधिकांश सूचकमा फड्को मार्याे

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अन्तिम तयारीमा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८० प्रतिशत बढेर १८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । .गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.९४ प्रतिशत बढेर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३७ प्रतिशत बढेर ७९ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कुल बीमा शुल्क २२.१३ प्रतिशत बढेर २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ८१ प्रतिशत बढेर १ अर्ब १० करोड ५ लाख रुपैयाँ, जीवन बीमा कोष ४३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तथ्याङ्क अनुसार कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशत बढेर ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ रहेको छ ।

मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । मिटरब्याजीसम्बन्धी दिन दिनैको समस्या समाधान गर्नका निमित्त कानूनी व्यवस्था गर्न आजको मन्त्रिपरिषद्को बैठकबाट यससँग सम्बन्धित अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार राष्ट्रपतिसमक्ष त्यो अध्यादेश पठाउने काम भएको छ । सरकारका प्रवक्ता शर्माले जे भए पनि ऐनबाट मात्रै हुने तर अध्यादेशबाट नहुने बताउँदै मिटरब्याज पीडितको समस्या विशिष्ट प्रकारको भएकाले अध्यादेशमार्फत गरिएको जानकारी दिइन् । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग गर्दै मिटरब्याज पीडितले आन्दोलन गर्दै आएका छन् ।

केही व्यक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको कांग्रेस नेता डा. राणाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएकीत छिन् । प्रेस विज्ञप्ति जारी गर्दै हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भए पनि कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार नभएको उनले बताइन् । ‘नियोजितरूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ, तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ, तर नियोजितरूपमा मविरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन अनुरोध गर्दछु,’ डा राणाले विज्ञप्तिमा भनेकी छिन् । हरेकजसो अन्तर्वार्तामा केही व्यक्ति नियोजितरूपमै आफ्नोेविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन सबै आम सञ्चारमाध्यमलाई उनले आग्रह गरेकी हुन् ।

वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

काठमाडौं । नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ । इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो । पोखराको पोल्याङमा कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालिएको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले झन्डै ३० करोडको लगानीमा नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादन थालेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले कारखानाको वार्षिक डेढ करोड इटा उत्पादन गर्न सक्ने क्षमताको रहेको बताए । झन्डै ४५ वर्ष अगाडि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा जस्तै इटा पोल्ने प्रविधिको निर्माण गरी इटा उत्पादन थालेको अध्यक्ष इन्जिनियर दुवालले बताए । ‘सामान्य इटाभटाको इटा पोल्ने स्ट्रकचर तथा  इटा पोल्ने जनशक्ति पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका भारतीयहरूले गर्ने गरेका छन, तर पोखराको पोल्याङमा नेपाली स्वयमले विशेष प्रकारको इटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाइ नेपाली जनशक्तिबाट नै  इटाको उत्पादन थालेका हौ,’ उनले भने, यो ठाउँं पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ ।’ अत्याधुनिक प्रविधिको इटाभटा नेपालीले नै बनाइ उत्पादन थालेको इन्जिनियर दुवालको भनाई छ। ‘सामान्य इटाभटा फोर्स डग नै भारतीयबाट गराउनु परिरहेको बेला नेपालीहरूबाट नै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इटा पोल्न आधुनिक भटाको निर्माण सम्पन्न गरी उत्पादन समेत थालेका छौँ,’ इन्जिनियर दुवालले भने, ‘५० जना नेपालीहरूबाट झन्डै एक वर्षदेखि नै काम गराई अहिले उत्पादनको चरणमा पुगेका हौ।’ यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको उनी बताउँछन् । प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ओझाले उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँ प्रविधिको इटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरू सफल भएको बताए । ‘अहिले इटाभटाको धुलो धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना , यही आलोचनाबाट जोगाउन नयाँ प्रविधिको इटाभटा सञ्चालन गरेका हौँ,’ उनले थपे । नेपालमा पहिला देखि चल्दै आएका यस प्रविधिमा आधारित दुई वटा चाइनिज इटा उद्योग थिए । तर यी दुवै भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन्। तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकपछि पत्रकारहरुसँग उनले भनिन्, ‘मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आज अध्यादेश पठाउने काम हुन्छ ।’

एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । उच्च अदालतले २०७७ मङ्सिर १९ गते त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ । महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।