
फाइल तस्बिर
काठमाडौं । चिकित्सकहरुले बिमारीसँग लिने परामर्श (ओपीडी) शुल्क वृद्धि भएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूले योग्यताका आधारमा प्राप्त गर्नेगरी नयाँ शुल्क पुनरवलोकन गरिएको हो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।
वृद्धि गरिएको नयाँ शुल्कअनुसार अब पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० रुपियाँ र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन्। पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपियाँ शुल्क लिन पाउनेछन्।
स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाको परामर्शका आधारमा शुल्क पुनरावलोकन गरिएको चिकित्सक संघले जनाएको छ । ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउनेगरी निर्णय भएको छ। नयाँ शुल्कअनुसार डीमए तथा एमसीएच गरेका डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८०, पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४०, एमडीरएमएस र एमडीएस डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपियाँ शुल्क लिनेछन् । नयाँ शुल्कअनुसार १० वर्षभन्दा बढी काम गरेका एमडीरएमएस र एमडीएस डाक्टरले ओपीडी शुल्क भने ९४० रुपियाँ लिन पाउनेछन् ।
त्यस्तै, निजी अस्पतालमा काम गर्ने डाक्टरहरुको तलब बढाउने निर्णय संघ र अफिनले गरेका छन् । अब निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको तलब ४८ हजार सात सय ३७ रुपैयाँ हुने भएको छ । यसअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार रुपैयाँ तोकिएको थियो । वृद्धि भएको परामर्श शुल्क र तलब जेठदेखि लागु हुने जनाइएको छ ।
‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसर (हाउस अफिसर)हरुको पारिश्रमिकको हकमा न्यूनतम ४८७३७ कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई अनुरोध गरिन्छ’ अफिनका अध्यक्ष डा. पदम बहादुर खड्का र चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।