टोप बहादुर विरुद्द किन पक्राउ पुर्जी जारी भयो ? यस्तो छ नालीबेली
काठमाडौं । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनको विषयले प्राथमिकता पाएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएपछि उनको विषयमा व्यापक बहस भइरहेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्यमा राजनीतिक व्यक्तिहरुकै संलग्नता रहेको बुझिएको छ । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको पनि बताइएको छ । साढे ८ सय नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको बताइएको छ । यो कार्यमा रायमाझीको पनि संलग्ना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको बुझिएको छ । यसमा तत्कालीन गृहमन्त्री बादल पनि तानिने सम्भावना छ ।
काँग्रेसका तीन नेता बने मन्त्री, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जनालाई मन्त्री बनाएका हुन् । मन्त्री हुनेमा धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । प्रचण्डले गुरूङलाई कानून, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । नयाँ मन्त्रीहरूको शपथ भने बिहीबार अपरान्ह ३ बजे हुनेछ ।
नयाँ स्टक एक्सचेञ्जको विरोधमा नेप्सेका कर्मचारी आन्दोलित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको विरोध गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएसँगै नेप्सेका कर्मचारीले विरोध जनाएका हुन् । नेप्से कर्मचारी संघले बुधबार नेप्सेको कार्यालयमा कालो ब्यानर प्रदर्शन गर्दै विरोध जनाएका हुन् । संघका अध्यक्ष नवराज थापाले नेप्सेलाई थप मजबुत र नीतिगत सुधार गर्नुपर्ने अवस्थामा नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाएको भन्दै विरोध गरेको बताएका हुन् । ‘हामीले नयाँ स्टक एक्सचेञ्जका विरुद्ध नारा, जुलुस र र्याली गरेर विरोध गरेका छौं, नेपालमा नयाँ स्टक आवश्यक छैन, नयाँ स्टकमा लगानी गर्न चाहनेले नेप्सेको सेयर दिँदा नै उपयुक्त हुन्छ,’ उनले भने । यस्तै, उनीहरुले नेप्सेको आईपीओ जारी गर्नुपर्ने, पुनः संरचना गर्नुपर्ने र प्रविधिमैत्री बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
जंगलमा लुकेको अवस्थामा पक्राउ परे सचिव पाण्डे, पूर्व गृहमन्त्री बादल पनि तानिन सक्छन् अनुसन्धानमा
काठमाडौं । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रक्राउ परेका छन् । प्रहरीले उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको हो । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । काठमाडौं प्रहरी परिसरले उनलाई उपपराष्ट्रपति कार्यालयबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ । प्रहरीले बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । रामवहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा पाण्डे सचिव थिए । यस अनुसन्धानमा बादल पनि तानिन सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरु बताउँछन् । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए ।
दाङमा ६ करोडमा बनेको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै
तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । ‘दैनिक एक हजारको हाराहारीमा अवलोकन गर्नेहरु आउने गरेका छन्’, सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले भने । उक्त सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाचगान, चार्डपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्न दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ । समाजका सबै थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । उहाँका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभइ बाहिरबाट पनि आउनेको सङ्ख्या बढिरहेको छ । थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म सङ्ग्रहालयका लागि करिब छ करोड खर्च रुपैयाँ भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं२०७५देखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याइएको हो । उक्त सङ्ग्राहलय पाँच बिघा जमिनमा फैलिएको छ । सङ्ग्राहलयमा सामान्य प्रवेश शुल्क ५० रुपैयाँ रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने ३० रुपैयाँ लिने गरिएको छ । सङ्ग्राहलयबाट दैनिक ४० हजार रुपैयाँ जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताए । रासस
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकाल
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा सरकारले नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिफारिसमा परेका तीन जनामध्ये ढकाललाई सरकारले नियुक्ति गरेको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशको लागि गत फागुन १४ गते दरखास्त आह्वान गरेको थियो । सोही मागमा २१ जनाले दिएको निवेदनमा तीनजना सिफारिसमा परेका थिए । मन्त्रिपरिषदको मंगलबारको बैठकले ढकाललाई चार वर्षका लागि कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । सोही अनुसार उनी चार वर्षकालागी कार्यकारी निर्देशक बन्नेछन् ।
दार्चुला हिम पहिरो, दुई महिलासहित तीन जनाको शव भेटियो
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।’ उनले भने ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।’ म¬ङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति ९।३० बजेसम्म खोजीमा जुट्यौँ ।’ उनले भने ‘आज पनि बिहानबाट टोली खटिएको छ ।’ उनका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरु त्रिपालमा बसिरहेका थिए ।
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् । दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहनुभएका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए । ‘घुम्तीमा एक्काीस ट्रले आएरु ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,’ अधिकारीले भने । ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् । रासस