मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न सत्तारुढ गठबन्धन दलको बैठक बस्दै
फाइल फाेटाे काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्मार्ट टेलिकमको सम्पक्ति बुझाउन आग्रह, नबुझाए प्राधिकरणले कब्जामा लिने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सबै सम्पत्ति हस्तान्तरण गर्न आग्रह गरेको हो । ‘स्मार्ट टेलिकम प्रा.लिले अनुमतिपत्र नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरि निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा रहेको छ । प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसंचार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरेको छ । स्मार्ट टेलिकम कुमारीपाटी ललितपुरले अनुमति पत्र नवीकरणका लागि नियमअनुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले अनुमति पत्र खारेज गरेको हो । नवीकरणका लागि दिईएको समय वैशाख ३ गते साँझ ५ बजे सकिएपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेजीमा परेको थियो । स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनु पर्ने हुन्छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्सको अवधि आगामी बैशाख १ गते सकिएको थियो ।
एकैदिन तोलामा १८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज बढेको मूल्य अनुसार १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदी तोलामा १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
‘धनुषाको कार्यालयमा सधैँ कर्मचारीकै पिरलो’
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे । अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । ‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए । लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ’, गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, ‘खै १ कर्मचारी धेरै बस्नै नमान्ने ? अनि कसरी काम गर्नु ?’ मङ्गलबार अध्यक्ष साहको कार्यकक्षमा पुग्दा उनी कसैसँग फोनमा कुरा गर्दै थिए, ‘अब काम हुन्छ, पाँच–सात दिनपछि हाकिम आउनुहुन्छ अनि भेटौँ न ।’ फोन राखेपछि अध्यक्ष साहले भने, ‘कार्यालय प्रमुख बिदामा हुनुहन्छ । एउटा कर्मचारी बिदामा बस्यो भने काम गर्न अर्को हुँदैन । कहिले कर्मचारीको अभाव, कहिले उपभोक्ता समितिको विवाद, फेरि चैत कटेपछि मात्र काम गर्ने परिपाटी । के गर्नु समस्यामाथि समस्या छन् ।’ अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिकामा विकासका गतिविधि राम्ररी सुरु भएको करिब एक महिनामात्रै भएको छ । बाँकी समय अघिल्लो वर्षको भुक्तानी विवाद मिलाउनमै गएकाले नयाँ योजना कार्यान्वयनबारे ठोसरूपमा लाग्नै नपाएको साहको भनाइ थियो । ‘म निर्वाचित भएर आउँदा पहिलेको करिब पाँच करोड रुपैयाँ बक्यौता रकम थियो । पहिलेका दुई जना कार्यालय प्रमुखको समय त्यसैमा गयो । अहिलेको प्रमुख आएपछि विवाद र प्रक्रिया मिलाएर करिब चार करोड ५० लाख रुपैयाँ बक्यौता तिर्यौँ, अझै करिब ५० लाख रुपैयाँ तिर्न बाँकी छ’, अध्यक्ष साहले भने, ‘त्यही झमेलामा अल्झिएकाले समयमा अरु काम सुरु गर्न सकेनौँ । त्यसैले अहिले निकै चाप छ ।’ सो गाउँपालिकामा चालु आवमा करिब १२ करोड रुपैयाँ विकास बजेट छ । त्यसमध्ये अधिकांश योजना वडास्तरबाट सञ्चालन भइरहेका छन् । गाउँपालिका स्तरबाट अहिले एउटा बर्थिङ सेन्टर स्थापना, पाँच वडा कार्यालयमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति, गाउँपालिकामा रहेका आठवटा सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनका लागि व्यवस्थापनलगायतका काम भइरहेका अध्यक्ष साहले जानकारी दिए । त्यसैगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद, स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना र नागरिकको मागअनुसार शौचालय सरसफाइका लागि सेफ्टीट्याङ्की पनि सञ्चालन भइरहेको अध्यक्ष साहको भनाइ छ । उनले कृषि क्षेत्रको सुधारका लागि चालु आवमा पाँच कृषि सडक, सिँचाइ सुविधाका लागि बोरिङ सञ्चालन गर्न विद्युतीकरणको कामसमेत यसै आवमा गर्ने गरी सुरु हुने बताए । वडा नं २ का अध्यक्ष उदयकुमार साहले चालु आवमा पाँचवटै वडामा चार–चार गरी २० बोरिङ थप्ने योजना रहेको सुनाए । ‘अहिलेसम्म अघिल्लो वर्षको बक्यौता रकम भुक्तानी विवाद मिलाउनमै समय बित्यो, उपभोक्ता समितिबाट नयाँ काम गर्नै सकिएन’, वडाध्यक्ष साहले भने, ‘अब सकेसम्म उपभोक्ता समिति बनाउने, नभएमा सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कोटेशनमार्फत योजना कार्यान्वयन गर्ने गरी अगाडि बढेका छौँ ।’ धनौजीमा मात्रै होइन यहाँका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव, अघिल्लो वर्षको आर्थिक दायित्व, योजनामा नियतगत र प्रक्रियागत त्रुटि, राजनीतिकरूपमा बेमेललगायतका कारणले समयमै काम सुरु हुनसकेको छैन । ‘अघिल्लो कार्यकालमा वडा नं २ को अध्यक्ष भएर काम गरिसकेकाले त्यही अनुभवका आधारमा सबैलाई मिलाएर काम त गर्न सक्छु तर कर्मचारीको अभाव पूर्ति, योजना कार्यान्वयनका क्रममा हुने समस्या मेरोमात्रै नियन्त्रणको विषय रहेन । निकै दुःख गरेर ल्याएको अहिलेको कार्यालय प्रमुखले केही वर्ष हामीसँगै काम गर्ने र सङ्घीय सरकारले चाँडै कर्मचारीको अभाव पूर्तिको दीर्घकालीन उपाय ल्याउने छ भन्ने आशा छ । यति भएमा आगामी आवमा राम्ररी जनताका काम हुनेछन्’, अध्यक्ष साहले आशा व्यक्त गरे । रासस
महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो । उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य र डा. कल्पना खनाल हुन् । विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुु पर्नेमा जोड दिइएको छ ।
नेताहरु चोर हुन् – बालेन
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेनले सबै नेताहरु चोर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ पुराना सबै नेताहरु चोर भएको र देशलाई कसैको माया नभएको बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’
तीनपटक म्याद थप्दा पनि बनेन बाँकेको सडक
बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गरेका थिए । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर नीरज शाक्यले जानकारी दिए । ‘सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन’, उनले भने । सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको शाक्यले बताए । काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनको भनाइ छ । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए । सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए । सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताए । रासस
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् । गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उनले भने–’हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’ मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो । ‘घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन’, डिएसपी भट्टले भने । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताए । वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए । रासस