विकासन्युज

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने, रोकिएला बेथिती ?

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले स्थलगत अवलोकनसमेत गरेको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौँ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । ‘ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ,’ उनले भने । नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए । ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने उनको भनाइ छ । काठमाडौँभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सिसी क्यामरा खरिद गरी काठमाडौँभित्रका सिसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ । काठमाडौँ महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।

आरबिबि म्युचुअल फण्ड २ मा आवेदन दिने समय थपियो

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्गले बैशाख १७ गतेदेखि बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २मा आवेदन दिने समय थप गरिएको छ । आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधि रहेको सो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र बाँकी १० करोड २० लाख इकाईका लागि सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट फण्डको इकाई खरिद गर्न सक्नेछन्

नेपाल रिपब्लिकले साढे ४३ करोडको आईपीओ बैशाख ३१ र जेठ २६ गतेदेखि बिक्री गर्ने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ बैशाख ३१ गतेदेखि र सर्वसाधारण लागनीकर्तालाइ जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खसला गर्नेछ । जसमध्ये ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली र बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर मार्फ् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप पक्राउ

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दिपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको हो । बुटवलबाट पक्राउ गरेका उनलाई बिहीबार काठमाडौं ल्याउने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

विदेशी मदिर छ्याप्छ्याप्ती छन्, नेपालमै उत्पादन हुने मदिराको मूल्य छैन : मूख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँगको भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउन अनुरोध गरे । मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरमा बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ मूख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए । उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’ रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए । भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

घाँसभित्र हराउँदै हरिहर भवन

ललितपुर । मन्त्री हेडक्वार्टर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शमशेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ््कर शमशेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ । शंकर शमशेर हरिहर भवनमा २००६ सम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेको थियो । विसं २०२३ मा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए । भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्छन्, ‘२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौं, त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक-पटक पत्रचार गर्यो, तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन ।’ हाल राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक एक करोड ९३ लाख ५५ हजार सात सय ६० रुपैयाँ भाडा तिरेर बसेको छ । ‘हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौं, भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो, हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौं तर आश्वासनमा मात्र समय बित्यो,’ प्रवक्ता पोखरेलले भने । राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निमार्णको प्रतीक्षामा छ । राष्ट्रिय पुस्ताकलाय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ । राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र रहेको किताबखानाका सूचना अधिकारी प्रकाशजङग कार्कीले बताए । उनका अनुसार एकवर्ष अगाडिसम्म सामान निकाल्न गएको तर अहिले भवन निकै जीर्ण अवस्थामा भएकाले त्यहाँ जान सकिदैन । भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निमार्णको प्रतीक्षामा छन् । रासस

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन । नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो । पक्राउ पुर्जी जारी गरी देशभर प्रहरीका युनिटसँग समन्वय गरिएको कार्कीले बताए । उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चिवतनलगायत निजी क्षेत्रको ज्ञापनपत्र बुझ्दै कार्कीले भने, ‘हामीले पक्राउ पुर्जी जारी गरिसकेका छौं, अपराध महाशाखा, सिआइबीलगायतको टोलीलाई समेत खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय गरेका छौं ।’ आरोपी भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने पनि कार्कीले बताए । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए । ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषयम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । यसको परिणाम कँडेलले मृत्युको शिकार बन्नुपरेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न श्रेष्ठले माग गरे । दोषीलाई कारबाही नहुने हो भने अन्य कयौँ व्यवसायीले आत्महत्या गर्न बाध्य हुने भन्दै संघले तत्काल पक्राउ गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्नेसमेत जनाइएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० बजे धर्ना दिने र बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । मृतक शंकर कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । रासस

‘सरुमा चुल्हो’को ग्रयान्ड ओपनिङ आजदेखि

पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् । दुईजनाको झण्डै तीन करोड लगानीमा सञ्चालन भएको रेष्टुरेन्टमा स्वस्थ्कर पकाउने विधि सहित उत्कृष्ट स्वादमा परिकार उपलब्ध गराउने दाबी सञ्चालकले गरेका छन् । रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ यहि बैशाख ३१ गतेसम्म कायम रहने र सो अवधिमा विभिन्न विशिष्ट परिकारहरुमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ । पोखरामै फलेको पहेँलो चामलको भात, स्थानीय उत्पादित तरकारी, रिसिङको कालो दाल लगायत स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको सञ्चालिकाहरुले बताएका छन् । रेष्टुरेन्टले नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल साथै सी फुड पनि अर्डर अनुसार उपलब्ध गराउनेछ । पोखराभित्र घरमै बसेर फुडमुडमार्फत पनि अर्डर गर्न सकिने रेष्टुरेन्टले जनाएको छ ।