पश्चिमी वायुको प्रभावले वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
लिंकन विश्वविद्यालयद्वारा लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित
काठमाडौं । लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित भएका छन् । बैशाख १६ गते ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा भएको लिंकन युनिभर्सिटी विश्वविद्यालय कलेजको पाँचौ दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेजका चारसय छ जना विद्यार्थी दीक्षित भएका हुन् । लिंकन इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्ने एकसय चार र एमबिए अध्ययन गर्ने तीनसय दुई जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । अहिलेसम्म विश्विद्यालयबाट २२ सय भन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् । दीक्षान्त समारोहमा लिंकन विश्वविद्यालय कलेज मलेसियाका अध्यक्ष प्रा.डा. अमैया भौमिक र प्राे. चान्सलर डा. हज्जा बीबी फ्लोरिना अब्दुल्ला उपस्थिति भएका थिए । दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेज लगायत सो विश्वविद्यालय कलेजसँग आवद्ध ११ वटा कलेजका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । दीक्षान्त समारोहमा विश्वविद्यालयबाट सहभागी भएका अतिथि, विभिन्न कलेजका प्रतिनिधि लगायतले आफ्ना भनाइ पनि राखेका थिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो
रोल्पा । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी भाषामा तथा कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपालीमा पठनपाठन गराउँदै आएको छ । कक्षा ११–१२ मा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुँदै सो विद्यालयले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा र एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सव ओभसियर विषयमा समेत पठनपाठन गराउन थालेको छ । चालु शैक्षिक सत्रमा शिसु कक्षादेखि कक्षा १० सम्म एक हजार आठ सय १७ विद्यार्थी भर्ना भएका विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए । जिल्लाकै पुरानो माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालय २०२३ सालमा स्थापना भएको हो । सो विद्यालयले २०५२ सालदेखि उच्च मावि तहमा पठन पाठन सुरु गरेको हो । हाल सो विद्यालयको कक्षा ११ र १२ मा आठ सय २२ विद्यार्थी अध्ययन गरिरहेका छन् । सिभिल इन्जिनियरिङ डिप्लोमा र प्री डिप्लोमा तहमा थप एक सय ४० सहित विद्यालयमा दुई हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन् । अभिभावकको सहयोगले विद्यालयको शैक्षिक अवस्थामा व्यापक सुधार सम्भव भएको पोख्रेलले बताए । बर्सेनि विद्यार्थी निजी विद्यालय छाडेर यहाँ पढ्न आउने गरेका छन् । विद्यार्थीको चाप बढ्न थालेपछि भैतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डागीले जानकारी दिए । ‘विद्यार्थी थप हुँदै जाँदा शिक्षकको सङ्ख्या पनि थप्नुपर्ने आवश्यकता छ’, उनले भने । विद्यालयले दुईवटा हेल्थ डेक्ससमेत स्थापना गरेको छ । हेल्थ डेक्समा उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ शिक्षक कर्मचारी कार्यरत छन् । रासस
पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ, काठमाडौं ल्याइँदै
काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि रायमाझीले भैरहवाबाट काठमाडौं जाने भनेर बुधबार साँझका लागि जहाजको टिकट काटेको भएपनि अन्तिम समयमा रद्द गरेका थिए । बुधबार अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन भएका थिए । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ । यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् ।
बैंकले ऋण नदिएपछि भन्सारमै थन्किए नयाँ गाडी, खरिद मूल्यभन्दा राजस्व बढी
काठमाडौं । आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसीपीमै सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा महँगो मूल्यका सवारी साधन लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए । उनका अनुसार भारतबाट आयात भएर आएका साना र ठूला गरी १ हजार ९०९ वटा सवारी साधन भन्सारमै थन्किएको छन् । आयात भएका कार/जीप ६२९ वटा, बस ३४ वटा, ट्रकका चेचिस ८४४ वटा, नयाँ चेचिस ३८६ र ट्र्याक्टर १० गरी १ हजार ९०९ वटा सवारी साधन भन्सारमा थन्किएको प्रमुख पन्थीले बताए । भन्सारमा सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ । ‘भन्सार प्रशासनको कारणले भन्दा पनि मुलुकको अर्थतन्त्रमा देखिएको तरलता नै यसको प्रमुख कारण हो, आयातकर्ताले आयात गरेर त ल्याउनुभयो तर, बजारमा सवारी साधनको खासै माग छैन,’ प्रमुख पन्थीले भने । त्यसैले जाँचपास गराएर सवारी साधन लैजान चासो नदेखाएको उनको भनाइ छ । आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आएपनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को साढे ९ महिनाको अवधिमा लक्ष्यको ५९.८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाख १८ गतेसम्ममा २ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ५९.८२ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । सो भन्सार कार्यालयको चालु आव २०७९/८० मा २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी ढकालले बताए । सो भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/०७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको उनको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले अझै केही महिना यस्तै अवस्था हुने उनको भनाइ छ । यता व्यवसायीले सरकारको मौद्रिक नीतिका कारण सवारी साधान बिक्रीमा आएको ह्रास र व्यवसायीको लगानी गर्ने क्षमतामा आएको कमीले सवारी साधन भन्सारमै थन्किएको बताएका छन् । ‘अर्थतन्त्रमा देखिएको सुस्तताका कारण हरेक व्यक्तिमा आर्थिक समस्या छ, कसैले निर्माण काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन, देशको पुँजी र कर्जा नीति पनि ठीक छैन, हामीले त्यसमा सुधार गर्न धेरै पटक सरकारलाई भन्यौँ तर सुधार भएन, अहिले त्यसैको असरस्वरुप बैंक तथा वित्तीय संस्था पनि ऋण प्रवाह गर्न सकिरहेको छैन, जसका कारण यस्तो समस्या देखिएको हो,’ नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुबोध गुप्ताले भने । अहिलेको अवस्थामा सवारी साधन मात्रै नभई अधिकांश समानको बिक्री घटेको उनले बताए । उनका अनुसार बैंकले पनि ऋण लगानी नगरेको अवस्थामा व्यवसायीले भन्सारबाट गाडी छुटाएर गोदाममा थन्काउनु बाहेको विकल्प छैन । जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्काएको उनले बताए ।रासस
प्लेन टिकट रद्द गरेर टोपबहादुर रायमाझी सम्पर्कविहीन
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझीका नाममा पक्राउ पुर्जी जारी गरेको छ । रायमाझीले भैरहवाबाट काठमाडौं जाने भनेर बुधबार साँझका लागि जहाजको टिकट काटेको भएपनि रद्द गरेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन भएको हुन् । उनको मोबाइल पनि अफ गरिएको छ । सम्पर्कविहीन भएपछि सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेको बताइएको छ । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
थप १३ कम्पनीले पाए ब्रोकर लाइसेन्सको एलओआई, कुन-कुन हुन् ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । यसअघि १६ वटा कम्पनीलाई एलओई प्रदान गरेकोमा बुधबार थप १३ कम्पनीलाई एलओआई प्रदान गरिएको प्रवक्ता मुक्ति श्रेष्ठले जनाकारी दिए । सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो । यस अघि गत बैशाख १८ गते १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि एलओआई प्रदान गरेको थियो । नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, मेघा स्टक मार्केट, हिमालयन ब्रोक्रेज कम्पनी, सिविआईएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, एमएमबि सेक्युरिटिज, आरबिबि सेक्युरिटिज कम्पनी, सानिामा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटि, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्राप्त गरेका थिए । नेपाल धितोपत्र बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ । एलओआई प्राप्त गरेका कम्पनीहरुले कर्मचारीदेखि सबै पुर्वाधार तयार पार्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । ‘धितोपत्र सम्बन्धि कारोबार गर्न योग्य भएर आशयपत्र प्रदान गरेको हो, आशयपत्र भनेको अनुमति प्राप्त सरह नै हो, अनुमति प्राप्तका लागि योग्य भएका हुन्, अब ६ महिनाभित्र कारोबार गर्नका लागि पुर्वाधारदेखि कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ, सबै मेकानिज्म खडा गरेपछि लाइसेन्स प्राप्त गर्छन्,’ उनले भने । यदि ६ महिनासम्म नियमानुसरा पुर्वाधार तयार गर्न सकेन भने अनुमति नदिने धितो बोर्डले जनाएको छ ।
अर्थतन्त्र सुधार हुँदैछ, तेस्रो कार्यकालको अन्तिमसम्म राम्रो नतिजा आउँछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए । ‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ, त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो, संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए, मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन, सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो,’ लोकार्पणमा प्रधानमन्त्री दाहालले भने ‘सङ्घीयताको सफल अभ्यास गरियो, स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए, आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए, अर्थतन्त्रमा राम्रो सुधार आयो, ७.५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत् भार कटौती अन्त्य भयो, ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो, यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।’ देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको बताए । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै रहेको उनको भनाइ छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति भइरहेको र तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउने उनले बताए ।