महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छिन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताउँदै भनिन्,’कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत हो, विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ ।’ मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्ने बताएकी छिन् ।
स्मार्ट टेलिकमको सम्पत्ति प्राधिकरणको नियन्त्रणमा, कसले तिर्छ ३ वटा बैंकलाई २ अर्ब २१ करोड रुपैयाँ ?
काठमाडौं । स्मार्ट टेलिकमलाई सरकारले कब्जामा लिएको छ । २१ अर्ब ८६ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी नगरेपछि लाइसेन्स नै खारेज गरेको नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनी नै कब्जामा लिएको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को व्यवस्था अनुसार स्मार्ट टेलिकम नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ । बुधबार प्राधिकरणले सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको थियो । सूचना जारी गर्दा समेत स्मार्ट टेलिकमले सम्पत्ति हस्तान्तरण नगरेपछि प्राधिकरणका टोली गएर कम्पनी नै कब्जामा लिएको जनाईएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमको दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल र वित्तीय तथा प्रशासनिक विवरण प्राधिकरणले नियन्त्रणमा लिएको बताए । ‘हामीले दिएको समयभित्र सम्पत्ति हस्तान्तरण नगरेपछि विभिन्न विभागको नेतृत्वमा कार्यालय नियन्त्रणामा लिएका छाैं’, उनले भने, ‘कम्पनीको सम्पत्ति तथा दाहित्वबारे थप अध्ययन भएपछि यकिने हुनेछ ।’ प्राधिकरणले प्राविधिक, अर्थ, कानुन विभागका प्रमुखलाई स्मार्ट टेलिकमको अवस्था अध्ययनका लागि बुधबार नै पठाएको हो । उक्त टोलीले बिहीबारसम्म प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । अनुमति खारेज भएर कम्पनीको स्वामित्व प्राधिकरणले लिएपनि व्यवहारिक रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न विकल्पबारे छलफाल भैरहेकाे उनको भनाई छ । नवीकरणका लागि दिईएको अन्तिम समय वैशाख ३ गते साँझ ५ बजे गुज्रिएपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेजीमा परेको थियो । स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनु पर्ने हुन्छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्सको अवधि आगामी बैशाख १ गते सकिएको थियो । सवा २ अर्ब बढी ऋण स्मार्ट टेलिकमले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सवा २ अर्बभन्दा बढी ऋण लिएको छ । क्षमता, सेवा विस्तार तथा प्रविधि खरिदमा कम्पनीले प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ अर्ब २१ करोड १० लाख ५३ हजार लिएको पाइएको छ । स्मार्टले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार प्राइम बैंकबाट ७३ करोड ३९ लाख ५३ हजार ३ सय ४६, नेपाल इन्भेस्टमेन्ट बैंकबाट १ अर्ब ३१ करोड ७१ लाख र लक्ष्मी बैंकबाट ८ करोड रुपैयाँ ऋण लिइएको उल्लेख छ । प्राधिकरणले स्मार्टलाई दिएको लाइसेन्स नै खारेज भएपछि उक्त बैंकबाट लिएको ऋणको दायित्व कसले बहन गर्ने भन्ने यकिन भैसकेको छैन । तीन महिनाभित्र बक्यौता नबुझाए लिलाम बिक्री हुने प्राधिकरणले जारी उक्त नियमावली अनुसार स्मार्ट टेलिकमको स्वामित्व नियन्त्रणमा लिएको तीन महिनाभित्र बक्यौता रकम भुक्तानी गर्न सकिनेछ । ‘प्राधिकरणले नियम १८ बमोजिम कुनै सेवा प्रदायकको सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नियन्त्रणमा लिएपछि त्यसरी नियन्त्रणमा लिएको तीन महिनाभित्र त्यस्तो सेवा प्रदायकको नगद मौज्दात वा आम्दानीबाट नियम २० बमोजिम सेवा सुचारु गर्ने कार्यमा बाधा नपुग्ने गरी नियम ५ बमोजिमको दायित्व भुक्तान गर्नुपर्ने छ,’ उल्लेख छ । दायित्व भुक्तान हुन नसके त्यस्तो सेवा प्रदायकको सम्पत्ति लिलाम बिक्री गरी दायित्व भुक्तान गरिने पनि यसमा उल्लेख छ । नियमावलीको परिच्छेद ६ मा सम्पत्ति बिक्री तथा लिलामसम्बन्धी व्यवस्था गरिएको छ । जसमा प्राधिकरणले नियन्त्रणमा लिएको सेवा प्रदायक लिलाम बढाबढका माध्यमबाट बिक्री गरिने उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा २३ करोड २५ लाख ठगी, १०६ जनाले दिए उजुरी
काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो । सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ । ‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए । उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए । गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै बताएका थिए । पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड रुपैयाँ बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ । रासस
सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरासमेत रहेका सन्दीपलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएको थियो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।
सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा विस्तार
काठमाडौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने जनाएको छ । बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी राजधानीमा हुँदै
काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी “नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३’ शुक्रबारदेखि राजधानीमा आयोजना हुने भएको छ । स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा वैशाख २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म प्रदर्शनी आयोजना गर्न लागेको हो । अन्तराष्ट्रियस्तरको यस प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेशनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिने आयोजकले बताएको छ । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापक डी।एन इभेन्ट्स प्रलि रहेको छ । नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहने प्रदर्शनीले फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देश बीच जनता–जनता सम्पर्क तथा जानकारी दिने उद्देश्य राखेको आयोजके जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० का अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरी बहादुर दर्लामी र नेपालका लागि भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भूटियाले संयुक्त रुपमा उद्घाटन गर्ने एक्स्पो बिहान १० बजेदेखि बेलुका छ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने बताइएको छ ।
नेपालगञ्जमा विद्युत् कटौती हुँदा उपभोक्ता मारमा
नेपालगञ्ज । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् । विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा सङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौँ’, उनले भने । प्राधिकरणको नेपालगञ्जस्थित लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख इ हरिप्रसाद पाण्डेले यहाँ विद्युत्को स्रोत टनकपुरबाट मात्रै आउने भएकाले समस्या हुने गरेको बताए । आपूर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि भने प्रयास गरिरहेको उनको भनाइ थियो । नेपालगञ्जमा १६ र आठ एमभिएका दुईवटा गरी २४ एमभिएका ट्रान्सफर्मर रहेकामा बसपार्कमा एउटा आठ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको प्रमुख पाण्डेले बताए । केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए । प्रमुख पाण्डेले यो बेलामा विकास निर्माणका कार्य भइरहने र हावाहुरीका कारण आउने समस्याले पनि विद्युत् कटौती हुने गरेको पनि उल्लेख गरे । वितरण केन्द्रका अनुसार अहिले कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको, तारलाई छुने अन्य तार र झार काँटछाँट गरिरहेको, फेज थपिएको, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्को फिडरमा लैजाने तयारी भइरहेको र ट्रान्सफर्मरको फ्युज जान नदिन एलटी लाइनमा एमसिबी बक्स जडान गरिएको छ । विद्युत् लाइन निरन्तर सञ्चालन राख्नका लागि ठाउँठाउँमा डिसकनेक्सन राख्न थालिएको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर तथा ब्रेकर मर्मत पनि गरिएको र विभिन्न ठाउँका ट्रान्सफर्मर अपग्रेड गरिएको पनि केन्द्रले जनाएको छ । बाँकेको खजुरामा सञ्चालनमा आएको १० मेगावाट सौर्य विद्युत्बाट दिउसोको समयमा भोल्टेजको समस्या हटेको छ उक्त विद्युत् दिउँसोको समयमा मात्रै उत्पादन हुने गरेको छ । रासस
एनएलजी इन्स्योरेन्सका संचालक कविराज अधिकारीले दिए राजीनामा
काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।