कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गरिने
काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएकाे छ । महानगरले नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने भएकाे हाे । बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूकाे निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएकाे हाे ।
३५८ स्थानबाट विद्युतीय सवारी चार्ज गर्न सकिने, पेट्रोल पम्पलाई चार्जिङ स्टेसनमा परिणत गरिँदै
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ईमोबिलिटि अबको भबिष्य भएकाले सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् । सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको भएपनि प्रत्येक वर्षको बजेटमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न नसकेको बताएका हुन् । ‘प्रत्येक वर्षको बजेटमार्फत करका दर हेरफेर हुँदा सवारी व्यवसायीले समेत ढुक्कले लगानी गर्न नसक्दा विद्युतीय सवारीको प्रयोग व्यापक रुपमा बढ्न सकेको छैन्, विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्छ,’ उनले भने । हाल नेपालमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार समेत बन्दै गएको भन्दै आगामी बजेटले विद्युतीय सवारीमैत्री नीतिगत व्यवस्था हुनुपर्ने उनको भनाई छ । उनका अनुसार हाल नेपालमा विद्युतीय सवारी चार्ज गर्नलाई ५८ स्थानमा डिसी र ३०० स्थानमा एसी चार्जर गरी ३५८ स्थानमा चार्जिङ्ग स्टेशन रहेका छन् । खेर गएको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउनुपर्ने उनले बताए । ‘विद्युत प्राधिकरणले ४० वटा डिसी चार्जर सञ्चालनमा ल्याएको छ । राजमार्ग १०० किलोमिटरको दुरीमा स्टेसन भएपनि अझै अपुग छ,’ श्रेष्ठले भने । यस्तै, नाडा अटोमोबाइल एसोसिएसनकी केन्द्रीय सदस्य तथा सामेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अगामी बजेटमार्फत विद्युतीय सवारीमा सरकारले स्थिर नीति लिनुपर्ने बताइन् । स्थिर नीति कम्तिमा २/३ वर्षसम्म कायम हुनुपर्ने र यसबाट नेपालमा विद्युतीय सवारीको संख्या र प्रयोगकर्ता उकालो लाग्ने श्रेष्ठको भनाई छ । ‘सरकारले प्रत्यक बर्ष विद्युतीय सवारी आयातमा कर बढाउने र घटाउने गर्दै आएको छ, अस्थिर नीतिले उपभोक्तामा अन्योलताको अवस्था सिर्जना भएको छ,’ उनले भनिन् । सरकारले लिएको १ सय किलोवाटसम्मका सवारीलाई मात्रै प्रोत्साहन गर्ने नीतिले उच्च क्षमताका सवारीको संख्या नबढेको श्रेष्ठले बताइन् । विद्युत प्राधिकरण र निजी क्षेत्रको संयुक्त सहकार्यमा राष्ट्रिय राजमार्गका ६० देखि ७० किलोमिटर फरकमा चार्जिङ स्टेसनहरु बनिरहेका छन् । यस्तो, अवस्थामा विद्युतीय सवारीको प्रयोग प्रबद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए । उनले विद्युतीय सवारी साधन र इमोबिलिटिलाई प्राथमिकतमा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने मन्त्री ज्वालाको भनाई छ । ‘मैले यहाँ चार्जिङ स्टेसनको पूर्वाधार पनि बन्दै गरेको सुने, विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने बिषयमा सरकार गम्भिर छ,’ मन्त्री ज्वालाले भने । नेपालमा पछिल्लो समय उपभोक्तामा ब्याट्रि र रेन्ज एन्जाइटि समेत घट्दै गएको विज्ञहरुको भनाई छ । ‘केही बर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा इभि प्रतिको बिश्वास बढ्दै गएको छ, यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ,’ विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले भने । विद्युतीय सवारी साधनलाई प्रोहोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभएपनि भन्सार दर कम गर्न सकेमा मात्रपनि विद्युतीय सवारीको बजार बढ्नेमा ज्ञवाली ढुक्क छन् । यस्तै, नेपाल आयल निगम उपनिर्देशक मनोज कुमार ठाकुरले पेट्रोल पम्ममा चार्जिङ स्टेसन राख्न विद्युत प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । ‘पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न स्ट्यान्डर्ड बनाउनु पर्छ, चार्जिङ स्टेसन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ,’ उनले भने । उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ । यस्तै, आन्तरिक राजश्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताए । सरकारले तोकेअनुसारको कर संकलन गरिरहेपनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको प्याकुरेलले बताए । ‘विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको छ र विश्वको सम्पूर्ण ध्यान नै यसतर्फ केन्द्रीत भएको छ, यहीकारण नेपालले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिन जरुरी छ र, यसबारे विभाग समेत जानकार छ,’ उनले भने । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ विषयमा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोहोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा व्यवसायीहरुले जोड दिएका हुन् ।
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ’, उनले भने, ‘मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।’ अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । ‘उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्’, उनले भने, ‘मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।’ आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । रासस
पदभार गह्रण गर्दै खेलकुदमन्त्रीले भने : दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू दिनको १८ घण्टा काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउँदै उनले भने,’आम नागरिकहरुले देख्नेगरी काम गर्नेछु, केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म ।’ खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।
बेस्ट पर्फर्मेन्स प्लेयर पोको यम५ अब छुट मूल्यमा
काठमाडौं । बेस्ट पर्फर्मेन्स प्लेयर पोको यम५ अब छुट मूल्यमा पाइने भएको छ । पोको यम५ को साथमा नेक्स्ट लेबल मोबाइल गेमिङ र सहज डिजिटज जीवनशैली पाइने भएको छ । उक्त इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि पोको यम५ छुट मूल्यमा उपलब्द गराउने भएको छ । पोको यम५ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन रहेको कम्पनीले जनाएको छ । शाओमी नेपालका म्यानेजर अमित कुमार पंण्डे भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ ।’ पोको यम५ एक शक्तिशाली स्मार्टफोन हो जसमा ६.५८ –इन्च ९० यचजेट यफएचडि प्लस + डिस्प्ले, एक शक्तिशाली ६एनएम मिडिया टेक हेलियो जि९९ प्रोसेसर, र ५००० यमएयच ब्याट्री जडान गरिएको छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ ।
स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्री बस्नेतको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । यस्तै। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने पनि बताए । उनले अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् ।
‘विद्यार्थीहरु विदेशिनुमा कलेज होइन, राज्य दोषी छ’
पछिल्लो समयमा नेपालको विशेषगरी स्नातक तहदेखि माथिको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय र कलेजहरुमा विद्यार्थीको अभाव हुँदै गएको विषय निकै चर्चामा छ । विद्यार्थीको तिव्र विदेश पलायनका कारणले सो समस्या बढ्दै गएको भनेर धेरैले तर्क गरेका छन् । प्रस्तुत छ, यस्तै समसामयिक सन्दर्भमा व्यवस्थापन शिक्षा तथा प्राविधिक शैक्षिक कार्यक्रममा स्थापित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्य तोयानारायण पौडेलसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश : नेपालको उच्च शिक्षामा सरकार र निजी क्षेत्र दुबै पक्षले ठूलो मात्रामा लगानी गरेका छन्, तर, पछिल्लो समयमा एउटा महत्वपूर्ण विषय के उठेको छ भने कलेजहरु पढ्ने विद्यार्थी नै पाउन छाडेका छन् । यो समस्या कसरी भइरहेको छ ? वास्तवमा भन्ने हो भने नेपालको उच्च शिक्षा क्षेत्रको भौतिक संरचना, जनशक्ति र अध्ययन अध्यापनको विषय विश्वकै स्तरमा छ । मेरो विचारमा त्यस्तो धेरै कमि छैन । मुख्य समस्या भनेको देशमा देखिएको राजनीतिक अस्थिरता र अराजकताका कारण केही मानिसहरुमा वितृस्णा पैदा भएर यो देशमा किन बस्ने भन्ने प्रश्न सिर्जना भएको देखिन्छ । यहाँ पढ्दा गरिने खर्च विदेशमा खर्च गर्दा पढाईसँगै आम्दानी पनि गर्न सकिने भन्ने मानसिकता पनि केही अभिभावकहरुमा भएको देखिन्छ । अर्को विषय जापान लगायत विश्वका विकसित मुलुकहरुमा वृद्ध मानिसहरुको संख्या बढ्दै गएको छ र उनीहरुले आफ्नो देशमा आवश्यक जनशक्तिको आपूर्तिको लागि पनि हाम्रो जस्तो मुलुकका युवाहरुलाई विदेश जाने वातावरण बनाइरहेका छन् । हामीसँग पनि त्यसको लागि मार्केटिङ गर्न आइरहेका छन् । पक्कै पनि यो विषय खुसीको विषय होइन, देशको युवाशक्ति बाहिरिएर देश बन्न सक्दैन । हामीले देशको विकास गर्नकोलागि युवाहरुलाई देशमा नै बस्ने वातावरण सिर्जना गर्नसक्नुपर्छ । हाम्रो देशको विकास सम्बन्धी योजना नै भएन, सोही अनुसार कुन प्रकारको जनशक्ति विकास गर्ने भन्ने विषय पनि शिक्षासँग जोडिएको छैन । हामीले उत्पादन गरेका विद्यार्थीहरुमा पनि अध्ययन पुरा गरिसकेपछि अब यत्तिको शिक्षा लिइसकेपछि त विदेशमा गएर पनि राम्रो गर्नसक्छु भन्ने विचार विकास भएको देखिन्छ । अहिले विदेश जानको लागि निकै सहज भएको छ, जसकारणले पनि युवा अथवा विद्यार्थीहरुमा विदेश जाने इच्छा बढीरहेको देखिन्छ । यहाँनेर के हो भने नेपालको उच्च शिक्षा प्रदान गर्ने क्षेत्र कमजोर भएर होइन की राज्यकै कारणले यो अवस्थाको सिर्जना भएको हो । भनिन्छ विश्वका विकसित मुलुकहरुका विश्विद्यालयहरुले समायनुकुल र आँफै पनि रोजगार प्रदान गर्न सक्ने अवस्थाबाट सञ्चालन भइरहेका छन् । जसका कारणले विद्यार्थीहरुलाई उच्च शिक्षा लिन सहज छ । नेपालका विश्वविद्यालय र कलेजहरु पनि परम्परागत हुँदै गएर विद्यार्थी आकर्षित हुन छाडेका हुन् की ? त्यसो होइन, उदाहरणको लागि नेपालमा कम्युनिकेशन कम्पनीहरु कति खुल्न सक्छन् ? मेरो जानकारीमा आएअनुसार दर्जनौं कम्पनीहरु त्यसका लागि पाइपलाइनमा छन् तर सरकारले अनुमति दिँदैन । आवश्यकता अनुसार त्यसो गर्नसक्यो भने नेपालमा इलेक्ट्रोनिक इन्जिनियर पढेका हजारौंले काम पाउन सक्छन् । त्यस्तै अन्य विकाससँग सम्बन्धित क्षेत्रमा विकास नहुँदा जनशक्तिको खपत हुन सकेन । अहिले गाउँमा डोजर ड्राइभरले बाटो खनेर पैसा सक्ने काम भएको छ । कुन कुराको विकासको आवश्यकता छ भन्ने विषयमा मूल्यांकन नै भएको छैन । हामीकहाँ उत्पादन भएका सिभिल इन्जिनियर, कृषि इन्जिनियर, ग्रामिण विकास इन्जिनियर लगायतले नै काम नपाइरहेको अवस्था छ । केही समय अगाडि सम्मको अवस्थामा गाउँमा किनेर खानुपर्यो भने रातिको समयमा लुकेर खरिद जानुपर्थ्यो । कसैले देख्ला र किनेर खानेरैछ भन्ला की भन्ने डर हुन्थ्यो, तर अहिले हेरौं सबैले खरिद गरेर खाने भएका छन् । नीति नै भएन, गाउँमा बस्ने र काम गर्ने वातावरण निर्माण गर्नको लागि स्थानीय, प्रदेश र संघीय सरकारको कार्यक्रम नै छैन् । त्यो मात्रै होइन काठमाडौंमा पाइने औषधि देखि खानेकुरासम्मको गुणस्तर र गाउँमा पाइनेमा फरक छ । वास्तवमा मानिसहरुलाई गाउँमा वस्ने वातावरण नै सिर्जना गरिएको छैन । शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता कुराहरुमा मानिसले सुविधा खोज्छ । यो स्वभाविक विषय हो । हो, अर्को विषय अहिले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षामा जुन प्रकारको राजनीतिक हस्तक्षेप भइरहेको छ, त्यसले पनि समस्या सिर्जना गरेको छ । मैले नेपालमा विद्यार्थीहरु नटिक्नुमा कलेजहरुको भूमिकामा समस्या धेरै देख्दिन । किनभने राज्य कता लैजाने भन्ने विषय राजनीतिले निर्धारण गर्छ । देशलाई कता लैजाने कसरी विकास गर्ने भन्ने नीति निर्माणको ठाउँमा राजनीतिक व्यक्तिहरु रहेका हुन्छन् । हामी शिक्षा क्षेत्र सञ्चालकहरुले राज्यले निर्धारण गरेको नीतिलाई लिएर अगाडि बढ्ने मात्रै हो । यो भूमिका हामीले निर्वाह गरिरहेका छौं । मैले निजी स्कुल र निजी कलेजहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने पनि धारणा राख्न चाहन्न । सरकारी स्कुल कलेजमा अध्ययन गर्ने वातावरण बनाऔं न । केही समय अगाडिसम्म १० कक्षा सम्मको अध्ययनका लागि पनि ठूलो संख्यामा नेपाली विद्यार्थी जाने गरेको अवस्था थियो, किनकी यहाँको शिक्षामा गुणस्तरको समस्या थियो, अहिले त सो समस्या हटेर पनि गएको छ, यसमा निजी क्षेत्रको योगदान छ । भनेपछि तपाईंको बुझाइमा शिक्षाको गुणस्तर वा स्कुल कलेजको कारणले होइन यहाँभित्रको रोजगार तथा उद्यमको वातावरणको कारणले मात्रै विद्यार्थी पलायन भइरहेका छन् ? एकदमै । मैले नै ४६ सालदेखि अहिलेसम्म आन्दोलन भन्दा अर्को कुरा देखेकै छैन । हामीले कहिलेसम्म गर्ने हो आन्दोलन ? हामी पञ्चायती व्यवस्था गलत छ भनेर फाल्यौं, अहिले बहुदलको ३५ वर्षमा पनि फेरि यस्तै मात्रै देखिरहेका छौं । अहिले विद्यालयमा विद्यार्थीलाई दिवाखाजा बाँड्ने काम भइरहेको छ ? यो किन भइरहेको छ ? हामीले खल्तिमा मकै हालेर पढेका हौं । के दिवा खाजा दिएर विद्यार्थीको संख्या बढ्छ । स्कुलमा गुणस्तरीय शिक्षा दिने शिक्षकको व्यवस्था गरौं, मानिसहरुलाई गाउँमा बस्ने वातावरण बनाऔं, एकजना गाउँमै बसेर महिनामा कम्तिमा ५० हजार कमाउन सकोस । त्यसो भएमा काठमाडौंमा आएर किन बस्न पर्यो । म आँफै गाउँमा गएर बस्छु । कोही पनि मान्छे खान नपाएर स्कुल नगएका होइनन् । बरु हामीले मान्छेलाई फेरि अर्को खाने ठाउँ बनाइदियौं । यो निकै गलत काम भएको छ । विश्वविद्यालयहरुले समयमा परीक्षा नलिने, समयमा परीक्षाको नतिजा ननिकाल्ने जस्ता विद्यार्थीहरुले ठूलो समस्या पनि त झेलिरहेका छन् । के अबको समयमा विश्वविद्यालयहरुको भूमिका स्मार्ट हुनुपर्दैन ? पहिला त व्यक्तिगत रुपमा यति धेरै विश्विद्यालयहरु खोल्ने विषयको विरोध गर्दै आएको छु । विश्वविद्यालय के को लागि खोलिएको छ ? यसको योजना बनाउने काम कसले गरिरहेको छ ? सबैभन्दा पहिला योजना नै भएन की कुन विश्वविद्यालयले के पढाउने ? देशको लागि आवश्यकता के हो ? उत्पादिन जनशक्तिलाई कुन क्षेत्रमा लैजाने ? यस्तो विषयमा तयारी गर्ने योजनाकारहरुले हो । समयमा परीक्षा भएन, समयमा नतिजा आएन भन्ने विषयहरु केही मात्रामा आएका पनि हुन् । तर, विश्वविद्यालयहरुले त्यसमा धेरै मिलान गरिसकेका छन् । कोभिडको समयमा केही समस्या भएको थियो । अब विश्वविद्यालयहरुले सुधार गरिसकेका छन् । विदेशी विश्वविद्यालयहरुको जस्तो एसाइन्मेन्ट दिएर नतिजा निकाल्ने हाम्रो शिक्षा होइन, हाम्रो शिक्षा राम्रोसँग लिने हो भने विश्वको जुनसुकै ठाउँमा सम्बन्धित विषयमा विद्यार्थी कमजोर हुँदैन । विश्वविद्यालयहरुमा हुने राजनीतिक नियुक्ति, विद्यार्थी संगठन, प्राध्यापक संगठन, तालावन्दी लगायतका विषयहरु छन् । राजनीतिक पदाधिकारी राजनीतिक भएपछि उनीहरुलाई उनीहरुलाई राजनीतिक मान्छेहरुले आफ्नो तरिकाले दबाब दिने काम भइरहेको हुन्छ । जसले गर्दा केही अप्ठ्यारोहरु भइरहेको देखिन्छ । सोही बीचमा पनि अगाडि बढिरहेको अवस्था छ । अहिले धेरै विश्वविद्यालयहरुले परीक्षा सकिएको दुई महिनाभित्र नतिजा निकाल्नुपर्छ भन्ने विषयको टुंगोमा पुगेका छन् । सायद अब विद्यार्थी परीक्षा र नतिजको कारणले नै विदेशिनुपर्ने अवस्था भने अब छैन । यहाँनेर मेरो सुझाव के हो भने पढ्ने भनेको जागिर खानको लागि मात्रै होइन । विद्यार्थी राम्रोसँग अध्ययन गरेन भने उ अगाडि बढ्न पनि सक्दैन । १२ कक्षा सम्मको शिक्षा भनेको स्कुल शिक्षा हो । स्नातक तहको शिक्षाले नै मानिसको आधार तयार गर्छ । सो तहको अध्ययनपछि कुन क्षेत्रमा जाने हो भन्ने विषयमा उसले निर्णय गर्नसक्ने हुनुपर्छ । समयानुकुल गुणस्तरीय शैक्षिक क्षेत्र बनाउने विषयमा तपाईं कलेज सञ्चालकहरुको भूमिका हुँदैन ? अहिले विद्यार्थीहरुले एउटा सजिलो तरिकाले पढ्न खोजेका छन् भने अर्को पढाई सकिएपछि तुरुन्त बजारमा बिक्न चाहन्छन् । हाम्रो देशको शिक्षा विश्वविद्यालय, योजना आयोग लगायतले तुरुन्त हाम्रो शिक्षामा क्रान्तिकारी परिवर्तनको लागि कुनै समूह नै गठन गरेर अनुसन्धानका साथ अगाडि बढ्नुपर्छ । अहिले धेरै विद्यार्थीको सोँच नै यो देशमा नबस्ने भन्ने भएको छ । हाम्रो कलेजमा नै स्नातक तहको पहिलो वर्षमा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरु अर्को सेमेस्टरमा विदेश जान्छन् । अहिले हामीले बिद्यार्थीहरुको जागिरमा समेत सहज होस भनेर बेलुका ५ बजेदेखि ९ बजेसम्म सिभिल इन्जिनियर पढाउने शुरु गरेका छौं । विश्वविद्यालयहरुले र सरकारले समसामयिक अनुकुलता र आवश्यकताको आधारमा शिक्षाको विकास गर्ने विषयमा ठूलो अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ । अब ढिलो भैसकेको छ ।
ठेला व्यापारबाटै मनग्य आम्दानी गर्दै भारतका राजकुमार साह
अर्जुनधारा । काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु । भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक ७५ हजार रुपैयाँ कमाउछन् । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउँछन् । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उनको भनाइ छ । भद्रपुर रोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक दुई-तीन हजारको व्यापार गर्ने गरेको बताए । ठेला व्यापारबाटै उनको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षाैंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हालेका हुन् । ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ । झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउछिन् । उनी दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउछिन् । घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउछन् । भारतको विहारका उनी गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्छन् । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् । ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउँछन् । उनले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आएका छन् । रासस