व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ
काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति बाराको सिमाराबाट ३७ वर्षिय जिवन रावललाई पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका-८ का रावलकोविरुद्ध कँडेलका परिवारले किटानी जाहेरी दिएका थिए । कँडेलका परिवारले घटना स्थलमा भेटिएको सुसाइड नोटको आधारमा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावलसहित कम्पनीका सेयर सदस्य प्रदीप रुङ्गटाविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुर्याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, ‘मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ ।’ सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले सङ्घ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रको प्रभावकारीरुपमा क्रियाशील बनाउन आयोगले अनुरोध गरेको छ । लोकतन्त्रको संस्थागत विकासका निर्मित राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै आयोगले नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुने उल्लेख गरेको छ । अन्तक्र्रिया र कार्यक्रममार्फत सूचनाको हकका कानुनी व्यवस्था तथा प्रयोगबारे सचेतना गराउने कार्य नियमितरुपमा भइरहेको उल्लेख गर्दै आयोगले संविधान र कानुनले प्रत्याभूत गरेको सूचना माग गर्ने तथा प्राप्त गर्ने नागरिक अधिकारको आधिकारिक सदुपयोग गर्न आम नागरिकलाई आह्वान गरेको छ । आयोग स्थापना दिवसको अवसरमा आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता व्यक्ति गर्दै प्रमुख सूचना आयुक्त गुरुङले सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो
काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
नक्कली शरणार्थी प्रकरण : भिआइपी जोगाउन लबिङ
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणाथा बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन् । शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ । सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ । टोपबहादुर रायमाझी, प्रतीक थापा, निरज राईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम हुने गरी सेयर संरचना पविर्तन गरेको हो । यसअघि संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित निकायको स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव गत मंसिर ९ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो । यदि कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भएमा ७ दिन जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको समयमा जानकारी नभए संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरिनेछ ।
पौने ३ अर्बको नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, १० प्रतिशत ब्याज दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने भएको हो । यस बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ६/६ महिनामा ब्याजदर भुक्तानी गरिने बताएको छ । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । सो बचतपत्रमा नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्र २०८० जेठ ३० गते निष्काशन गरी २०८५ जेठ ३० गते परिपक्व हुनेछ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : अझै एक दर्जन उच्च निगरानीमा
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले राजधानीसँग भने । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए । प्रहरीले बुधबार मात्रै गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेलाईसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए । काठमाडौं जिल्ला अदालतमार्फत बुधबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी बुझिसकेको छ । उनी पक्राउ परिसकेका छैनन् । यसैगरी, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी बुधबार राति नै बुटवल आएको र बुटवल आएपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका एक आरोपी सागर राईले रायमाझीलाई आफूले नगद बुझाएको बयान प्रहरीसमक्ष दिएको प्रहरी स्रोत बताउँछ । प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०/११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए । यो समाचार राजधानी दैनिकमा छ ।