‘टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापनामा पहिलो चरणको सफलता मिलेको छ’
काठमाडौं । टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । उच्च अदालत पाटनबाट टुकुचाका विषयमा भएको फैसलाको पूर्ण पाठलाई उदृत गर्दै शाहले खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका हुन् । ‘केही दिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ, टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ, नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ,’ उनले भने । उनका असुसार अदालतको फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौं महानगरपालिका लगायत संघीय सरकारका सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । ‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ, अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने ।
एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी
पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि करिब डेढदेखि दुई करोड रुपैयाँभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताए । उनले भने, ‘तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।’ उनका अनुसार यहाँका कृषकले वार्षिकरूपमा कम्तीमा दुई लाखदेखि १० लाख रुपैयाँसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका छन् । गाउँका एक सय घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ताजा तरकारी र बीउबिजन बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकले सहरबजारमा घरघडेरीसमेत जोडेका छन् । विगत २७ वर्षदेखि निरन्तररूपमा ताजा तरकारी र बीउ उत्पादन गर्दै आएका गाउँका अगुवा कृषक पौडेले भने, ‘तरकारी खेतीले विदेश पुगेका युवाहरूलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्धि बनेको छ ।’ उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उनले बताए । परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषक बलराम आचार्यले बताए । ‘उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै समस्या छैन’, उनले भने, ‘गाउँमै सडक आएको छ । पहिलाजस्तो डोकामा बोकेर लैजान पर्दैन । उत्पादन गर्नसके घरमै बसीबसी फोनका आधारमा तरकारी बिक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्नसके बेनीका व्यापारी फाँटमै गाडी लिएर आउँछन् ।’ तरकारी खेतीको आम्दानीले यहाँका कृषकको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताए । ‘आफ्नै माटोमा परिश्रम गर्दा गौरवको अनुभूति हुन्छ’, कृषक पौडेलले भने, ‘परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ सल्यानका साथै बास्कोट, धरापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन् । स्थानीय सरकारले कृषकलाई थप व्यावसायिक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दैै आएको छ । तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिएको सल्यानमा कृषि ज्ञान केन्द्र पर्वतले मल, बीउ र प्रविधिमा सहयोग गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए । रासस
महिला तथा बालबालिका मन्त्रीमा आचार्य नियुक्त, आजै सपथ
काठमाडौं । महिला तथा बालबालिका मन्त्रीका रुपमा सुरेन्द्र आचार्य नियुक्त भएका छन् । नेपाली काँग्रेसको सिफारिसमा नेता आचार्यलाई महिला मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।
सङ्घीय संसद् अधिवेशन आजदेखि, अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । सदनको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । रासस
आज मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामायन्तया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
संसदीय विकास कोष ब्युताउन कांग्रेस सांसदहरूको माग, अर्थमन्त्री दवावमा
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सांसद विकास कोष ब्युँताउन माग गरेका छन् । केही दिन अगाडी आगामी बजेटमाथि सुझाव दिने भन्दै राखिएको पार्टी संसदीय दलको बैठकमा सहभागी सांसदहरूले सांसद विकास कोषलाई पुनः स्थापित गर्न माग गरेका हुन् । सरकारमा सहभागी दलका सांसदहरुले नै यसअघि खारेज गरिएको उक्त कोष पुनः स्थापित गर्नुपर्ने माग राखेसँगै बजारमा विरोध हुन थालेको छ । बैठकमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसमक्ष माग गरेका थिए । कांग्रेसका सांसद पुष्प शाहले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई जसरी पनि सांसद विकास कोष ब्यँताउनु पर्नेमा जोड दिएका थिए । ‘निर्वाचन क्षेत्र विकास कोष पुनर्जीवित गर्नुपर्छ, अहिलेको आर्थिक संकटका कारण नयाँ योजनाहरु पनि विभाग मन्त्रालयमा समावेश नहुने, सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा मुखै देखाउन गाह्रो भयो’, बैठकमा उनले भनेका थिए । बैठकमा सहभागी अधिकांश सांसदले सांसद भएको अनुभूति समेत नभएको भन्दै सांसद विकास कोष व्युँताउनु पर्नेमा जोड दिएको सहभागी एक सांसदले विकासन्युजलाई बताए । ‘वडाअध्यक्ष/नगरप्रमुख/गाउँपालिका प्रमुखको हातमा बजेट हुन्छ । हामी सांसद भएको चाहिँ अनुभूति नहुने ? जनतामा जाने बाटो चाहिँदैन’, उनीहरुले भनेका थिए । कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यसम्बन्धमा छलफल गरेको उचित निणर्य लिने बताएका छन् । राष्ट्रिय सभा सदस्य तथा संघीयताविद् खिमलाल देवकोटा सरकारले यसअघि नै खारेज गरिसकेको संसद विकास कोष कार्यक्रम पुनः ल्याउला भनेर कल्पना समेत नगरिएको बताउँछन् । ‘यो विषय यसअघि नै संविधान तथा संघीयता विरोधी भयो भनेर विरोध गरेर नै हटाईएको हो, अब सांसदको काम योजना माग्दै हिड्ने होइन, सांसदको भूमिका भनेको नीति निर्माणमै हुनुपर्छ’, उनले भने । पछिल्लो दशकमा सबैभन्दा आलोचित भएको विषय नै संसद विकास कोषको भएको उनको भनाई छ । ‘संघीयता भन्दा अगाडी स्थानीय स्थरमा निर्वाचित जनशक्ति थिएन, त्यो बेला कोष लागु हुनु ठिकै थियो तर अहिले स्थानीय सरकार गठन भैसक्दा पुनः विवादीत कोष कार्यान्वयन गर्नु भनेको भ्रष्टाचारलाई प्रशय दिनु हो’, उनले भने । यो कोष पुनः व्यूताउने काम भएमा त्यो राजनीतिक दलहरुका लागि नै दुर्भागपूणर् हुने उनको टिप्पणी छ । ‘पुराना राजनीतिक दलको भूमिका विवादस्पद हुँदै गर्दा नयाँ शक्तिहरु आएका छन्, यस्तै विवादीत कोषहरु पुनः लागु हुनु भनेको पुराना दलहरु पतन भएर नयाँ शक्तिहरु बढ्नु हो’, उनले भने । सांसद विकास कोषलाई निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम भनेर पनि चिनिन्छ । यस कार्यक्रममार्फत् पाउने बजेट सांसदले आफूखुसी चलाउँदै आएका थिए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड र समानुपातिक सांसदलाई एक करोड बजेट विनियोजन गर्दै आएको थियो । २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाममा सांसदले निर्वाचन क्षेत्रमा योजना छनोट गर्न पाउने कार्यक्रम राखेका थिए । एमालेकै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सांसद उक्त कार्यक्रम बजेटबाट हटाएका थिए ।
सङ्कटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखिएका छन् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए । ‘विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ, अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन्,’ उनले भने । अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे । ‘अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्, यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ,’ उनले भने । अध्यक्ष ढकालले कोभिड-१९, रुस र युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताए । आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको उनको भनाइ छ । ‘सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ, सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ,’ उनले भने । निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने उनको धारणा छ । अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताए । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ छ ।
मुगु हिमपहिरो अपडेट : जुम्लाका ३ जनाको मृत्यु
जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिए । शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।