विकासन्युज

भैरहवाको आफ्नै भवनबाट सुरु गर्यो एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । बैंकका अनुसार उक्त भवन आईतबारदेखि रुपन्देही जिल्लाकोको सिद्धार्थनगर नगरपालिकामा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको छ । उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंकसंग आवद्ध ग्राहक  नारायण बराईलाई सम्मान समेत गरेको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले यसअन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी र विद्यालयलाई सहयोग गरेको छ । बैंकको नेपालगंज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्टी हस्तान्तरण गरेको छन् । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । त्यस्तै, बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग गरेको जनाएको छ । यस्तै, बैंकको विरगंज शाखाले विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बालविकास इसिडीदेखि १२ कक्षासम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले इसिडी सहयोग गरेको जनाएको छ । 

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन् । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उनले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका हुन् । ‘महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,’ उनले भने । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उनको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताए । पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारीविरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुशीको कुरा भएको बताए । उनले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे । नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका श्रेष्ठले द्वन्द्वकालका घटनालाई सत्य मेलमिलाप तथा वेपत्ता छानविन आयोगमार्फत टुङ्गोमा पु¥याउनुपर्ने बताए ।

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिशमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोापनियताको शपथ लिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए । राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन् ।

करोडौंँको लगानीमा बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसी पालनसम्म

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा ल्याएका थिए । नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उनले करोडौंँको लगानीमा उक्त फार्म सञ्चालन गरेका हुन् । पाडापाडीसमेत गरी एक सय भैँसी रहेको सो फार्मबाट दैनिक तीन सय ५० लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूध खैरेनीटार तथा दुलेगौडामा रहेको विक्री केन्द्रमार्फत विक्री भइरहेको छ । ‘खैरेनीटार र दुलेगौडा बजारमा एक/एक वटा बिक्री केन्द्र राखेर दूध बिक्री भइरहेको छ, दूध बिक्रीका लागि बजारको समस्या छैन’, कृषक खडकाले भने, ‘माग बढी भएकाले दूध उत्पादन वृद्धि गर्नुपर्ने भएको छ ।’ फार्ममा एक हजार पाँच सय कालिज रहेकामा एक हजार कालिज बिक्री भइसकेको छ भने हाल पाँच सय कालिज छन् । त्यस्तै पाँच सय हाँस पालिएको छ । लोकल कुखुराको प्रवद्र्धनका लागि तीन हजार पाँच सय कुखुरापालन गरिएको छ । हालसम्म लगानी ११ करोड रुपैयाँ पुगेको उनले बताए । ‘भौगोलिक अवस्थाका कारण लगानी केही बढेको छ, फार्मसम्म पुग्ने बाटो निजी खर्चमा ढलान गरेका छौँ, मान्द्रेबजारदेखि निजी खर्चमा नै थ्री फेज लाइन विस्तार गरिएको छ’, कृषक खड्काले भने । फार्ममा दस आवासीय कर्मचारी छन् । घाँस काट्नका लागि आवश्यकताअनुसार थप जनशक्ति राख्ने गरिएको छ । बाह्र वर्ष नेपाली सेनामा बिताएका खड्काले एघार वर्ष आबुधाबी प्रहरीमा काम गर्नाका साथै स्वदेश फर्किएर युनिक डिपार्टमेन्टल स्टोर्सबाट व्यावसायिक यात्रा सुरुआत गरेका थिए । ‘स्वदेशमै परिवारसँग बसेर कृषि पेसा अँगाल्न सके राम्रो आम्दानी छ, विदेश जाँदा खर्चिने रकम कृषि र पशुपालनमा लगानी गर्ने हो भने त्यहाँ कमाउने जति रकम परिवारसँगै रमाएर यहीँ कमाउन सकिन्छ’, उनले भने । ‘जबसम्म कृषि काम गर्नेलाई सम्मान गर्न सकिदैँन तबसम्म अन्य कुरा गर्न सक्दैनौँ, तीन तहको सरकारले कृषिलाई बढी प्राथमिकता दिनुपर्छ’, कृषक खड्काले भने, ‘राज्यले गरेको लगानी उत्पादनसँग जोड्न सक्नुपर्छ ।’ व्यावसायिकरुपमा कृषि गरेकालाई राज्यले सहयोग नगरेको उनको गुनासो थियो । निर्वाहमुखी कृषि गरेकालाई बढी प्राथमिकता दिने गरिएको गुनासो गर्दै उनले भने, ‘झोलामा कृषि गरेकाले अनुदान पाएका होलान्, तर व्यावसायिकरुपमा गर्नेलाई कम प्राथमिकता छ ।’ आफूहरुलाई पशुपालनसम्बन्धी ज्ञान नहुँदा केही समस्या भएको जानकारी दिँदै कृषक खड्काले भने, ‘शुक्लागण्डकी नगरपालिकालाई १५ दिनमा एक पटक चिकित्सक पठाइदिनुस् भनेर आग्रह गरिरहेका छौँ । प्राविधिक सल्लाह र सामान्य औषधि उपचारका कुराहरु गरिदिए हामीलाई सहज हुन्थ्यो ।’ फार्मले प्राङ्गारिक तरकारी उत्पादन गर्ने अवधारणा बनाएको र कृषि पर्यटनलाई जोड दिएको छ । कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर घरबास सञ्चालन गर्ने योजना बनाइएको छ । त्यसका लागि फार्म परिसरमा घुमाउने घर बनाइएको छ । लोप हुने अवस्थाका घुमाउने घरलाई संरक्षण गरिएको उनले बताए । ‘लोप हुने अवस्थामा पुगेका पुराना कृषि सामग्रीलाई सङ्ग्रहालयको रूपमा घुमाउने घरमा राख्ने तयारी छ । यसका लागि ढिकी, जाँतो, कुटो, कोदालो, हँसियालगायत सामग्री सङ्कलन भइरहेको छ’ खड्काले भने, ‘घरबासमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको प्राङ्गारिक परिकारका स्वाद चखाउँछौँ ।’ रासस

अब सांसदहरूको ई–हाजिरी हुने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गर्ने समितिले निर्णय गरेको छ । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो विद्युतीय हाजिरीलेउपस्थितरअनुपस्थित सांसदबारे जानकारी दिने निकै सजिलो हुने सभामुख देवराज घिमिरे बताउँछन् ।

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

काठमाडौं । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन । आइसफल डाक्टरले सगरमाथाको साउथ कोल चौथो शिविरसम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने गरेपछि मात्रै सगरमाथा आरोहण शुरु हुन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि राजधानी काठमाडौंसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आएपनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीब्र वेगको हावा चलिरहेको छ । उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो । ‘सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र बेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ’, उनले भने । अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौं फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन । “सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपरान्हतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ”, उनले भने । महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ । महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाई अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद लामिछानेले जानकारी दिए । मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने रोप फिक्सिङ गर्ने योजना रद्द भयो । झण्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु हुने विश्वास व्यक्त गरे । ‘सगरमाथा क्षेत्रको मौसम अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रबारको तुलनामाभन्दा आज मौसम राम्रो छ, आशा छ, वैशाख २९ सम्म चुचुरोसममको बाटो खुलाउने योजना साकार हुनेछ’, उनले भने । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपिसिसीले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन् केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन् । आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन् । ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ । विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताए । उनले भने, ‘सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किदैँछु । आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन् ।’ वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ । रासस

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन् । साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका थिए । सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन् । यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो । अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ । यस्ता साना व्यवसायीले छ करोड १७ लाख जनालाई रोजगारी दिएका छन् । कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ । अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा भण्डारी हुनुहुन्छ भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्नुहुन्छ । साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कूल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए । अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइटहाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गरे । अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो । ‘यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्वपूर्ण समय हो’, पौडेलले भने । उनले भने, ‘भेटका क्रममा राष्ट्रपति वाइडेनसँग केही संवाद पनि भयो । राष्ट्रपति वाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति वाइडेनले नेपालका बारेमा जान्दछु’, भने । राष्ट्रपति वाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको पनि उनले जानकारी दिए । त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरुलाई हौसला प्रदान गर्र्दै जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आफुलाई खुसी बनाएको बताएको भण्डारीले बताइन् । कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आएका हुन् । अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरुले यो सफलता हासिल गरेको उनीहरुको भनाइ छ । यो नेपाली मूलकालाई मात्र नभएर सम्पूर्ण आप्रवासीका लागि पनि एउटा प्रेरणादायी क्षण भएको उनीहरुको भनाइ छ । भावि पिँढीका लागि पनि मार्गनिर्देशक बन्न सकोस् भनेर आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षता विस्तार गर्ने पक्षमा आफूहरु रहेको उनीहरुले बताए । यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यकपर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ । उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ । रासस