शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ध्यानाकर्षण
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । आज एक वक्तव्य जारी गर्दैै उनले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गरेका छन् । पूर्वगृहमन्त्री खाँणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गरेका छन्।
‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’ – पूर्वमन्त्री खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन् । जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताएका हुन् । ‘राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ’, उनले भने । खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए। संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए । ‘संघ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ’, उनले भने ।
चलचित्र ‘जारी’ले २१ दिनमा गर्यो १५ करोडभन्दा बढीको व्यापार
काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ । वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् । यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ । नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने ।
कञ्चनपुरमा सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए। ‘जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे’, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, ‘खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।’ सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ । ‘ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ’, रावलले भने, ‘त्यसका लागि नेपाल प्रहरीसित पनि समन्य भइरहेको छ । रासस ।
‘घडियाल काव्य उत्सव–२०८०’
नवलपुर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । जिल्लाको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् । ‘घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेको छ’ उनले भने। पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । मानवीय कारणले प्राकृतिक सम्पदाको नास हुँदै गइरहेकाले यस्ता सम्पदा जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा कोइरालाले जोड दिए। सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । पहिलो संस्करणका विषयवस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै आयोजना गरिएको उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ । उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम हुँदैछन् । आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्दै हुनुहुन्छ । आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ । विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषयवस्तुमाथि छलफल गरिने कडरियाले बताए। कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ । उत्सवको पहिलो दिन शुक्रबार ‘सङ्कटमा घडियाल ः लोभदेखि लोपसम्म’, ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन् । छलफलमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, पूर्वमन्त्री गणेश शाह, मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सहभागी थिए । त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लुडब्लुएफका प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारी, संरक्षणकर्मी डिबि चौधरीसहितका व्यक्तिले छलफलमा सहभागिता जनाएका थिए । निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीवासीले निकुञ्जसँग सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयलाई छलफलमा चर्चा गरिएको थियो ।
नेपाल इन्जिनियरिङ कलेजको परिषदद्वारा अनुगमन
भक्तपुर । नेपाल इन्जिनियरिङ परिषद्ले नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको अनुगमन गरेको छ । अनुगमन तथा मूल्याङ्कनको लागि प्रयोग हुने चेक लिष्टसहित अनुगमनका लागि परिषद्का उपाध्यक्ष डा. विकास अधिकारी, परिषद्का सदस्य तथा विषय विज्ञ प्रा.डा. विष्णु प्रसाद पाण्डे तथा परिषद्का कर्मचारी इन्जिनियर दीपेन्द्र कुमार बडियत पुगेका थिए । परिषद्ले नेपालका सबै कलेज तथा विश्वविद्यालयहरूको नियमित अनुगमन गर्दछ । टोलीले सम्पूर्ण भौतिक तथा शैक्षिक सामग्रीहरूको निरीक्षण गरेका थिए । मुनाफारहित सामाजिक संस्थाको रूपमा सञ्चालन गर्ने उद्देश्ले २०६० साल भाद्रमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज दर्ता भएको थियो । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठको कलेज सम्बन्धी संक्षिप्त प्रस्तुतिबाट अनुगमन प्रारम्भ भएको थियो । कलेजले विगत चार वर्षमा गरेका भौतिक तथा शैक्षिक प्रगतिहरू, कलेज सञ्चालनको वर्तमान संरचना तथा कलेजको स्वामित्व विवाद बारेमा पनि परिषद् तथा कलेज पदाधिकारीहरूबिच छलफल भएको थियो । अनुगमनको क्रममा परिषद्का अधिकारीहरूले कलेजका विभागीय प्रमुख, शिक्षक, कर्मचारी र विद्यार्थीहरूसँग छुट्टाछुट्टै अन्तरकृया गरी राय संकलन गरेका थिए । २०६१ सालदेखि नै नेपाल इन्जिनियरिङ परिषद्ले नेपाल इन्जिनियरिङ कलेजलाई कलेज सञ्चालन स्वीकृति दिएको थियो । सरकारको प्रतक्ष्य लगानी नभएका इन्जिनियरिङ कलेजहरूमा नेपाल इन्जिनियरिङ कलेजले मात्र परिषद्बाट स्थायी स्वीकृति पाएको छ । परिषद्बाट स्थाई स्वीकृति पाउन १०० पूर्णाङ्कमा कम्तीमा ९० अङ्क ल्याउनु पर्ने हुन्छ । अस्थायी स्वीकृति प्राप्त गरेका कलेजहरूमा वार्षिक अनुगमन हुन्छ भने स्थायी स्वीकृति पाएका कलेजहरूमा प्रत्येक दुई वर्षमा अनुगमन हुन्छ । कोभिड–१९ को कारण नियमित अनुगमनमा ढिलाई भई परिषद्ले नेपाल इन्जिनियरिङ कलेजको अनुगमन चार वर्ष पछिमात्र गरेको हो । परिषद्ले उक्त कलेजको पछिल्लो अनुगमन २०७६ सालमा गरेको थियो । उक्त अनुगमनमा कलेजले १०० मा ९० भन्दा बढी अङ्क ल्याउन सफल भएपछि कलेजले परिषद्बाट स्थाई स्वीकृतिको निरन्तरता पाएको थियो । कलेजले विगत चार वर्षमा गरेका सुधारहरूका कारण यस पटक पनि परिषद्बाट स्थाई स्वीकृतिको निरन्तरता पाउने अपेक्षा गरेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।
शुभकान्त, परमानन्द र फकिरीको आफ्नै गाउँमा विद्यालय बनाउने सपना
जनकपुरधाम । आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देखे, आफ्नै गाउँटोलमा विद्यालय बनाउने । वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कूल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो । ‘त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि (वैद्यनाथ देवानन्द जनता मावि) वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्सातको बेला ससाना बालबालिका विद्यालय जान समस्या हुन्थ्यो’, ७० वर्षीया फकिरी यादवले त्यो क्षण सम्झे, ‘त्यही समस्याबाट मुक्ति र गुणस्तरीय शिक्षा दिनका लागि आधारभूत विद्यालय खोल्ने हामीले सपना देख्यौँ ।’ कुरा मात्रै भएन तत्कालै जग्गा पनि छुट्याइयो । त्यही प्रस्तावसहित तीनै जना र अरु स्थानीय समाजसेवी एवं राजनीतिकर्मी तत्कालीन जिल्ला शिक्षा कार्यालयमा गए तर सरकारको मापदण्डअनुसार आधारभूत तहका लागि राख्नुपर्ने धरौटी पुगेन । ‘धरौटीमा रुपैयाँ वा जग्गा राख्नुपर्ने भयो तर करिब पाँच लाख दिने दाता पनि भेटिएन र जग्गाको मूल्याङ्कन पनि त्यति पुगेन, निरीह भएर घर फर्कियौँ तर सपनालाई भने मर्न दिएनौँ’, बाँसको चोया र पुरानो जस्ताले छाएको टहरा देखाउँदै यादव भन्छन्, ‘अनुमति कसो न पाइएला भनेर इँटा र सानो टहरो बनायौँ, वैदेज माविबाट फालिएका जस्तापाता ल्याएर छायौँ, त्यही टहरोमा करिब छ महिनासम्म पठनपाठन पनि भयो तर अनुमति लिन सकिएन, त्यहीबीचमा राजनीतिक उथलपुथललगायत विभिन्न समस्या देखिएपछि बीचैमा पढाइ रोकियो ।’ संरक्षणको अभावमा विद्यालय विद्यालयजस्तो रहेन । पक्की घर ठड्याउने उद्देश्यसहित १८ वर्ष अगाडि बनाइएको इँटाको जगमा एउटा पनि इँटा थपिएन । काम चलाउन लगाइएको बाँसका चोयामा गारो पोतिएन । खण्डहरजस्तै भयो तर सपना टुटिसकेको थिएन । यो बीचमा छ/सात वर्ष पहिले शुभकान्त झा र करिब डेढ वर्ष पहिले परमानन्द झाले संसार छोडे । तीन जनामध्येका यादव जीवितै छन् । त्यसैले सपना मर्ने कुरो भएन । त्यसैमा दिवङ्गत परमानन्दका छोरा अम्रेशकान्त झा जोडिए । पेसाले चार्टर्ड एकाउन्टेन्ट र राजनीतिकर्मीसमेत रहेका तिनै अमे्रशको सहयोगले १८ वर्षअघिको सपना अहिले पूरा भएको छ । विसं २०८० वैशाख २१ गते कक्षा तीनसम्म अध्ययन अध्यापन गर्ने गरी ‘श्री सरस्वती परमानन्द आधारभूत विद्यालय’ को नाममा स्वीकृति प्राप्त भएको छ । ‘मेरो बुबाले गाउँको बीचमा एउटा विद्यालय होस् भनेर देखेको सपनालाई साकार गर्ने दायित्व मेरो पनि हो भन्ने सम्झेर यसमा जोडिएको छु, सायद आज उहाँ (बुबा) भएको भए जीवनमा सबैभन्दा बढी खुसी हुनुहुन्थ्यो होला’, झाले भने, ‘मान्छेको जीवन त आज छ भोली नरहन सक्छ तर सामाजिक कर्म त अमर रहन्छ, त्यसैले बुबाको सम्झनामा दुई कट्टा ६ धुर जग्गा विद्यालयलाई दान गरी सकेका छौ, अब विद्यालयसँग मेरो परिवार र यहाँको समाज मात्रै होइन सरकार पनि जोडिएको छ, पक्कै यो सपनाले ठूलो आकार लिनेछ ।’ झाका अनुसार विद्यालयमा शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र त्यसका लागि तत्काल गाउँपालिकाले तीन जना शिक्षकको व्यवस्था गर्ने समझदारी छ । ‘समाज विकासको मूल आधार भनेकै शिक्षा हो, बाध्यताले बाहेक कसैले पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउन नचाहिरहेको अवस्थामा हामीले गुणस्तरीय शिक्षा दिने सुनिश्चिततासहित विद्यालय सञ्चालन गर्ने योजना बनाएका छौँ’, झाले सुनाए । वडा नं ४ का अध्यक्ष उदयचन्द्र झाले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रदेश तथा सङ्घीय सरकारबाट पनि सहयोग लिन सहजीकरण गरिने बताए। गाउँपालिकाका अध्यक्ष अजयकुमार यादवले पनि तीन टोलमा रहेका करिब पाँच सयभन्दा बढी परिवारका बालबालिका लाभान्वित हुनेगरी विद्यालयको भौतिक तथा अन्य सहयोग गर्न आफ्नो पूर्ण सहयोग रहने बताए। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमबाट पनि ३० लाख विनियोजन गरी विद्यालयको व्यवस्थापनका लागि खर्च गर्ने तयारी भएको उनले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) मुखियापट्टी मुसहरनिया गाउँ कार्यसमितिका अध्यक्ष अशोककुमार झाले राजनीतिकरुपमा विद्यालयलाई गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि स्थानीय राजनीतिक दल एकमत रहेको बताए। सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने गरी अगाडि बढेको योजनामा सबैको सहयोग र सहकार्य जरुरी रहेको पनि उनले बताए । छिमेकमै विद्यालय खोल्ने सुनेपछि अहिले यहाँका बालबालिका पनि निकै खुसी छन् । घरबाट करिब दुई किलोमिटर टाढाको नीजि विद्यालयमा कक्षा ४ मा अध्ययनरत विमलेशकुमार यादवले नजिकै विद्यालय खुल्ने भएपछि आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया दिए। ‘भर्खरै सुरु भएकाले मैले त यहाँ पढ्न पाउँछुकी पाउँदैन थाहा छैन तर मेरा भाइबहिनी र अरु बालबालिकाका लागि यो खुसीको कुरा हो’, बिमलेशले भने । आफ्नो सानी बहिनीलाई बोकेर नजिकैको विद्यालयमा आउन पाउने आशाले स्थानीय निजी विद्यालयमा कक्षा १ मा अध्ययनरत चञ्चलकुमारी यादवको त खुसीको सीमा नै छैन । चञ्चल भन्छिन्, ‘अब त म मात्रै होइन मेरो बहिनी पनि स्कूल आउन पाउने भइन् । घरबाट टाढा हिँडेर जान पनि नपर्ने भयो ।’ शुक्रबार विद्यालय औपचारिकरुपमा सुरु हुने सन्देश दिन आयोजित कार्यक्रममा उपस्थित बालबालिकाको खुसी नजिकैबाट नियाल्नुभएका संरक्षक तथा संस्थापक अम्रेशकान्तले खुसीका आँसु छचल्किन नदिँदै भने, ‘हेर्नुस् पढाई सुरु नहुँदै कति खुसी छन् केटाकेटीहरु, यहाँका करिब सात सय परिवारबाट एउटा÷एउटा बच्चा आउने हो भने पनि निकै चाप बढ्नेवाला छ । सुरुमा केही समस्या भए पनि गुणस्तरीय पठनपाठनबाटै हामी अभिभावकको मन जित्ने छौँ ।’ सानो ठाउँमा त्यति धेरै बालबालिका कसरी व्यवस्थापन गर्ने ? हाम्रो प्रश्नको जवाफमा झाले भने, ‘विद्यालय वरपर मेरो परिवारकै करिब साढे दुई बिघा जग्गा छ । विद्यार्थीको चाप धान्ने गरी जग्गाको व्यवस्थापन गर्न मेरो पहल हुन्छ, यहाँ कुनै समस्या आउन नदिने गरी हामी अगाडि बढ्छौं, तर गुणस्तरीय शिक्षण सिकाइ र त्यसका लागि उपयुक्त वातावरण निर्माणमा सबैको सहयोग अपरिहार्य छ ।’ जाँदाजाँदै विद्यालय स्थापनाको सपना देख्नेमध्येका एक फकिरी यादवले छुटेको कुरा सुनिदिन आग्रह गर्दै भने, ‘आज समाजसेवी परमानन्द र शुभकान्त भइदिएको भए मसँगै धेरै खुसी हुनुहुन्थो होला, अब उहाँको योगदान अमर रहने छ, अब जीवनकालमै यसको मुहार फेरिएको देख्ने रहर छ, हेरौँ के के हुन्छ ।’ रासस ।
दुर्गमको गोठमा नन्दप्रसादको रमाइलो जीवन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन् । ‘यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो’, ७६ वर्षीय पुनले भने, ‘बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन’, बाबुबाजेले गर्दै आएको भैंसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताएका थिए । पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गरेका थिए। तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाएका छन् । ‘राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु’, पुनले भने, ‘विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।’ वर्षमा चार/पाँच वटा राँगा भैँसी र मासिकरुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन् । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री गर्छन् । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिएका छन् । अविवाहित एक छोरीले घर धानेर बसेकी छन् । बिवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ । ‘दिदीहरुको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो’, रेमुले भने, ‘बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो, बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु, दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।’ नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उनले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाएका छन् । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ । तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् । एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिएा छन् । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्छन् । गोठमा बाधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् । भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्नुहुन्छ । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ । चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउनुहँुदैन । गीत सङ्गीत सुन्दै काम गर्ने उहाँ अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउँछन् । रासस ।