
काठमाडौं । टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।
उच्च अदालत पाटनबाट टुकुचाका विषयमा भएको फैसलाको पूर्ण पाठलाई उदृत गर्दै शाहले खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका हुन् ।
‘केही दिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ, टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ, नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ,’ उनले भने ।
उनका असुसार अदालतको फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौं महानगरपालिका लगायत संघीय सरकारका सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।
‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ, अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने ।