
काठमाडौं । चिकित्सकहरुले एउटा चमात्कारिक काम गर्न सफल भएका छन् । यो चिकित्सा इतिहासमा एउटा दुर्लव सकारात्मक घट्ना पनि बनेको छ । अहिले सात हप्ताकी भएकी डेनवर कोलमैनलाई अहिले थाहा छैन की उनी कति ठूलो चमात्कारका साथ यो दुनियाँमा आएकी हुन् ।
जब यी बच्ची आफ्नी आमाको गर्भमा थिइन उही समयमा यीनको दिमागको अप्रेसन गरिएको थियो । बोस्टनको नजिकै रहने परिवारले चिकित्सा इतिहासको यो अनुभवमा आफूलाई सहभागी गराएर इतिहास रच्ने काम गरेको छ ।
बोस्टन चिल्ड्रेन हस्पिटलका विशेषज्ञ डा. डैरेन ओर्बाकले यी बच्चीको मस्तिस्कको एक नलीमा रगत जम्ने समस्या देखिएको बताएका छन् । चिकित्सा विज्ञानमा यसलाई भेन अफ गेलेन मालफर्मेसन भनिन्छ । यस्तो अवस्थामा मस्तिस्कबाट मुटुसम्म सही ढंगले रगत पुर्याउने नसाको विकास हुन सक्दैन । यस्तो समस्याले मुटुमा दबाब सिर्जना हुन्छ ।
डा ओर्बाकका अनुसार डेनभरको मस्तिस्कमा १४ एमएमको फराकिलो क्षेत्रमा रगत जम्मा हुन लागेको थियो जसले प्रायः बच्चाहरुलाई हृदयघात वा मस्तिस्कघातसम्मको अवस्थामा पुर्याउने काम गर्छ । त्यस्ता बच्चा लामो समयसम्म बाँच्न पनि सक्दैनन् । डा. ओर्बाकका अनुसार केन्याटा कोलम्यानको ३०औं गर्भावस्थामा नियमित भिडियो एक्सरेको प्रकृयामा सो समस्या पत्ता लागेको थियो ।
चिकित्सकहरुले कोल्म्यानको गर्भावस्थाको ३४ औं हप्तामा एउटा क्लिनिकल प्रयास स्वरुप सर्जरीको योजना बनाए । आमालाई होसमा नै राख्नेगरी स्पाइनल एनेस्थेटिक दिइयो र उनलाई हेडफोनमा संगित सुन्न लगाइयो ।
पेटमा भएको बच्चा चलिरहने हुँदा सुई प्रवेश गराएर लगाउने विषय निकै चुनौतिपूर्ण थियो । डा. ओबार्कका अनुसार गर्भको बच्चा नचलोस र उसलाई नदुखोस भन्नका लागि इन्जेक्सन लगाइयो । अप्रेसन प्रकृयामा १० जना चिकित्सकको समूह सहभागी भएका थिए । भिडियो एक्सरेको सहायताले लामो सुईको प्रयोग गरियो ।
बच्चा पूर्ण रुपमा विकसित भइसकेको थिएन, जसले गर्दा रगतको प्रवाह निकै धेरै भइरहेको थियो । चिकित्सक समूहका अनुसार सुईको सहायताले रगत जमेको चारैतर्फ क्याथेटर पुर्याउने काम गरियो । जसले गर्दा रगतले भरिएको ठाउँ वरिपरी प्लेटिनम कोइलहरु राख्न सकियोस भन्ने उद्देश्य राखिएको थियो ।
यो प्रकृयामा चिकित्सकको केही सदस्यले बच्चामा भइरहेको रक्तप्रवाहलाई निगरानी गरिरहेका थिए । क्वाइललाई रगत निस्किएको नसामा पुर्याएर छिद्रलाई ब्लक गर्ने काम भयो । २० मिनेटको समयमा अप्रेसनको काम सम्पन्न भयो तर पुरै प्रकृया सम्पन्न गर्नको लागि दुई घण्टा समय लाग्यो । यो अप्रेसन सफल भएको दुई दिनपछाडि डेनेवर जन्मिइन् ।
डेनेवर १.९ किलोग्राम तौल सहित कुनै समस्या बिना जन्मेकी थिइन् । अहिले आमा र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो भएको डा. ओबार्कले बताएका छन् । एजेन्सीको सहयोगमा/तस्बिर सिएनएन