काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकको अनुसार शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिकार्ड र बैंकस्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।
साथै, ग्राहकहरुलाई यस खातामा सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको बैंकले जनाएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस् वा अनलाईनबाट न्युनतम एक हजारको कारोबार गर्दा ५५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् ।
बैंकको अनुसार यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ । सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।