मौद्रिक नीतिको आफ्नै सीमा छ, सरकारले धेरै अपेक्षा नगरे हुन्छ : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार मन्त्री तथा प्रधानमन्त्रीहरुले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्र सहज गर्नु पर्ने बताउँदै आएका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकार मन्त्री तथा प्रधानमन्त्रीहरुले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्र सहज गर्नु पर्ने बताउँदै आएका बेलामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समय राष्ट्र बैंकप्रतिको अपेक्षा प्रत्येक दिन दिनै बढिरहेको बताउँदै उनले भने, ‘राष्ट्र बैंकले आवश्यक भारी मात्रै बोक्न सक्छ, एउटा तलाउमा कमिलाको पातको सहाराले किनारसम्म पुगेको उदाहरण दिँदैन त्यस्तै, राष्ट्र बैंकले पनि धेरै भारी बोक्न सक्दैन, त्यसकारण मौद्रिक नीतिको क्षेत्रभित्र बसेर राष्ट्र बैंकले काम गर्छ ।’

गभर्नर अधिकारीले पछिल्लो समय तरलता सहज भएकाले बैंकहरुले लिने सुविधा पनि शुन्यमा झरेको बताएका छन् । उनका अनुसार बैंकहरुले राष्ट्र बैंकबाट लिने कर्जा (एसएलएफ) र ओभर नाइट सुविधा शून्य रहेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले लिने एसएलएफ र ओभर नाइट सुविधा शुन्य छ, एसएलएफ डेढ महिनादेखि लिएको छैन भने ओभरनाइट सुविधा पनि शुन्यमा झरिसकेको छ, गत भदौमा वित्तीय संस्थाहरुले २९९ अर्ब रुपैयाँ लिएका थिए तर, आजको दिनमा लिएका छैनन्, अहिले तरलता अभाव धेरै सहज भइसकेको छ,’ उनले भने ।

साथै, निक्षेपकर्ताको रकम सुरक्षा गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने उनले बताए । राष्ट्र बैंकले निक्षेपकर्ता र कर्जा लिने ग्राहक दुवैलाई जोगउने गरी काम गर्ने उनको भनाइ छ ।

‘बैंकहरु चुनौति सामाना गर्नका लागि जन्मिएको हो, त्यहि जोखिम सामाना गरेर नै आम्दानी गर्ने हो, नेपाली बैंकिङ्ग क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा जस्तो समस्या छैन, निक्षेपको सुरक्षा गर्ने जिम्मा सिस्टमको हो, यदि कुनै संस्थाले निक्षेप जोगाउन सकेन भने राष्ट्र बैंकले हस्तक्षेप गर्छ,’ उनले भने

यस्तै, उनले आफ्ना अफ्ठ्याराहरुलाई देखाएर सिस्टमलाई गलत देखाउन नहुने बताएका छन् । सबैले आफ्नो जोखिम आफै कभर गर्न सक्नुपर्ने बताउँदै उनले भने, ‘कसैको व्यवसायीक स्वार्थका लागि राष्ट्र बैंकले काम गर्दैन ।’

Share News