सुरु भयो संसद्कोे बर्खे अधिवेशन
काठमाडौं । सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि(बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ ।
ठूला भ्रष्टाचारका फाइल खोले राप्रपाले सरकारलाई समर्थन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । आईतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् । उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए । उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सोमबारबाट काठमाडौं महानगरको अव्यवस्थित तार हटाइने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अव्यवस्थित तार हटाउन राजी भएका छन् । आइतबार भएको छलफलपछि सोमबारबाट काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइने भएको छ । महानगरका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।
नयाँ वर्षमा बेनेलीको मोटरसाइकल किन्दा ६० हजार छुट
काठमाडौं । बेनेली मोटरसाइकले ‘ग्र्याब द डिल’ नयाँ सफर धमाकेदार अफर ल्याएको छ । नेपालको लागि बेनेलीको आधिकारीक विक्रेता केटिएम इन्टरनेशनले नयाँ वर्षको अवसरमा यो अफर ल्याएको हो । सो अफरमा ग्राहकले ६० हजारसम्म छुट पाउन सक्नेछन् । ग्राहकले नगद छुट पाउनुका साथै, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर तथा अन्य आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ ।
‘आइएमई पे’ले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने बताएको छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले बताएको छ । कम्पनीको अनुसार सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सकिने छ । ।
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
काठमाडौं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन् । आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रन आवश्यक रहेको बताए । ‘अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन, अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन’, सांसद चौधरीले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा एउटा गम्भीररुपमा बैठकसम्म बोलाएका छैनन् । अर्थतन्त्रमा अरु धेरैकुरा बिग्रनु अघि हामी सच्चिन जरुरी छ, राजनीति सच्चिन जरुरी छ ।’ नेपालको अर्थतन्त्रमा समस्याको सूचीमै रहेको र यसलाई तथ्याङ्कले प्रमाणित गर्दै लगेको भए पनि सकारात्मक आशा गर्ने ठाउँ भने बाँकी रहेको चौधरीको भनाइ छ । ‘हामीले नेपाली अर्थतन्त्रको कालो बादलमा चाँदीका घेरा खोज्नुपरेको छ, निर्यातमुखी जलविद्युत् परियोजना निर्माण, रेमिट्यान्स उत्पादनमुखी क्षेत्रमा लगानी, पोखरा र भैरहवा विमानस्थलको प्रयोग, पाइपलाइनमा रहेका ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राखिनुपर्छ ।’ विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको उनको भनाइ छ । सङ्घीय सरकारले मात्र नभइ प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु गम्भीर चिन्ताको विषय रहेको उनले बताए । ‘हामीले विकास निर्माणको प्रक्रियालाई ट्र्याकमा ल्याउन सकिरहेका छैनौँ । विकास निर्माणका गतिविधि समयमै सकेको भए कमजोर राजस्व सङ्कलन र आर्थिक वृद्धिदरको अवस्था सामना गर्नुपर्ने थिएन’, उनले भने, ‘प्रदेशको पुँजीगत खर्च हालसम्म करिब ३० प्रतिशत बराबर मात्रै छ । राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासमा केही योगदान गर्न नसक्ने तर नागरिकको टाउकोमा राजस्वको भार मात्रै थप्ने हो भने पक्कै पनि प्रदेश सरकारमाथि प्रश्न उठ्नेछ ।’ अहिले सामाजिक सुरक्षा र पेन्सन खर्चजस्ता अनिवार्य दायित्वका शीर्षकमा रकम व्यवस्थापन गर्न सरकारलाई गाह्रो परेको उल्लेख गर्दै सस्तो राजनीतिक लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताको विषय ल्याउन नहुने उनले बताए । औसत आयु सुधार हुँदै गएका बेला वृद्धभत्ता पाउने उमेर घटाउनु पनि उचित नरहेको सांसद चौधरीले भने । लगातार दुई त्रैमाससम्म आर्थिक वृद्धिदर ऋणात्मक हुनुलाई आर्थिक मन्दिको अवस्था मानिने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गर्दै उनले नेपालमा पछिल्लो तीन वटा त्रैमासमा लगातार आर्थिक वृद्धिदर नकारात्मक देखिएको बताए । यसले नेपालको अर्थतन्त्री साँच्चिकै गम्भीर समस्यामा छ भन्ने पुष्टि भएको पनि उनको भनाइ छ । नेपालले जलविद्युत् आयोजनाको विकासमार्फत् लाभ लिनसक्ने प्रचुर सम्भावना रहेकाले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्नुपर्नेमा उनले जोड दिए । ‘हाल भारतले १२ हजार पाँच सय मेगावाट बराबर बिजुली आयात गर्न चाहेको पृष्ठभूमिमा हामीले त्यो अवसर गुमाउन हुँदैन । हाल देशभित्र पाइपलाइनमा रहेका करिब ११ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाइनुपर्छ ।’ दुई ठूला छिमेकीमुलुक भारत र चीन अहिले विश्वका उदियमान अर्थतन्त्रमा रुपमा देखापरेकाले नेपालले पनि त्यसको लाभ लिनसक्ने ठाउँको खोजी गर्नुपर्ने चौधरीले बताए । रासस
१९ अंकले घट्याे सेयर बजार, ६० कराेडकाे काराेबार
काठमाडौं । आइतबार सेयर बजार १९.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको छ । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएा छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता ४१.२० रुपैयाँ कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ का सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७३.७० रुपैयाँ गुमाएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि सपथ भने बाँकी थियो । बुढाथोकीले आइतबारै सपथ पनि पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन् । आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् । को हुन् बुढाथोकी ? बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले वेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र वेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् । नेपालबाहेक बुढाथोकीसँग इरान, वेलायत, बंगलादेश जस्ता मुलुकहरुमा काम गरेको अनुभव समेत छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनको अनुभव साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव समेत छ ।