अर्थतन्त्र सही दिशामा रहेको राष्ट्र बैंकको सन्देश, ११ महिना आयात धान्ने विदेशी मुद्राको सञ्चिति
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि सुधार देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढको छ । अर्थतन्त्रका विभिन्न सूचकहरु सुधार हुँदा अर्थतन्त्र पनि सही दिशामा रहेको राष्ट्र बैंकको सन्देश छ । शोधनान्तर स्थिति झण्डै २ खर्ब बचतमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा चालू खाता १ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २८ लाख रुपैयाँले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । १४.३३ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति ९ महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति १४ खर्बभन्दा बढी रहेको छ । चैत मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशत वृद्धि भई १४३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको थियो । गत असार मसान्तसम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा चैत मसान्तमा १४.८ प्रतिशत वृद्धि भई १० अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग गत असारसम्म १०५६ अर्ब ३९ करोड रुपैयाँ थियो भने चैतमा २०.६ प्रतिशत वृद्धि भई १२७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग गत असारसम्म १५९ अर्ब ४१ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा चैतमा ०.२ प्रतिशतले वृद्धि भई १५९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । चैतमा कू विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन् । गत असारमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । रेमिट्यान्समा वृद्धि समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो । आयात निर्यात घट्दो नौ महिनामा कूल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई ११८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । मूल्य वृद्धि बढ्दो समीक्षा अवधिमा मूल्य वृद्धि ७.७६ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा मूल्य वृद्धि ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।
एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्बन
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धान र छानबिनलाई सहयोग गर्न रायमाझीलाई निलम्बन गरिएको एमालेले जनाएको छ । महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ती जारी गर्दै मंगलबार बसेको एमालेको सचिवालय बैठकले रायमाझीलाई निलम्बन गरिएको जनाएको छ । ‘राज्यका वैधानिक संस्थाहरुले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाई प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ, सोही मान्यता अनुरुप पक्राउ पुँजी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रुपमा आफ्नो ययार्थ स्पष्ट पार्न भनिएको थियो’, विज्ञप्तीमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो, तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवायलको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा अपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’ बुधबार एमाले सांसद पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणको आरोपमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका सचिव रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएका छन् ।
बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिने
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिने बताएका छन् । बुधबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र संकुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतिलाई गम्भिर भएर सरकारले सोच्नुपर्ने बताउँदै उनले भने, ‘मुलुकलाई आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित बनाउन बजेट प्रभावकारी भएको छ, अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन सक्दैन ।’ आर्थिक गतिविधि बढाउनको लागि बजेट बढाउँदा स्रोतको चुनौतिलाई ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् । निश्चित क्षेत्रभित्र रहेर विस्तारकारी बनाए अन्य क्षेत्रमा खर्च कटौति र नियन्त्रण गर्नुपर्ने र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गर्न आवश्यक रहेको उनले बताए । ‘बजेट बनाउनु पूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालु खर्च कटौति गर्ने योजना र योजनाहरुको पुनःप्राथमिकरण गर्ने,सेवासुविधा र प्रयोगको पुनः परिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
पुरानै लयमा फर्कंदै पर्यटन, चार महिनामा ३ लाख बढी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को समीक्षा अवधिमा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् । कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन, होटल पूर्वाधार र गन्तव्यहरुको भीडभाडले मुलुकको पर्यटन पुरानै लयमा फर्केको सङ्केत गर्छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटन लगभग पुरानै लयमा फर्किएको बताउँछन् । ‘विदेशी पर्यटक आगमन, पर्वतारोहणमा देखिएको उत्साह र पर्यटकीय गन्तव्यको चहलपहलले मुलुकको पर्यटन लयमा फर्केको सङ्केत गर्छ, आक्रामक बजारीकरणलाई तीव्रता दिएर ‘वान स्टप डेस्टिनेसन’ लाई प्राथमिकता दिएको खण्डमा छिट्टै पर्यटन पुनरुत्थान हुने देखिन्छ’, उनले भने । निर्देशक लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । ‘चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ’, उनले भने । पर्यटन क्षेत्रलाई थप गतिशील र चलायमान बनाउन प्रभावकारी बजारीकरण गन्तव्यको ‘रिब्रान्डिङ र रिपोजिसिनिङ’ गर्नुपर्ने आवश्यकता रहेको निर्देशक लामिछानेले उल्लेख गरे । विश्व पर्यटनको प्रक्षेपण के छ ? विश्व पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । सङ्गठनको सन् २०२३ को जनवरी १७ को प्रक्षेपणअनुसार सन् २०२३ मा ८० देखि ९५ प्रतिशतसम्म नेपालको पर्यटन पुनरुत्थान हुने जनाइएको छ । यस अवधिमा युरोप र मध्यपूर्वी मुलुकको पर्यटन पुनरुत्थान अर्थात् महामारीपूर्व सन् २०१९ कै दाँजोमा आउने भनिएको छ । विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ । पछिल्लो सयम व्यक्तिहरुको प्रवृत्ति पनि नजिकका गन्तव्यहरु जाने बढेको र चीन गन्तव्य पनि खुलिसकेकाले नेपालको पर्यटन पुनरुत्थान हुने सङ्गठनले उल्लेख गरेको छ । विदेशी पर्यटक आगमन मात्रै हैन पर्वतारोहणमा पनि उत्साहवद्र्धक रुपमा विदेशी आएका छन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । सगरमाथामा इतिहासकै बढी आरोही पर्यटन विभागको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वसन्त ऋतुको यो याममा ४४ आरोही समूहका ९८ महिला र तीन सय ६९ पुरुष गरी कूल चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका छन् । यो वैशाख २६ गतेसम्मको तथ्याङ्क हो । अझै अरोही सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ६५ करोड ५९ लाख राजस्व सङ्कलन भएको छ । आरोहण अनुमति लिएको अधिकांश आरोही सगरमाथा आधार शिविर र त्यसभन्दा माथितिर आरोहणका लागि अनुकूल मौसमको प्रतीक्षामा छन् । आइसफल डाक्टरले सगरमाथाको चौथो शिविर अर्थात् साउथ कोलसम्म बाटो खुलाइसकेका छन् । प्रतिकूल मौसमका कारण सात हजार पाँच सय मिटरमाथि तीव्र वेगले हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । हवाई उडान लयमा मुलुकको हवाई उडान पनि पुरानै लयमा फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फ दुईतर्फी करिब तीन सय उडान भइरहेको छ भने आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनी र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २७ वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित ५४ विमानस्थल छन् । यीमध्ये १८ विमानस्थल सञ्चालनमा छैनन् । दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो बिजनेस पाएका छैनन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ऋणभार बढिरहेको छ । करिब ४८ अर्ब रुपैयाँ ऋणमा रहेको निगमले जहाज थपेर गन्तव्य विस्तार गर्न सकेको छैन । आर्थिक सङ्कटकै बीच निगमले आन्तरिक उडानमा थप तीन नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान ‘वाइड बडी’ र दुई थान ‘न्यारो बडी’ जहाज छन् । आन्तरिकमा हालमात्र दुई ट्विनअटर जहाज छन् । आक्रामक बजारीकरणलाई ध्यान दिएको पर्यटन बोर्डले भारत र बङ्गलादेशको साथसाथै चीन गन्तव्यलाई पनि लक्षित गरेर व्यापक बजारीकरण गरिने जनाएको छ । युरोप र अमेरिकाको पर्यटन लयमा फर्किसकेको छ । एसियाली मुलुकको पर्यटन पुनरुत्थानको दिशामा छ । चिनियाँ पर्यटक बढे पछिल्लो समय चीनबाट हूलका हूल पर्यटक नेपाल आइरहेका छन् । कोरोना महामारीपछि चीनबाट जहाज चार्टड उडानमार्फत एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका थिए । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए । कारोनापूर्व चीनबाट एक लाख ७० हजार हाराहारी पर्यटक भित्रिएका थिए । पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहवद्र्धकरूपमा बढेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । उनका अनुसार फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ सय पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् । चीनबाट नेपालको उडान पनि थपिएको छ । भारत र बङ्गलादेश लक्षित बजारीकरणले ती देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आएको निर्देशक लामिछानेले बताए । उनले चीनको नाका खुलेको र उडान पनि सञ्चालन भइसकेकाले अब चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो याममा सगरमाथा आरोहणमा देखिएको उत्साह र सगरमाथाको ७०औँ वर्षगाँठको दौरानमा हुने गतिविधिले नेपालको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले बिस्तारै लयमा फर्किएको पर्यटनलाई थप गतिशील बनाउन प्रभावकारी प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । पाँचतारे र चेन होटल वृद्धि नेपालमा झन्डै ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेको छ । पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी १० हजार हाराहारी होटल छन् । होटल सङ्घ नेपाल हानका अनुसार एक डिलक्ससहित १८ वटा पाँचतारे होटल छन् भने अबको डेढ वर्षभित्र १८ देखि २० वटा पाँचतारे होटल थपिँदैछन् । दुई दर्जनबढी चेन होटल पनि सञ्चालनको तयारीमा छन् । हानका अध्यक्ष विनायक शाहका अनुसार कोरोना महामारीले प्रभावित बनेको नेपालको पर्यटन बिस्तारै लयमा फर्किरहेको छ । नेपाल मात्र नभई विश्वव्यापीरुपमै पर्यटन पुनरुत्थानको बाटोमा छ । कोरोना महामारीको असर न्यून भएको आजको अवस्थामा पनि विश्वको पर्यटन पूर्णरूपमा पुनरुत्थान भइसकेको छैन । आजका दिनमा सबै देशलाई पर्यटक चाहिएको छ । किनभने पर्यटन यस्तो एउटा क्षेत्र हो जसका कारण अन्य कैयन क्षेत्रको विकास सम्भव छ । पर्यटक होटलको सुङ्ख्याको तुलनामा पर्यटकको सङ्ख्या भने पर्याप्त छैन । आजका दिनमा होटल ३० प्रतिशत ‘अकुपेन्सी’मा सञ्चालन भइरहेका छन् । सञ्चालन खर्च धान्नका लागि मात्रै पनि कम्तीमा ३८ प्रतिशत अकुपेन्सी आवश्यक पर्छ । आजका दिनमा हामीसँग कोरोना महामारीभन्दा अघिको जत्तिको पनि पर्यटक आएको अवस्था छैन । ‘अब हामीले पर्यटक बढाउनका लागि प्याकेज ल्याउन सक्नुपर्छ । तीन वर्षसम्म पर्यटक नआएपछि होटलका कोठाहरू खाली भए भने आम्दानी नभएपछि बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज तिर्न पनि नसक्ने अवस्था भयो । गत आर्थिक वर्षसम्म त सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनको प्रयास गरेको थियो तर चालु आवदेखि त्यो पनि छैन । त्यसैले अहिलेको समस्या समाधानका लागि हामीले सरकारसमक्ष आफ्ना समस्या राखेका छौँ’, उनले भने । लगानीको प्रतिफल कहिले ? होटलमा सरकारको वार्षिक बजेट जत्तिकै अर्थात् १७ देखि १८ खर्ब रुपैयाँ लगानी भएको छ । सन् २०२२ मा करिब छ लाख पर्यटक आएका छन् । तर होटलको क्षमता भने ३५ लाख पर्यटक धान्ने छ । यस्तो अवस्थामा आन्तरिक पर्यटक केही बढे पनि होटलले आम्दानी लिन सकेका छैनन् । यस्तो अवस्थामा होटलमा भइरहेको लगानी जोगाउनका लागि तत्कालै पोखरा र भैरहवाका विमानस्थल राम्रोसँग सञ्चालन गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ । उनले भने, “विमानस्थल बनाउने तर सञ्चालन नै गर्न सकिएन भने अर्थ हुँदैन । हामीले राष्ट्रिय ध्वजावाहक विमान पनि चलाउन सकेका छैनौँ । विमानस्थल नै नचल्ने हो भने हामीले ३५ लाख पर्यटक ल्याउन पनि त सक्दैनौँ । यसमा सरकारी संयन्त्रबाटै पर्याप्त मार्केटिङ नभएको हो कि भन्ने पनि लाग्छ । यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ ।” गन्तव्य भरिभराउ आन्तरिक पर्यटकले प्रमुख पर्यटकीय क्षेत्र राजधानीको ठमेल, उपत्यकाबाहिर पोखरा, चितवन, लुम्बिनीलगायत अन्य गन्तव्य पनि स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छन् । पर्वतारोहण, पदयात्रा र घुमफिरका लागि अहिले उल्लेख्य सङ्ख्यामा पर्यटक निस्किएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवि शर्माले समग्रमा मुलुकको पर्यटन लयमा फर्किरहेको र पर्यटन व्यवसायीमा पनि उत्साह जगाएको बताए । ‘पर्यटन विस्तारै लयमा फर्किंदैँ गरेको छ, व्यवसायी पनि सकारात्मक ऊर्जाका साथ काम गरिरहनुभएको छ । ठमेल क्षेत्रमा हेर्ने हो भने आजको दिनमा करिब ८० प्रतिशत अकुपेन्सी छ, चिनियाँ पर्यटक पनि बढिरहेका छन्’, उनले भने । प्रवर्द्धन प्रभावकारी बनाइनुपर्ने पर्यटनलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर जानुपर्नेमा उनको जोड छ । उनले भने, ‘पर्यटन प्रवर्द्धनको जिम्मा लिएको प्रमुख निकाय पर्यटन बोर्डले राम्रो भूमिका खेल्नुपर्ने थियो तर त्यहाँ नेतृत्व र सञ्चालक समितिका सदस्यहरुले प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने हामी व्यवसायीलाई लागेको छ ।’ ट्रेकिङ एजेन्सिज एसासिएसन अफ नेपाल टान र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल नाट्टाले पनि लयमा फर्किंदै गरेको पर्यटनलाई प्रभावकारी बजारीकरण र आकर्षक प्याकेजका साथ अन्तर्राष्ट्रिय गन्तव्यमा जानुपर्ने खाँचो औँल्याएको छ । टानका अध्यक्ष नीलहरि बास्तोलाले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे । नाट्टाका अध्यक्ष रमेश थापाले पनि पर्यटनलाई चाँडो पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । रासस
खानेपानीको श्रोतमै पाइँदैन पानी !
काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन् । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं। १ बाट २७।५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं। १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा यो मौसममा काकाकुल बन्न थालेका हुन् ।सुन्दरीजलबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा भने यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ । यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। २ आलापोटका स्थानीयवासी श्याम धिमाल खानेपानी खोज्दैमा दिन जाने गरेको गुनासो गर्छन् । स्थानीयवासी पानी खोज्न जाने धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो समस्या भोग्ने धिमालमात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई यहाँका नगरपालिकाले प्राथमिकतामा राखेपनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन । संविधानमा पनि खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । तर कार्यान्वयन भने हुन नसकेको पीडितको गुनासो छ । राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको पाँच महिना पूरा भएपनि वाग्मतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनु परेको गोकर्णेश्वर नगरपालिका वडा नं। १ पाथीभराका मङ्गलबहादुर तामाङको गुनासो छ । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाएपनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको उनले सुनाए । विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानीले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकाए । जनप्रतिनिधि र पीडित स्थानीयवासीमा गएर कुरा राख्दा १५ दिनमा वाग्मतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भएपनि पानी नआएको जानकारी पनि उनले दिए । धेरै नगरवासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन् । पानी नपाएर स्थानीयवासी धर्नामा बसेपनि धारामा भने पानी आउँदैन । जनताकै घर आँगनमै पुगेको स्थानीय सरकारको ध्यान आधारभूत विषयमा भन्दा पनि अन्यत्र जाँदा जनजीविकाको यो महत्वपूर्ण समस्या समाधान नभएको हो । नगर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न नसकेको गोकर्णेश्वर नगरपालिकाले देशव्यापी गजल महोत्सव गरेर समय र स्रोत सकाएको गुनासो पनि स्थानीयवासीले गरेका छन् । संविधानले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर विगत तीन वर्षदेखि देशव्यापी रुपमा साहित्यिक प्रतियोगिता गर्दै आएको नगरपालिका खानेपानी समस्या समाधान गर्न भने नलागेको स्थानीय पासाङ तामाङले बताए । काठमाडौं उपत्यका खानेपानी केयुकेएलका प्रवक्ता प्रकाश राई मुहान क्षेत्रमा पानीको अभाव रहेको बताउँछन् । वाग्मतीबाट वितरणका लागि ल्याइएको पाइप पुरानो भएकाले चुहावट हुने गरेको र मेलम्चीको पानी सुन्दरीजलबाट ठूलो पाइपमा ल्याएर महाँकालचौरबाट मात्र वितरण हुने गरेकाले त्यस क्षेत्रमा पानीका अभाव भएको उनले जानकारी दिए । त्यस क्षेत्रमा खानेपानी समस्या समाधानका लागि योजना बनिरहेकाले केही समयमा समस्या समाधान हुने केयुकेएलले जनाएको छ । रासस
गगनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई दिए बधाई
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । ‘बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्,’ उनले भने ।
भोजपुरमा सडक विस्तार तीव्र
भोजपुर । पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडाहुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो । पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको हो । यसवर्ष प्रदेश सरकारको एक करोड रुपैयाँ, केन्द्र सरकारको एक करोड २० लाख रुपैयाँ र गाउँपालिकाको एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यो सडक खण्ड अन्तर्गत ११ किलोमिटरमा गे्रडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउनेलगायतको काम सकिएको प्रशासकीय अधिकृत भट्टराईले बताए । ‘यो हाम्रो गाउँपालिकाको मुख्य सडक हो’, उनले भने, ‘एघार किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको यो सडकलाई आगामी दिनमा कालोपत्र गर्ने लक्ष्य छ ।’ सडक विस्तारपछि वडा नं ५ सानोदुम्माका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वडा अध्यक्ष बोमप्रसाद राईले बताए । सडक विस्तारपछि स्थानीयले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा १३ किलोमिटर ग्राभेल, कजवे निर्माण, ग्याबियन, मेसिनरी पर्खाललगायतको गरिएको थियो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेकाले कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यो सडक गाउँपालिकाबासीसँगै भोजपुरका नागरिकका लागि सबैभन्दा छोटो मार्ग हुने भएकाले विस्तारलाई प्राथमिकताका दिइएको बताए । आगामी पाँच वर्षमा सडक कालोपत्र गर्ने लक्ष्य रहेका गाउँपालिकाको भनाइ छ । साथै भोजपुर र धनकुटा जोड्ने अधेँरीघाटमा पक्की पुल निर्माणका लागिसमेत पहल गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । यहाँ पुल बनेपछि पूर्वबाट धरान, धनकुटासँगै तराईका जिल्लासँगको दूरी २३ किलोमिटर छोटो हुनेछ । ‘अधेँरीघाटमा पुल बन्नेवित्तिकै यातयातमा धेरै सहजता हुन्छ’, अध्यक्ष राईले भने, ‘पुल निर्माणका लागि हामीले केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरिरहेका छौँ । यो पुल निर्माण भएपछि स्थानीयलाई झनै सहजता हुनेछ ।’ सडकलाई गुणस्तरीय तवरबाट सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनियरले नियमित अनुगमन गरिरहेको जनाइएको छ । रासस
नक्कली भुटानी शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । सभामुख घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखको रुलिङको माग गरेका थिए ।