काठमाडौं । नेपालले भारततर्फ गर्ने निर्यातमा ठूलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाका अनुसार चैत महिनासम्म नेपालले भारततर्फ गर्ने निर्यात ३५.१ प्रतिशतले निर्यातमा कमी आएका हो ।
गन्तव्यका आधारमा भारततर्फ हुने निर्यातमा कमी आउँदा चीन लगायत अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । तथ्यांक अनुसार चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमश २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
वैदेशिक व्यापार (नौ महिना) निर्यात आयात व्यापार घाटा निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई १०८३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।