
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको नौ महिनाको वित्तीय विवरणअनुसार चालु आवको नौ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको हाे ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ५५.७ प्रतिशतले बढेकोमा २०७९ चैत मसान्तमा यस्तो दाबी ५२.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.० प्रतिशतले बढेको छ ।