पूर्वाञ्चल विश्वविद्यालयमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास
मोरङ । पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गरेको छन् । विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न नबिल बैंकले जनाएको छ । साथै, नबिल बैंकले विश्वविद्यालयको लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ । शिलान्यास कार्यक्रमा शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति अशोक राईले बैंकले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गरे। ‘यस किसिमको सहकार्यले बैंक नाफा केन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ’ मन्त्री राईले भने । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिना भित्र सकिने र शाखा सञ्चालनमा आउने बताए । उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्ष स्थान रहेको जानकारी गराए। विश्वविद्यालय उपकुलपति यादवराज कोइरालाले विश्वविद्यालय परिसरमै अपरिहार्य बनेको बैंक शाखा र सभागृह बनाउन थालेकोमा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा शाखा कार्यालय खोल्नुले विश्वविद्यालयका कर्मचारी, विद्यार्थी, प्राध्यापकका साथै गोठगाउँका बासिन्दाहरूलाई पनि वित्तीय कारोबारमा सहयोग पुग्ने बताए। विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले सभागृह र बैंकको शाखा कार्यालय बन्नु विश्वविद्यालय र स्थानीयको लागि खुसीको विषय भएको बताए ।
महानगरको नीति र बजेटका लागि बालेनले मागे सुझाव, अनलाइनबाट पनि दिन सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा बजेटका लागि नागरिकसँग सुझाव माग गरेको छ । नीति बजेट तथा कार्यक्रम निर्माण गर्दा नागरिकका चाहनालाई समेटने उद्देश्यले महानगरले सुझाव संकलन संयन्त्र निर्माण गरेको र सुझाव अनलाइनमार्फत दिन सकिने भन्दै महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले बताएका छन् । अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला, कस्ता कार्यक्रम राख्नुपर्ला, बजेटको कस्तो व्यवस्था गर्नुपर्ला लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित विषयमा सुझाव दिन सकिने प्रमुख बालेनले बताएका छन् । अनलाइन पोर्टलमार्फत अन्य शिर्षकमा गएर शिर्षकभन्दा बाहिरबाट पनि सुझाव दिने व्यवस्था गरिएको उनले बताएका छन् । त्यसरी सुझाव दिन चाहनले मेयर डट सेक्टर एट काठमाडौं डट जिओभी डट एनपी मा गएर आफ्नो सुझाव आगामी जेठ ९ गतेसम्म पठाउन सकिने महानगर प्रमुख बालेनले बताएका छन्, साथै सिधै कार्यालयमा समेत सुझाव बुझाउन सकिने उनको भनाइ छ । सुझावको लागि महानगरले सजेसन डट काठमाडौं डट जिओभी डट एनपी को व्यवस्था गरेको छ ।
नेपोभिट टाईल्सको नयाँ फ्लोर र वाल टाईल्स बजार भित्राउने
काठमाडौं । नेपोभिट टाईल्सको पहिलो वार्षिक उत्सव समारोह सु सम्पन्न भएको छ। सम्मानीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । यस कार्यक्रममा पूर्व महान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ , महानायक राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा सो समारोह सम्पन्न गरिएको हो। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाईल्सलाई साथ सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावनाहरुको बारेमा जानकारी गराउँदै नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ फ्लोर तथा वाल टाईल्सहरु बजार भित्राउने जानकारी गराए। त्यसैगरी, अदक्ष्य शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेको विविध समस्याहरु पनि व्यक्त गरेका छन् । सरकार लाई सम्बोधन गर्दै कच्चा पदार्थ उत्खनन् र ढुवानी सम्बन्धि स्पष्ट ऐन कानुन नहुनाले लागत रकम भन्दा बढी तिरेर अथवा छिमेकी मुलुकबाट चर्को शुल्क तिरेर कच्चा पदार्थ ल्याई उद्योग संचालन गर्नु परेको विषयमा जानकारी गराए। त्यसैगरी, बारम्बार अघोषित लोडसेडिङको मार खेप्नु परि रहेकोले डिजेल खरिद गरी उद्योग संचालन गर्न वाध्य हुँदा समग्र उत्पादन तथा उत्पादन प्रक्रियामा नै मूल्य बढेको गुनासो पनि राखे। सरकारले लागत कर तोकिदिदा पनि भन्सारबाट सामान छुटाउनलाई विभिन्न वाधा अड्चन आइपर्ने र पटक पटक तोकिएको भन्दा ३० प्रतिशत सम्म बढी शुल्क अशुल भएको कुरा पनि राखे । सोही कार्यक्रममा उद्योगमा विगत एक वर्ष देखि सामना गर्नु परेका चुनौतीहरु विस्तारमा उल्लेख गर्दै उद्योग स्थापना गर्न जग्गा नपाइने र पाए पनि जग्गा पास गर्न सरकारी संयन्त्रबाट केही साथ सहयोग नपाइएको गुनासो गरे। ढुवानीको हकमा प्रमुख सडक संजाल बाट उद्योग सम्म बाटो लैजान खोज्दा स्थानीयले तोकिएको भन्दा धेरै मुआब्जा माग गर्दा पनि सरकारको ध्यानाकर्षण नभएको कुरा व्यक्त गरे । त्यसका साथै बाह्य लेबर यूनियनले पटक पटक सुविधाहरु माग गरी उद्योग बन्द गर्दा उद्योग संचालनमा कठिनाई भएको कुरा पनि जानकारी गराए ।
टोयोटाको नाफा १८ अर्ब १३ करोड अमेरिकी डलर, प्रक्षेपण गरेको भन्दा बढी
टोकियो । सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) को शुद्ध मुनाफाको रिपोर्ट गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २.३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो । यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ । सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ । अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भने, ‘एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।’ प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भनेका छन् । टोयोटाले गत आर्थिक वर्षमा विश्वभर एक करोड पाँच लाखभन्दा बढी कार बेचेको थियो, जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश छन् । ‘सेमीकन्डक्टर आपूर्ति र मागमा सुधार भएको छ, हामी सबै क्षेत्रमा वृद्धिको अपेक्षा गर्दछौँ,’ मियाजाकीले भने । टोकाई टोकियो रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले परिणाम घोषणा हुनुअघि एएफपीसँग भने, ‘उत्पादन क्षमतामा वृद्धिले सेमीकन्डक्टरको अभावको प्रभाव घट्दै गएको सङ्केत गर्छ ।’ अनुसन्धान तथा परामर्श फर्म टीआईडब्लुका अटो एनालिस्ट सतोरु ताकाडाका अनुसार भूकम्पजस्ता प्राकृतिक प्रकोपको प्रभावसँग जुध्न सक्ने प्रणाली निर्माण गर्न टोयोटाले ‘निकै कडाइ’ गरेको र यसबाट आम्दानीमा थप उल्लेख्य योगदानको अपेक्षा गरिएको छ । यस वर्षको सुरुमा टोयोटाले अकियो टोयोडाको स्थानमा ५३ वर्षीय सातोलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको थियो । उनले सन् २०२६ सम्ममा ’नेक्स्ट जेनेरेसन’ लेक्सस गाडीको आविष्कारसहित ‘नयाँ दृष्टिकोण’ मार्फत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको विकासलाई‘’गति’ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । केही आलोचक भन्छन्, ‘उत्सर्जन अटोमोबाइलको लागि माग बढेको अवस्थामा टोयोटाले हाइब्रिड कारहरूको नेतृत्व गरेको छ । कम्पनी ब्याट्री–सञ्चालित इन्जिनमा स्थानान्तरण गर्न ढिलो भएको छ । जबकि कम उत्सर्जन अटोमोबाइलको लागि माग बढेको छ ।’ कम्पनीले सन् २०२६ सम्ममा विद्युतीय कारको बिक्री १५ लाख युनिट पु¥याउने लक्ष्य राखेको छ, जुन सन् २०२२ मा २० हजार रहेको देखिन्छ ।
महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई नियुक्त भएका छन् । महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले गुरागाईलाई उक्त पदमा नियुक्त गरेको हो । गुरागाई महासंघको कार्यकारिणी समिति निर्वाचित सदस्य हुन् । महासंघको छवि तथा प्रतिष्ठालाई अझ सशक्त रूपमा अघि बढाउन गुरागाईको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक काम गर्ने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
विज्ञान विषयमा स्नातक गरेका तिमिल्सिना गाईपालनबाट मनग्ये आम्दानी गर्दै, ६ जनालाई रोजगारी
पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गरेका छन् । २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गरेका उनको फर्ममा यतिबेला २२ उन्नत गाई छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उनले बताए । विज्ञान विषयमा स्नातक गरेका उनले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन सुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार–व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किएका हुन् । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो । गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उनी गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बने । सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत बेच्न थालेका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउने र बिहान–बेलुका गाईको स्याहारसुसार गर्न थाले । उनी आफैँ दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न थाले । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे । लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन सङ्घर्ष गर्नु परेको उनले बताए । नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उनले बताए । तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार–व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी वृद्ध आमाको ओँठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन् । उनको फर्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाइरहेका छन् । दूध बिक्रीबाटै खर्च कटाएर मासिक दुई लाख रुपैयाँ बचत गर्ने गरेको तिमिल्सिनाले बताए । ‘अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु’, तिमिल्सिनाले भने, ‘मासिक रुपमा खर्च कटाएर दुई लाख रुपैयाँभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध डेरीमा प्रतिलिटर ८० रुपैयाँमा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर एक सय रुपैयाँमा बिक्री हुने गर्दछ । तिमिल्सिनाले दूधसँगै घीउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आएका छन् । उनको फर्मबाट अग्र्यानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उनले वार्षिक झन्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताए । व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भने, ‘गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।’ तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन् । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफैँ गर्ने गरेको बताए । केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन् । उनले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाएका छन् । घाँसको बिक्रीबाट पनि उनी वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले आफ्नो फर्ममा प्रविधिको पनि प्रयोग गर्न थालेका छन् । उनी आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आएका छन् । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । ‘पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ । पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ’, उनले भने । पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । ‘घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ’, उनले भने । रासस
आरजु देउवाले अडियो बारे छानबिन गर्न दिइन् साइबर ब्यूरोमा उजुरी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उनले दिएको उजुरीमा उल्लेख छ ।
घर जलेपछि पीडितलाई बासको समस्या
रामपुर । आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ । आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उनी तड्पिरहेका छन् । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उनको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उनलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ । ‘कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु’, उनले भने, ‘घर डढेको चोटले मन भतभती पोलिएको छ ।’ मङ्गलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ दाउरा राख्नेमा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते भए । गोठ हुँदै घरमा आगो सल्केपछि उनकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उनी आफैँ आगोले घाइते भएका छन् । लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ । घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा निःशुल्क उपचार गरिएको छ । आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोखे । ‘घरदेखि पारि जङ्गलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखेँ, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दा–देख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन’, उनले दुखेसो पोखे । परिवारका सदस्य जङ्गलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन । घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठीघरे, भिमीसरा साठीघरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ । मङ्गलवार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन् । मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे र भिमिसरा साठीघरेको तीनतले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर खरले छाएको दुईतले पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन् । घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गएराति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो । जङ्गलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन । दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुराम बताउँछन् । उनको हाल चारजनाको परिवार बसोबास गरिरहेको तीनतले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ । उनी भन्छन्, ‘छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो ? हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुप¥यो ।’ क्षतिको विस्तृत विवरण सङ्कलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जङ्गलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ’, नगर प्रमुख थापाले भने । जङ्गलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन । सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ । खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी प्रयाप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन् । अग्नी पिडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ । रासस