काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धान र छानबिनलाई सहयोग गर्न रायमाझीलाई निलम्बन गरिएको एमालेले जनाएको छ ।
महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ती जारी गर्दै मंगलबार बसेको एमालेको सचिवालय बैठकले रायमाझीलाई निलम्बन गरिएको जनाएको छ ।
‘राज्यका वैधानिक संस्थाहरुले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाई प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ, सोही मान्यता अनुरुप पक्राउ पुँजी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रुपमा आफ्नो ययार्थ स्पष्ट पार्न भनिएको थियो’, विज्ञप्तीमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो, तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवायलको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा अपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’
बुधबार एमाले सांसद पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणको आरोपमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका सचिव रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएका छन् ।